सानिमा जीआईसीको लाभांश र युनाइटेड मोदीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेप्सेमा सूचीकृत दुई कम्पनीमध्ये सानिमा जीआईसी इन्स्योरेन्सको लाभांश तथा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ ।
यी दुवै कम्पनीले भोलि चैत ८ मा बुक क्लोज गर्दैछन् । आजसम्म कायम रहने शेयरधनीले सानिमाको लाभांश प्राप्त गर्न र युनाइटेड मोदीले निष्कासन गर्ने हकप्रदमा आवेदन दिन पाउनेछन् ।
सानिमा जीआईसीको साधारणसभा चैत २१ गते अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा बस्दैछ ।
सभाले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै छैटौं साधारणसभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने र हकप्रद जारीपछि जारी तथा चुक्ता पुँजी बढ्ने भएकाले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव सभाबाट पारित हुनेछ ।
अन्य प्रस्तावमा, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने, गत आवका सबै वित्तीय विवरण पारित गर्ने र चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारश्रमिक निर्धारण गर्नेलगायत रहेका छन् ।
यस्तै, युनाइटेड मोदीको साधारणसभा चैत २७ गते कालीमाटी बैंक्वेटमा बिहान ११ बजे बस्नेछ ।
सभाले यसअघि १ः१ अनुपातमा निष्कासन गर्ने भनिएको हकप्रद शेयर संशोधन गरी १ः०.६५ को अनुपातमा निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, हकप्रद निष्कासनसम्बन्धी कार्यका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आवका वित्तीय विवरण पारित गर्ने र चालू आवका लागि लेखापरीक्षक नियुक्ति गर्नेलगायतका प्रस्ताव सभामा पेश हुनेछन् ।
त्यसबाहेक अन्य लगानीयोग्य क्षेत्र खोजेर ती क्षेत्रमा लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने काम पनि सभाले गर्नेछ ।

LEAVE A REPLY