काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा शुक्रबार बिजुली कटौती गर्दै छ । प्राधिकरणले सूचना प्रकाशित गरी पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो ।
प्राधिकरणका अनुसार भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुन्डोल, पुरानो मन्त्री क्वाटर, झम्सिखेल, अरूण थापा चोक क्षेत्रमा दिउँसो १२ देखि २ बजेसम्म लाइन काटिने छ । पाटनको एक सय ३२ केभी सबस्टेशनको प्राविधिक कामका लागि लाइन काटिन लागेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
ती स्थानमा बिजुली काटिँदा ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले माफी मागेको छ । निर्धारित कार्य तोकिएको समयअगावै सम्पन्न गरी नियमित बिजुली उपलब्ध गराइने प्राधिकरणले सूचनामार्फत जनाएको छ ।
ललितपुरका यी स्थानमा आज बिजुली काटिने
माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको प्रचण्डको दाबी
बारा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको दाबी गरेका छन् । जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका छन् ।
विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर चुनाव लड्दा उनीहरुले फाइदा लिने तर माओवादीले घाटा व्यहोर्ने अवस्था रहेको उल्लेख गर्दै उनले अब एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गएको जनाए । गत मंसिरको उपनिर्वाचनहुँदै भर्खरै सम्पन्न स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको र कसैको वैशाखी नटेकेर माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरुको भाष्य खारेज भएको जनाए ।
‘गत उपनिर्वाचनमा कांग्रेस एमाले मिलेर मात्र होइन, उनीहरुले आपसमा चुनाव चिन्ह साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौं’उनले भने, ‘अहिले स्ववियु निर्वाचनमा आउँदा पनि कांग्रेस र एमालेसमर्थित विद्यार्थी संगठनहरु मिलेर चुनाव लड्दा पनि माओवादी समर्थित अखिल क्रान्तिकारीले एक्लै देशव्यापी उत्साहप्रद नतिजा निकालेको छ, कयौँ ठूला क्याम्पसमा तिसौं वर्षदेखिका रेकर्ड तोडिएका छन् । युवा विद्यार्थीहरु अब प्रतिगमन र यथास्थितिको पक्षमा नभई अग्रगमन र परिवर्तनको पक्षमा छन् भन्ने स्ववियु निर्वाचनले स्पष्ट सन्देश दिएको छ ।’
अध्यक्ष प्रचण्डले सरकारका गलत क्रियाकलापको फाइदा उठाएर प्रतिगामी शक्तिहरुले टाउको उठाउने दुस्साहस गरेको टिप्पणी गर्दै जनताको अधिकारको रक्षाका लागि प्रतिगामी र यथास्थितिवादी शक्तिका विरुद्ध लड्नुपर्ने दायित्व फेरि जनताकै काँधमा आएको जनाए । उनले पार्टीलेले अघि बढाएको तराई मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौं जनतामा नयाँ भरोसा जगाएको जनाए ।
यो अभियानले तराई मधेशमा बस्ने जनताको पहिचान, आत्मसम्मान र अधिकारलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले माओवादी र मधेशी जनताको बीचमा गहिरो सम्बन्ध स्थापित हुने जनाए । अभियानका क्रममा यस क्षेत्रका जनताका समस्याको गहिरो अध्ययन गरी समाधानका लागि पहल गर्ने पनि उनले जनाए ।
हुलाकी मार्ग दक्षिण नेपालको जीवनरेखा भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले हुलाकी मार्ग निर्माणले गति लिइरहेको भए पनि विभिन्न ठाउँमा पुल बन्न नसकेकाले यो मार्गलाई पूर्णता दिन पनि अभियानले सहयोग गर्ने जनाए । लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको उनले जानकारी दिए ।
बागमती प्रदेशका सबै जिल्लामा जागरण सभा गर्दै एमाले
काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशले प्रदेशका सबै वडा र जिल्लामा जागरण सभा गर्ने निर्णय गरेको छ ।
एमाले बागमती प्रदेश कमिटीद्वारा बिहीबार आयोजित बागमती प्रदेश सभा सदस्य, पालिका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुखहरूको भेलाले जागरण सभा गर्ने निर्णय गरेको हो ।
एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेलको अध्यक्षतामा तथा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले चैत ११ गते प्रदेशका सबै पालिकाका वडाहरूमा जना सभा गर्ने निर्णय गरेको हो ।
यसैगरी, चैत १८ गते उपत्यका बाहेकका १० वटा जिल्लामा जागरण सभा गर्ने बैठकले निर्णय गरेको छ । उपत्यकामा भने चैत १८ गते मोटरसाइकल र्याली गर्ने निर्णय भएको एमाले बागमती प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिइन् । राजतन्त्रका पक्षधरहरुले लोकतन्त्रविरुद्ध भ्रम फिँजाएको भन्दै एमालेले त्यसका विरुद्ध सभा गर्न लागेको हो ।
विपिन जोशीको रिहाइका लागि पहल, प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग फोनवार्ता
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग बिहीबार टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले संवाद गरी रिहाइको आग्रह गरेका छन् ।
जवाफमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिई पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोन कुराकानी गरेका थिए ।
आगामी अप्रिलमा टर्कीमा हुने कूटनीति सम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराए ।
संवादका क्रममा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै २ देशबीचको परस्पर सम्बन्ध विस्तारबारे कुराकानी भएको थियो ।
ग्लोबल आईएमई बैंकद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने तस्वीर समावेश भित्तेपात्रो सार्वजनिक
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबीच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका हुन् ।
क्यालेन्डरमा दशकौं अघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यासलाई कैद गरिएका दुर्लभ तस्वीरहरु समावेश गरिएको छ । तस्वीरहरुले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहनको स्मरण गराउँदै नयाँ पुस्ताहरुलाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुग्नेछ ।
क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जनाए । विगतका वर्षहरुमा क्यालेन्डरमा नेपाली कला र संस्कृतिसम्बन्धी विषयहरु प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने, ‘नेपालको सर्वांगिण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक छ । ग्लोबल आईएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरुलाई निरन्तरता दिँदै आएको छ ।’
कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
ग्लोबल आईएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ५० लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
सानिमा जीआईसीको लाभांश र युनाइटेड मोदीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेप्सेमा सूचीकृत दुई कम्पनीमध्ये सानिमा जीआईसी इन्स्योरेन्सको लाभांश तथा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ ।
यी दुवै कम्पनीले भोलि चैत ८ मा बुक क्लोज गर्दैछन् । आजसम्म कायम रहने शेयरधनीले सानिमाको लाभांश प्राप्त गर्न र युनाइटेड मोदीले निष्कासन गर्ने हकप्रदमा आवेदन दिन पाउनेछन् ।
सानिमा जीआईसीको साधारणसभा चैत २१ गते अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा बस्दैछ ।
सभाले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै छैटौं साधारणसभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने र हकप्रद जारीपछि जारी तथा चुक्ता पुँजी बढ्ने भएकाले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव सभाबाट पारित हुनेछ ।
अन्य प्रस्तावमा, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने, गत आवका सबै वित्तीय विवरण पारित गर्ने र चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारश्रमिक निर्धारण गर्नेलगायत रहेका छन् ।
यस्तै, युनाइटेड मोदीको साधारणसभा चैत २७ गते कालीमाटी बैंक्वेटमा बिहान ११ बजे बस्नेछ ।
सभाले यसअघि १ः१ अनुपातमा निष्कासन गर्ने भनिएको हकप्रद शेयर संशोधन गरी १ः०.६५ को अनुपातमा निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, हकप्रद निष्कासनसम्बन्धी कार्यका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आवका वित्तीय विवरण पारित गर्ने र चालू आवका लागि लेखापरीक्षक नियुक्ति गर्नेलगायतका प्रस्ताव सभामा पेश हुनेछन् ।
त्यसबाहेक अन्य लगानीयोग्य क्षेत्र खोजेर ती क्षेत्रमा लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने काम पनि सभाले गर्नेछ ।
ग्लोबल मनी वीकमा कुमारी बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंकले सबै प्रदेशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, एआईको प्रवेशले सर्वसाधारण, विषेशगरी युवाहरुलाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा, बैंकले सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पुर्याउने उद्देश्य राखेको छ ।
कार्यक्रम अन्तर्गत, सहभागीहरूलाई बैंकिङ्ग प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिंदैछ । यस अभियानमार्फत बैंकले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ । कुमारी बैंकले भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ ।
देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको बैठकले जनाएको छ ।
स्ववियुका स्थगित निर्वाचन १५ दिनभित्र गर्न निर्देशन
काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको छ ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले निर्वाचन नभएका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन आएको जनाए ।
मङ्गलबार भएको निर्वाचनमा देशभर ३८ आङ्गिक र सम्बन्धन प्राप्त २५० क्याम्पसमा निर्वाचन भएको थियो । निर्वाचनको मतपरिमाण आउने क्रम अझै जारी छ । विद्यार्थी सङ्गठनको आन्तरिक विवादले केही क्याम्पसमा निर्वाचन हुन सकेको छैन ।
त्रिवि केन्द्रीय क्याम्पससहित पद्मकन्या क्याम्पस, रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र कलेज, सरस्वती कलेज, शङ्करदेव क्याम्पस, पब्लिक युथ क्याम्पस धोविचौर र विश्वभाषा क्याम्पस जस्ता उपत्यकाका प्रमुख आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको छैन ।
यस्तै, उपत्यकाबाहिर वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत, बुटवल बहुमुखी क्याम्पस बुटवल, भैरहवा बहुमुखी क्याम्पस भैरहवा, पब्लिहवा बहुमुखी क्याम्पस पक्लिहवा, तेह्रथुम बहुमुखी क्याम्पस चौहारडाडा, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र कृषि क्याम्पस खैरहनी पनि निर्वाचन हुन सकेन । त्यसैगरी, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन तोकिएको छ ।
आजदेखि एसईई सुरु, पाँच लाख बढि विद्यार्थी सहभागी हुँदै
काठमाडौं । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जानकारी दिएको छ । गत वर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।
परीक्षा तालिका अनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ ।
परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जानकारी दिएको छ । यस वर्षको एसईई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिनिधिसभामा आज प्रधामनन्त्रीले प्रश्नको जवाफ दिने
काठमाण्डौं । संघीय संसद् प्रतिनिधिको बैठक बिहीबार बस्दै छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन् ।
यस्तै बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेलागत बैठकको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा पनि शून्य समयमा सांसदहरूलाई समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउन समय छुट्टाइने भएको छ ।

















