Page 4

हुम्लामा सडक पुगेपछि प्रधानमन्त्री खुशी, भन्छन्– दशकौं पुरानो सपना पूरा हुँदैछ

काठमाडौं । राष्ट्रिय राजमार्गसँग जोडिन बाँकी रहेको एकमात्र जिल्ला हुम्लामा सडक पुगेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले खुशी व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले हुम्लामा सडक पुर्‍याउने दशकौं पुरानो सपना पूरा हुन लागेकोमा खुशी व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले हुम्लामा सडक पुगेपछि हिल्सा नाकाबाट नेपाल चीनसँग जोडिने उल्लेख गरेका छन् । हुम्लाको खार्पुनाथमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने तयारी भए पनि मौसमका कारण केहीपछि सरेको छ ।
हुम्ला सडक सञ्जालसँग जोडिएको अवसरमा प्रधानमन्त्रीले लेखेका छन्, ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । हुम्लामा सडक सञ्जाल पुर्‍याउने हाम्रो दशकौं पुरानो सपना पूरा हुँदै छ । यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ ।’

 

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको जनाए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए । ‘नतिजाको अन्तिम चरणमा छौँ । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ,’ उनले भने, ‘सम्भवतः बोर्डको बैठक आज बस्छ ।’
सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भइनसकेको जनाए ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

काठमाडौं । टिकटकर रमा बस्नेत धरौटीमा रिहा भएकी छिन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
विद्युतीय कारोबार ऐन अनुसार कसुर गरेको भन्दै असार १ गते उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो।

भोलिदेखि काठमाडौंमा ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुँदै

काठमाडौं । भोलिदेखि काठमाडौंमा ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने भएको छ । नेपालमै उत्पादित आँपहरुलाई बजारीकरण गर्ने उद्येश्यलाई आँप महोत्सव गर्न लागिएको हो । काठमाडौं अर्गानिक, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा भोलिदेखि लाजिम्पाटस्थित वालनट बिस्ट्रोमा महोत्सव ३ दिनसम्म संचालन हुने छ । यसका साथै स्वयम्भूको एचटुओ क्याफे र झम्सीखेलको वाटरिङ हलमा पनि उक्त महोत्सव हुनेछ ।
तराई–मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवद्र्धनका लागि यो महोत्सवले ठुलो सहयोग पुग्ने आयोजकको विश्वास छ । महोत्सवमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको अनुपम सङ्गम अनुभव गर्न सकिने आयोजकले जनाएको छ ।
उक्त महोत्सवमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी सहभागी हुने आयोजकले जनाएको छ । महोत्सवको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको काठमाडौँ अर्गानिकका प्रमुख सञ्चालन अधिकृत निशा तौजले जानकारी दिए ।
कार्यक्रमको आकर्षणका रूपमा १० भन्दाबढी प्रजातिका आँप प्रदर्शनीमा राखिनेछन् । पाँच भन्दाबढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न सकिने छ । माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया जातका आँप किसानबाट प्रत्यक्ष किन्न सकिने तौजले जानकारी दिए ।
यस्तै, २० भन्दा बढी आँप समावेश गरिएका परिकार र पेयपदार्थ सहकार्य गरेका रेस्टुरेन्टमा पाइनुका साथै सबै उमेरका सहभागीका लागि रमाइलो म्याङ्गो खेल र विविध गतिविधि सञ्चालन हुने उनले जनाए ।

नेपाल लाइफका अभिकर्तालाई इन्सेन्टिभमा गणना हुने २८ गते अन्तिम दिन

all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २८ गतेसम्म जारी भएका पोलिसीहरुको मात्र मासिक तथा वार्षिक इन्सेन्टिभ गणना गर्ने भएको छ । कम्पनीले देशभरी रहेका शाखा तथा उपशाखाहरुलाई सर्कुलर जारी गर्दै समयमै चालु आवको सम्पूर्ण कार्य सम्पन्न गर्न भनेको हो ।
कम्पनीले असार ३२ गते कुनै पनि बीमा पोलिसी जारी गर्न नमिल्ने भएकाले सक्दो चाँडो समयमै पोलिसी जारी गर्न निर्देशन दिएको छ । तर, स्वीकत भएर बसेका बीमा प्रस्तावको हकमा भने असार ३२ गतेसम्म बीमालेख जारी गर्न सकिने जानकारी दिएको छ ।
उच्च बीमा रकम र बीमितहरुका मेडिकल रिपोर्ट असार २७ गते, शुक्रबार साझ ५ बजेभित्र प्रधान कार्यालय पठाइ सक्नुपर्ने छ । त्यस्तै, पुनर्बीका लागि शाखा–उपशाखा कार्यालयबाट पठाउनु पर्ने प्रस्ताव पनि असार २७ गतेको दिउँसो १२ बजेभित्र सम्पूर्ण कागजात सहित पठाइ सक्न कम्पनीले निर्देशन दिएको छ ।

टेलिकमको रिचार्ज सेवा अवरुद्ध हुने

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो ग्राहक सेवा प्रणालीको नियमित मर्मतका क्रममा रिचार्ज तथा सब्सक्रिप्सन सेवा केही समयका लागि बन्द हुने जानकारी दिएको छ।
टेलिकमका अनुसार असार १२ गते (बिहीबार राति) ११ः५५ बजेदेखि करिब दुई घण्टासम्म रिचार्ज तथा सब्सक्रिप्सन सेवा बन्द हुनेछ। कम्पनीले प्रणाली मर्मतसम्बन्धी कार्यका लागि यो सेवा अस्थायी रुपमा स्थगन गरिएको जानकारी दिएको हो।
यद्यपि उक्त समयमा भ्वाइस, एसएमएस, डेटा तथा आइपीटीभी सेवाहरू भने यथावत सञ्चालनमा रहने कम्पनीले स्पष्ट पारेको छ।
टेलिकमले यसबाट ग्राहकवर्गमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक सहयोग र समझदारीका लागि अनुरोध गरेको छ।

आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

काठमाडौं । आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगको उद्घाटन गर्दै उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरूलाई औपचारिक रूपमा सार्वजनिक गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योगको स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला रहेको जनाए । मन्त्री भण्डारीले यो उद्योगले केवल आयात प्रतिस्थापन मात्र होइन, निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोर्‍याउने भएकाले सरकारले उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन दिने उल्लेख गरे ।
समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतको प्रयोग गरी निर्माण क्षेत्रमा योगदान पुर्‍याउने गरी नयाँ उद्योग स्थापना गरेको जनाए । यसले देशभित्र रोजगारी सिर्जना गर्ने र नेपालमै उत्पादन हुने भएकाले आयात प्रतिस्थापन भई ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिँदा आत्मनिर्भर अर्थतन्त्रतर्फको मार्ग प्रशस्त गर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे । स्वदेशी सीप, स्थानीय स्रोत र सम्भावनामार्फत नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरका निर्माण सामग्रीको उत्पादन सम्भव भएको सन्देश यस उद्योगले दिएको पनि अध्यक्ष ढकालको भनाइ थियो ।
आइएमई ग्रुपअन्तर्गत करिब डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको यो उद्योग रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित छ । यो उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन् । उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेण्ट फाइवर बोर्ड उत्पादन गर्न सक्ने क्षमता राख्छ । यहाँ उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ, र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन्। यी बोर्डहरू लचकदार, अग्नि–प्रतिरोधी, घाम–पानीले असर नपर्ने, वातावरणमैत्री तथा अत्यन्तै टिकाउ छन् ।
फाइबर सिमेन्ट बोर्डको प्रयोग भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानल लगायत विभिन्न संरचनामा गरिन्छ । यहाँसम्म कि इँटा र प्लास्टरको विकल्पमा पूर्ण संरचना निर्माण समेत गर्न सकिन्छ, जुन १०–१५ दिनमै तयार पार्न सकिने भएकाले यसको माग नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत तीव्र रूपमा बढ्दो छ ।
प्राकृतिक प्रकोप जस्तै, भूकम्प, बाढी वा पहिरोका बेला आपत्कालीन संरचना निर्माणमा समेत यस उद्योगका उत्पादित बोर्डहरू छिटो, सस्तो र दिगो विकल्प बन्ने छन् । प्लास्टर वा रङ्गको झन्झट नहुने भएकाले समय र लागतमा उल्लेखनीय बचत हुनेछ ।
यस उद्योगले स्थानीय रोजगार प्रवर्द्धनमा जोड दिएको छ । हाल करिब २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन्, जसमा ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार छन् । उनीहरूले प्रोसेससङदेखि प्याकिङसम्मका सबै काममा संलग्न छन् ।
एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रालिले वातावरणमैत्री, गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमार्फत निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य लिएको छ ।

शिक्षा विधेयकमा जुटेन सहमति, भोलि फेरि छलफल हुने

काठमाण्डौं । संसदीय समितिमा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी विधेयकमा सहमति जुट्न नसक्दा अलमल देखिएको छ ।
उपसमितिमा सहमति नजुटेपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुँदा पनि सहमति जुटेन ।
बिहीबार समितिको बैठकमा सहमति नभएपछि शुक्रबार बिहान ११ः३० बजेका लागि बैठक बोलाइएको छ ।
समितिका सभापति अम्मरबहादुर थापाले शुक्रबार बिहान ९ बजे समितिका सदस्यहरूबीच परामर्श बैठक हुनेछ भने त्यसपछि बैठक बस्नेछ ।
विधेयकमा निजी विद्यालयको सञ्चालन, शिक्षकको सरुवा, नियुक्ति, स्थानीय सरकारको अधिकारका प्रावधानमा विवाद देखिएको छ ।

मुकुलले दायर गरेको रिटमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट हटाइएका डा. मुकुल ढकालले आफूलाई महामन्त्री पदमा फर्काउन माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले असार १७ गते दुवै पक्षलाई बोलाएको छ ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार १७ गते छलफलका लागि बोलाएको हो ।
आफूलाई महामन्त्री दाबी गर्दै ढकालले हिजो बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
ढकालले रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री कवीन्द्र बुर्लाकोटी र प्रवक्ता मनीष झालाई विपक्षी बनाएका थिए ।

आज यी प्रदेशमा हुनेछ भारी वर्षा

काठमाण्डौं । जल तथा मौसम पुर्वानुमान महाशाखाले बुधबारको मौसम पूर्वानुमान गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । सबै प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी केही स्थानमा र बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने छ । सबै प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...