काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु राय छन् । उनलाई मंगलबार प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो ।
उनले एक महिलालाई फेसबुकमा साथी बनाएका थिए । भेटघाटका क्रममा भएका अन्तरङ्ग सम्बन्धका क्रियाकलापहरू रायले गोप्य रूपमा रेकर्ड गरी राखेको पाइएको प्रहरीले जनाएको छ । आपसमा मनमुटाउ भएपश्चात पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा उक्त फोटो, भिडिओ पठाई चरित्र हत्या गरेको आरोप छ ।
पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने युवा पक्राउ
नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, वित्त निगम र युरोपियन युनियनको साझेदारी
काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य र युरोपियन युनियनको एसीएसआईआईएस कार्यक्रमको सहयोगमा तीनदिने तालिम सञ्चालन गरेको छ । तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा, कृषि व्यवसाय, र सान तथा मझैला उद्यम क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो ।
नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिमले बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक र सुशासन (ईएसजी) अभ्यासहरूलाई समाहित गर्न जोड दियो, जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्याउँछ ।
आईएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे गहिरो ज्ञान हासिल गर्न एनएमबि बैंकका व्यवसायिक टोली, इएण्डएस तथा जोखिम अधिकृतहरू तथा ग्राहकहरू गरी ९० जना सहभागी भएका थिए ।
उच्च सहभागितामूलक यस कार्यक्रमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम (ईएसडीडी), जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनर्स्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गरेको छ । यस पहलले ईएसजी तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै, बैंक र यसको ग्राहकहरूको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको बैंकले जनाएको छ ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
लोडसेडिङ भएको छैन, र हुँदा पनि नहुने कुलमानको दाबी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दिपक खडकाको भनाइको खण्डन गरेका छन् ।
मन्त्री खडकाले आज राष्ट्रियसभा बैठकमा बोल्दै भारतबाट विद्युत आपूर्ति रोकिएसँगै अब लोडसेडिङ रोक्न नसकिने ठोकुवा गरेका थिए । खड्काले अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको र हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत छ। अब साँझको समय घरमै पनि लोडसेडिङ हुने उनको भनाइ थियो ।
तर कार्यकारी निर्देशक घिसिङले मन्त्रीको ठोकुवा खारेज गर्दै लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने दाबी गरेका हुन्। राति पूरै पावरप्लान्टहरु चल्ने र दिउँसो भारतबाट आयत भइरहेकोले लोडसेडिङ नहुने उनले स्पष्ट पारेका हुन् ।
एक हजार मेगावाट बढीका आयोजना राति पूर्ण क्षमतामा चल्ने भएकाले पनि लोडसेडिङ हुने अवस्था नरहेको घिसिङको भनाइ छ ।
संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं । संवैधानिक नियुक्तिविरूद्वको रिटको सुनुवाई आज हेर्दाहेर्दैमा रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक निकायमा ५२ जनाको नियुक्ति प्रक्रियाविरुद्ध दायर भएको मुद्दाको सुनुवाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हेर्दाहेर्दैमा रहेको हो ।
आज वरिष्ठ अधिवक्ताहरू मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी, रामप्रसाद भट्टराई र अधिवक्ता दीपेन्द्र झाले रिट निवेदकको तर्फबाट बहस गरेका थिए।
सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसनबीच संझौता
काठमाडौं । सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसनसबिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बिजुलीबजार स्थित एलकेएस डेन्टल सोलुसनसमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा दाँत सम्बन्धी सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
मुक्तिनाथ विकास बैंकले गर्यो बैशाखी वितरण
काठमाडौं । मुक्तिनाथ विकास बैंकले कञ्चरपूरमा अपाङ्गता संरक्षण नेपाल संस्था सँगको साझेदारीमा शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई बैशाखी वितरण गरेको छ ।
देशभरबाट शारीरिक अपाङ्गता भएका व्यक्तिहरुबाट आफ्ना दैनिक कार्य गर्न असहज भएकाले बैशाखी तथा सेतो छडीको आवश्यताका लागि उक्त संस्थामा निकै निवेदन आउने गरेको, उक्त संस्थाको समन्वयमा बैंकले बैशाखीहरु वितरण गरेको थियो । उक्त सहयोगबाट वहाँहरुको दैनिक जीवनमा राहत पुग्ने बैंकले विश्वास लिएको छ ।
बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
लडेर जाजरकोटमा एक जनाको मृत्यु
सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ ।
घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए ।
घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए ।
गाजामा इजरायलले गर्यो आक्रमण, ४०० प्यालेस्टिनीको मृत्यु
काठमाण्डौं । इजरायलका लडाकु विमानहरूले गाजामा मंगलबार गरेको हवाई आक्रमणमा कम्तीमा चार सय जनाको मृत्यु भएको छ। जनवरी १९ देखि सुरु भएको पहिलो चरणको अस्थायी युद्धविराम मार्चको पहिलो साता समाप्त भएसँगै इजरायलले दर्जनौं लडाकु विमानमार्फत हवाई आक्रमण गरेको हो।
गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयका अनुसार हमलामा कम्तीमा चार सय जनाको मृत्यु भएको हो। हमलामा सयौं जना घाइते भएका छन्। इजरायलले हमासका सुरक्षा अधिकारी र राजनीतिक नेतृत्वलाई निसाना बनाएको थियो। ज्यान गुमाउनेमा हमासका एक वरिष्ठ सुरक्षा अधिकारी मोहम्मद अबु वफासहित अन्य चार जना पनि रहेको हमासले बिबिसीलाई जनाएको छ।
आक्रमण गर्नुअघि इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग छलफल गरेको ह्वाइट हाउसकी एक प्रवक्ताले फक्स न्युजलाई जनाएकी छन्। एक विज्ञप्तिमार्फत इजरायलले युद्धविराम लम्ब्याउन हमास तयार नभएका कारण आफूले उक्त समूहका निसानाहरूमा आक्रमण गरेको जनाएको छ। इजरायलको डिफेन्स फोर्सेसले हमासका ‘आतंकवादी निसाना’लाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ।
हमासले गाजामा भएको जघन्य हत्याका लागि संयुक्त राज्य अमेरिका जिम्मेवार रहेको आरोप लगाएको छ। आक्रमणपछि हमासले जारी गरेको एक विज्ञप्तिमा मानवतामाथि भएको यो अपराधका लागि इजरायल र अमेरिका जिम्मेवार हुनुपर्ने जनाएको छ। इजरायलका एक अधिकारीले बिबिसीलाई आक्रमण आवश्यक रहुन्जेल जारी रहने र हवाई हमलामा मात्रै सीमित नरहने जनाएका छन्।
युद्धविराम लम्ब्याउन र बन्धक रिहा गर्न भएका विभिन्न चरणका वार्ता निष्कर्षमा नपुगेपछि आक्रमण गरिएको प्रस्टीकरण उनले दिए। इजरायल–हमासबिच पछिल्लो लडाइँ गत वर्ष अक्टोबर ७ मा सुरु भएको थियो। आक्रमणबाट गाजाका ७० प्रतिशत भवन भग्नावशेषमा परिणत भएको र स्वास्थ्य सेवा, पानी र सरसफाइ प्रणाली पनि ध्वस्त भएको बिबिसीले जनाएको छ। सर्वसाधारणले खानेकुरा, इन्धन, औषधि र आवासको समस्या भोग्नुपरेको छ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो कार्यसूची
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने छ ।
आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत गृह मन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने नेपाल नागरिकता दोश्रो संशोधन विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, उक्त विधेयक माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने र गृह मन्त्री लेखकले ‘नेपाल नागरिकता दोश्रो संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
मधेश प्रदेश सरकार एसईईमा सहभागी नहुने
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रदेश सरकार सहभागी नुहने जनाएका छन् ।
जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकारले एसइईका सम्बन्धमा राखेको चासो र गरेको निर्णय कार्यावन्यन नभएको भन्दै परीक्षा कार्यक्रममा सहभागी नहुने जनाएका हुन् ।
“यही फागुन २६ गते एसइईलाई मर्यादित तथा व्यवस्थित बनाउनका लागि परीक्षामा खटिने केन्द्राध्यक्ष गोलाप्रथाबाट छनोट गर्नुपर्ने र सो निर्णय प्रदेशका सबै जिल्ला परीक्षा समन्वय समितिले कार्यावन्यन गर्नुपर्ने निर्णय भएको थियो तर त्यसलाई बेवास्ता गरिएकाले प्रदेश सरकारका कुनै पनि निकाय परीषाका कुनै क्रियाकलापमा सहभागी हुँदैनन”, मुख्यमन्त्री सिंहले भने ।
आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका प्रहरी प्रमुख एवं जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको रोहबरमा गोला प्रथाबाट केन्द्राध्यक्ष तोक्नुपर्ने निर्णय भएको थियो तर विभिन्न शिक्षक सङ्घ, सङ्गठनले यसमा विरोध जनाएका थिए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने परीक्षा छनोट समितिको बैठकले गोलाप्रथाबाट नभई आफूखुसी केन्द्राध्यक्ष तोक्ने परिपाटी कायमै भएकाले बाध्य भएर यस्तो निर्णय गर्नु परेको मुख्यमन्त्री सिंहले भने ।
“हामीले राष्ट्रिय परीक्षा बोर्डलाई जानकारी गराएर यस्तो निर्णय गरेका थियौँ तर प्रदेश सरकारकाले गरेको निर्णय कार्यावन्यन भएन । प्रदेश सरकारको भूमिका कमजोर बनाउने कार्य स्वीकार्य हुँदैन”, उनले भने । मधेश प्रदेशका आठ जिल्लामा एसइईमा ८८ हजार आठ सय ५८ जना परीक्षार्थी सहभागी हुने जानकारी दिँदै मुख्यमन्त्री सिंहले परीषाहलमा परीक्षार्थीबाट मोबाइल फेला परेमा जफत गर्नुपर्ने निर्णयलाई भने सङ्घीय सरकारले सदर गरेको जानकारी दिए ।
प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेश प्रदेशको शिक्षालाई कमजोर बनाउनका लागि निर्णय लागू नभएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट यहाँको शिक्षालाई समाप्त गर्ने खेल भएको उनको आरोप थियो ।
यसअघि मधेश प्रदेशको शिक्षा निर्देशनालय जनकपुरधामले प्रदेशभर तीन सय १२ परीक्षा केन्द्र रहेका र एक हजार दुई सय ३१ विद्यालयका ८८ हजार आठ सय ५८ परीक्षार्थी परीक्षामा सहभागी हुने जनाएको छ । ती केन्द्रमा खटिने कर्मचारीको सङ्ख्या १२ हजार दुई सय ४२ र सुरक्षाकर्मीको सङ्ख्या चार हजार पाँच सय ८० रहने पनि निर्देशनालयले जनाएको छ ।

















