काठमाडौं । भोलिदेखि काठमाडौंमा ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने भएको छ । नेपालमै उत्पादित आँपहरुलाई बजारीकरण गर्ने उद्येश्यलाई आँप महोत्सव गर्न लागिएको हो । काठमाडौं अर्गानिक, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा भोलिदेखि लाजिम्पाटस्थित वालनट बिस्ट्रोमा महोत्सव ३ दिनसम्म संचालन हुने छ । यसका साथै स्वयम्भूको एचटुओ क्याफे र झम्सीखेलको वाटरिङ हलमा पनि उक्त महोत्सव हुनेछ ।
तराई–मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवद्र्धनका लागि यो महोत्सवले ठुलो सहयोग पुग्ने आयोजकको विश्वास छ । महोत्सवमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको अनुपम सङ्गम अनुभव गर्न सकिने आयोजकले जनाएको छ ।
उक्त महोत्सवमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी सहभागी हुने आयोजकले जनाएको छ । महोत्सवको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको काठमाडौँ अर्गानिकका प्रमुख सञ्चालन अधिकृत निशा तौजले जानकारी दिए ।
कार्यक्रमको आकर्षणका रूपमा १० भन्दाबढी प्रजातिका आँप प्रदर्शनीमा राखिनेछन् । पाँच भन्दाबढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न सकिने छ । माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया जातका आँप किसानबाट प्रत्यक्ष किन्न सकिने तौजले जानकारी दिए ।
यस्तै, २० भन्दा बढी आँप समावेश गरिएका परिकार र पेयपदार्थ सहकार्य गरेका रेस्टुरेन्टमा पाइनुका साथै सबै उमेरका सहभागीका लागि रमाइलो म्याङ्गो खेल र विविध गतिविधि सञ्चालन हुने उनले जनाए ।