आजदेखि चल्न थाले सार्वजनिक सवारी

काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेरिङ (नियमन र व्यवस्थापन) नियमावली स्थगित गरेसँगै आज (बुधबार) देखि सार्वजनिक सवारी साधन चल्न थालेका छन् ।
प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । आन्दोलन स्थगनसँगै सार्वजनिक सवारी साधन बिहानैदेखि सञ्चालनमा आएको हो ।
संघीय सरकारसँग सहमति भए पनि प्रदेश सरकारले नियमावली स्थगन नगर्दासम्म आन्दोलन जारी रहने भन्दै व्यवसायीले हिजो मंगलबार दिनभर सवारी साधन नचलाउँदा त्यसको मारमा आम नागरिक परेका थिए ।
सोमबार गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च पदस्थ अधिकारी र यातायात व्यवसायीबीच पटक–पटक वार्ता पश्चात् सहमति भएको थियो ।
सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । सोही सहमतिका आधारमा गण्डकी सरकारले नियमावली स्थगन गरेको हो ।

LEAVE A REPLY