Page 22

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट उत्प्रेषण जारी

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा विरुद्धको अपहरण तथा ज्यान मुद्दामा सर्वोच्च अदालतले उत्प्रेषण जारी गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलाशले बुधबार फैसला सुनाउँदै पूर्णिमाया लामा पक्ष रहेको मुद्दामा उत्प्रेषण जारी गरेको हो ।
माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै २०६८ सालमा मुद्दा दायर गरिएको थियो । मृतक अर्जुनकी पत्नी पूर्णिमाया लामाले सापकोटाविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।
यसैगरी अदालतको अवहेलना मुद्दा र अर्को उत्प्रेषण मुद्दामा भने मागदाबी नपुग्ने र रिट खारेजको फैसला भएको छ ।

 

विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात

काठमाडौँ । सरकारले विपद् व्यवस्थापन कोषमा रु चार अर्ब ६५ करोड २४ लाख मौज्दात रहेको जानकारी दिएको छ ।
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपद्का समयमा आपतकालीन अवस्थाका लागि प्रयोग गर्न सकिने गरी उक्त रकम मौज्दात रहेको जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८९ करोड २९ लाख, केन्द्रीय विपद् व्यवस्थापन कोषमा रु एक अर्ब २७ करोड ४७ लाख, प्रदेश विपद् व्यवस्थापन कोषमा रु ७९ करोड ४१ लाख मौज्दात रहेको छ ।
कोशीमा रु छ करोड, ९० लाख, मधेसमा रु ११ करोड ७८ लाख, बागमतीमा रु सात करोड ५८ लाख, गण्डकीमा रु २५ करोड, लुम्बिनीमा रु छ करोड ५० लाख, कर्णालीमा रु नौ करोड ५२ लाख र सुदुरपश्चिम प्रदेशमा रु ११ करोड ८९ लाख मौज्दात रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बाँस्तोलाले ७७ वटै जिल्लाका कोषमा रु ६९ करोड पाँच लाख मौज्दात रहेको जानकारी दिए । प्राधिकरणले यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकर्याका लागि आवश्यक तयारी तीव्र गरिएको र विभिन्न निकायलाई जिम्मेवारीसमेत तोकेको उनले जनाए ।
उनले भने, “सबै क्लष्टरलाई आपतकालीन अस्वथाका लागि पूर्णतयारीसहित जिम्मेवारी तोकिसकिएको छ । विपद्का घटना भइहाले तत्काल परिचालन हुनेगरी सबै तयारीका काम सकिएको छ ।” कोषमा मौज्दात रहेको रकम आपतकालीन अवस्थामा आवश्यकता अनुसार तत्काल परिचालन हुने उनले जनाए ।

नबिल बैंकले पायो ‘द बैंकर्स टेक्नोलोजी अवार्ड’

काठमाडौँ । नेपालको अग्रणी बैंक नबिल बैंकलाई एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएको छ । बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ ।
विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड नबिल बैंकले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहकको अनुभवमा ल्याएको डिजिटल क्रान्तिमा गरेको कामको मूल्यांकनका आधारमा प्रदान गरिएको नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले जनाए ।
‘यो अवार्डले बैंकको सेवालाई अझ प्रविधिमैत्री तथा ग्राहकमैत्री बनाउन प्रोत्साहन मिलेको छ,‘ उनले भने । नबिल बैंकले आफ्नो स्थापनाकाल देखि नै प्रविधिलाई प्राथमिकतामा राखेको जनाउँदै उनले भने, ‘नबिलले बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग गर्दै नयाँ आयाम थप्दै सेवाग्राहीलाई सुविधा सम्पन्न सेवा दिँदै आएको छ ।‘ बैंकले पछिल्लो समय डिजिटल सेवालाई प्राथमिकतामा राख्दै दिगोपनामा पनि जोड दिएको छ । कागजी प्रक्रियालाई हटाउँदै, डिजिटल माध्यममार्फत सहज, छरितो र पारदर्शी सेवा दिने बैंकको प्रयासलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
‘प्रविधिलाई नवप्रवर्तनको शक्ति मानेर हामीले रूपान्तरणमा केन्द्रित रणनीति अपनाएका छौं, आर्टिफिसियल इन्टेलिजेन्स, डाटा एनालिटिक्स र एनबैंक एपमार्फत ग्राहकअनुकूल सेवा प्रवाहमा सुधार गरिरहेका छौं,‘ ज्ञवालीले भने । यस अवार्डले बैंकलाई अझ चुस्त र प्रविधि केन्द्रित सेवा प्रदान गर्न प्रेरित गरेको उनको भनाइ छ ।
सन् १९८४ मा स्थापना भएदेखि नै नबिल बैंकले नेपालमा बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोगको थालनी गरेको हो । नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली ल्याएर नबिलले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको बीउ रोपेको थियो । त्यसयता, नेपालकै पहिलो ओपन बैंकिङ इनिसिएटिभदेखि लिएर आजसम्म नबिल बैंकले प्रविधि र नवप्रवर्तनलाई आफ्नो परिचय बनाउँदै आएको छ ।
नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

सिद्धार्थ बैंक र बिराटनगरको गोल्डेन हस्पिटलबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र गोल्डेन हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मो. जियाउल हक र सिद्धार्थ बैंक विराटनगर शाखा प्रबन्धक सूर्य प्रसाद शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले बिराटनगर स्थित गोल्डेन हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । उनी आज (बुधबार) देखि लागू हुनेगरी प्रवक्ता नियुक्ता भएका हुन् ।
वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको जनाइएको छ ।
हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् । यसअघि कार्यकारी निर्देशक रामु पौडेल प्रवक्ता थिए ।

आजदेखि चल्न थाले सार्वजनिक सवारी

काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेरिङ (नियमन र व्यवस्थापन) नियमावली स्थगित गरेसँगै आज (बुधबार) देखि सार्वजनिक सवारी साधन चल्न थालेका छन् ।
प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । आन्दोलन स्थगनसँगै सार्वजनिक सवारी साधन बिहानैदेखि सञ्चालनमा आएको हो ।
संघीय सरकारसँग सहमति भए पनि प्रदेश सरकारले नियमावली स्थगन नगर्दासम्म आन्दोलन जारी रहने भन्दै व्यवसायीले हिजो मंगलबार दिनभर सवारी साधन नचलाउँदा त्यसको मारमा आम नागरिक परेका थिए ।
सोमबार गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च पदस्थ अधिकारी र यातायात व्यवसायीबीच पटक–पटक वार्ता पश्चात् सहमति भएको थियो ।
सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । सोही सहमतिका आधारमा गण्डकी सरकारले नियमावली स्थगन गरेको हो ।

माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को मध्यमहाडी लोकमार्ग जागरण अभियान स्थगित भएको छ ।
अभियान अनिश्चित कालका लागि स्थगित गरिएको हो । मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेका कारण अभियान स्थगित गरिएको जनाईएको छ ।
गत जेठ १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान दोहोर्‍याएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भिजिट भिसा प्रकरणको विषय उठेको थियो । जहाँ विपक्षी दलका सांसदहरुले सत्तापक्षबाटै राजीनामा माग गरेको सम्झाएका थिए । जवाफमा गृहमन्त्री लेखकले राजीनामा नभएर संसदमा जवाफ दिन पाउनुपर्ने माग गरे । यसका निम्ति वातावरण बनाइदिन विपक्षी दललाई मन्त्री लेखकले आग्रह गरे ।
समितिका सदस्यहरुले भिजिट भिसा प्रकरणबारे मन्त्री लेखकको जवाफ समेत मागेका थिए । तर मन्त्री लेखकले समितिको बैठकमा जवाफ दिँदा सबै सांसदहरुले जिज्ञासा नमेटिने भन्दै संसदमै जवाफ दिने जनाए ।
भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । यसमा गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएको भन्दै विपक्षी दलहरुले राजीनामा माग्दै संसद अवरुद्ध पार्दै आएका छन् ।
मन्त्री लेखकले समिति बैठकमा भने, ‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही साथीहरु, कर्मचारीहरु र केहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानविन र तत्सम्बन्धमा भइरहेको विषयमा जिज्ञासा राखेका थिए । यो जिज्ञासा यो समितिका मात्रै साथीहरुलाई मात्रै भएको भए यी जवाफ दिएर जान्थेँ । यो अरु साथीहरुलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाउँ, यो उठेका सबै प्रश्नको जवाफ दिन्छु ।’
गृहमन्त्री लेखकले आफूले संसदमा जवाफ दिँदा सबै सदस्यहरुको जिज्ञासा मेटिने जनाए ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि

काठमाडौं । सार्वजनिक यातायातका साधन ठप्प पारेर भएको हड्ताल हटाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता विमल पोखरेलले हड्तालका नागरिकको आधारभूत र मौलिक हक हनन भएको दाबीसहित तत्काल हड्ताल खुलाउन माग राखी आदेश जारी हुनुपर्ने माग गरेका छन् ।
उनले अत्यावश्यक क्षेत्रमा हड्ताल नगर्न आदेश जारी हुनुपर्ने र हड्ताल गर्नेमाथि कारवाही हुनुपर्ने माग राखेका छन् ।
सर्वोच्च अदालतले बुधबार नै उक्त निवेदनमाथि प्रराम्भिक सुनुवाइ गर्नेछ ।

रवि लामिछानेलाई काठमाडौं ल्याइँदै

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइने भएको छ ।
उनलाई कारागार सरूवा गरेर काठमाडौं ल्याउन लागिएको हो । लामिछानेले आफूलाई काठमाडौं सरूवा गरिदिन जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए ।
अदालतले उनको निवेदन स्वीकार गर्दै सरूवाको प्रक्रिया मिलाइदिन कारागार प्रशासनलाई लेखि पठाएपछि उनलाई काठमाडौं ल्याउने तयारी भएको हो ।
उनलाई काठमाडौंमा डिल्लीबजार कारागारमा राखिनेछ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...