काठमाडौँ । इजरायलले आक्रमण रोके आफूपनि युद्धविराम गर्न तयार रहेको इरानले जनाएको छ । इरानका विदेशमन्त्री सेयद अब्बास अरघचीले यदि इजरायलले आफ्नो ‘अवैध आक्रमण’ तत्काल रोकेमा इरानले पनि आफ्नो जवाफी कारबाही रोक्ने जनाएका हुन् ।
‘यदि इजरायलले अहिले नै अवैध आक्रमण रोक्ने हो भने, इरानले पनि थप प्रतिक्रिया दिने कुनै योजना बनाएको छैन’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
‘म सबै इरानीहरूसँगै हाम्रो वीर सशस्त्र बलप्रति आभार व्यक्त गर्दछु, जसले आफ्नो अन्तिम थोपा रगत रहेसम्म देशको रक्षा गर्न तत्पर रहेर शत्रुको हरेक आत्रमणको अन्तिम क्षणसम्म जवाफ दिएका छन्’ उनले भने । उनले इजरायली आक्रमणको प्रतिक्रियास्वरूप भएको सैन्य कारबाही बिहान ४ बजेसम्म जारी रहेको जनाएका छन् ।
इरानले भन्यो, ‘इजरायलले आक्रमण रोके युद्धविराम गर्न तयार छौँ’
प्रतिनिधि सभाबाट आज विनियोजन विधेयक पारित गर्ने तयारी
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ ।
आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । त्यसअघि बैठकले श्रम, रोजगार तथा समाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।
बैठकमा सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर केसी, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा (तामाङ), नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालद्वारा प्रस्तुत खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले पाए सफाइ
काठमाडौं । सर्वोच्च अदालतले गणेश लामालाई सम्पत्ति शुद्धीकरणको आरोपमा सफाइ दिएको छ ।
विशेष अदालतको फैसला उल्ट्याउदै सर्वोच्च अदालतले लामालाई आरोपबाट सफाइ दिएको हो ।
लामा २४ साउन, २०७५ मा विशेष अदालतबाट दोषी ठहर भएका थिए ।
उनलाई त्यतिबेला एक करोड ४० लाख विगो र एक वर्ष कैद सजाय तोकेको थियो । सर्वोच्च अदालतले दावी नपुग्ने भन्दै सफाइ दिएको हो ।
लामामाथि जेठ, २०७० मा २७ करोड रुपैयाँ गैरकानुनी आर्जन गरेको भनी सम्पत्ति शुद्धीकरणको मुद्दा चलेको थियो ।
युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने प्रधानमन्त्रीको दाबी
लतिलपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने दाबी गरेका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरुले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिएका हुन् ।
‘अहिले युवा सङ्घको काँधमा असाधारण जिम्मेवारी रहेको छ । आगामी स्थानीय तहको निर्वाचनसम्म यस कमिटीको नेतृत्व रहन्छ । सङ्घको नेतृत्वले आफ्नो कार्यकालका लागि सिङ्गो योजना बनाओस् । नयाँ इतिहास कायम राखोस् । असाधारण सक्रियताका साथ काम गरोस् ।’, अध्यक्ष ओलीले भने, ‘यसले सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध सङ्गठनका रुपमा उभ्याओस् । वैचारिक हिसाबले स्पष्ट र साङ्गठनिक हिसाबले सुदृढ तथा आवश्यकता परेका बेला देश र पार्टीका पक्षमा जुझारुरुपमा आन्दोलन गर्न सक्ने योजना होस् । विपक्षीहरुले फैलाएका भ्रमपूर्ण प्रचारको खण्डन गरोस् । सही बाटोका पछि लागोस् । व्यक्तिका पछि होइन ।’
अध्यक्ष ओलीले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरु असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरु विश्वमा युवाहरुले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आव्हान गरे ।
‘युवाहरु सही बाटोमा अघि बढेमा देश सही बाटोमा अघि बढ्छ । युवाहरुलाई भ्रममा पार्न वा शिथिल पार्ने काम भएमा परिवर्तन र अग्रगमन सुुस्त गतिमा अगाडि बढ्न पुग्छन् । युवाहरुलाई उद्यमशीलतातर्फ कसरी अगाडि बढाउने भन्नेमा हामी लाग्नुपर्छ ।’, उनले भने, ‘उही नेता कहिले कहिले आवश्यकताले दोहोरिन्छ । कहिले एक पटकमै उसको परीक्षणबाट असफल हुन्छ । हामीले पार्टीमा ठिक नेतृत्व नपाउँदा आन्दोलन रुमलियो । जनताको बहुदलीय जनवाद (जबज) पारित भएपछि पनि तत्काल सही नेतृत्व पाएनौँ । जब सही नेतृत्व पायौँ, त्यसपछि पार्टीलाई सुस्पष्ट र मजबुद बनाएर अघि बढ्यौँ ।’
आफूहरुलाई सिध्याउँछौँ भनेर प्रतिक्रियावादीहरु लागे पनि आफूहरु मजबुद हुन सक्नुमा सही विचार र सही नेतृत्व भएकाले पार्टी एकीकरण गरेर नेकपा बनाएको तर पार्टीमा विभाजना गराइएकाले फेरि पार्टीलाई जस्ताको तस्तै बनाएर अघि बढेको त्यो सामथ्र्य (रिजिलेन्स) एमालेसँग भएको स्पष्ट पारे ।
‘अहिले अर्थविनाको युवा युवा भनेर उचाल्ने प्रवृत्ति छ । जहाँ पनि युवा मात्रै भनेर हुँदैन । कुन तहसम्म कसरी युवाले के गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । दक्षता, सीप र अनुभव आदि कुराहरु चाहिन्छ ।’, अध्यक्ष ओलीले भने, ‘कुनै पनि व्यक्तिभित्र घमण्ड पसेपछि ऊ बिग्रने बाटोमा जान्छ । हाम्रा युवाहरु दम्भी, घमण्डी हुनेछैनन् । क्षमतावान विनयी र शालिन हुनेछन् । गुण्डा हुने छैनन्, बलवान हुनेछन् । कसैले गालामा पिट्न आएमा ओम शान्ति‘ भनेर चाँही बस्दैनन् । त्यसकारण युवा सङ्घले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ ।’
युवा सङ्घ जनताको स्वाभिमानको मजबुद किल्ला भएकाले यसलाई कसैले भत्काउन नसक्ने स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले युवा सङ्घ समग्र सामाजिक क्रियाकलाप, जागरण र देशभक्तिपूर्ण भावको नायक भएको जनाएका छन् ।
अमला रोका दुई लाख धरौटीमा रिहा भएलगत्तै फेरि पक्राउ
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोका दुई लाख धरौटीमा रिहा भएलगत्तै फेरि पक्राउ परेकी छिन् ।
धरौटी बुझाएर रिहा भए लगत्तै उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गर्नुपर्ने भएकाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।
यसअघि गत शुक्रबार टोखाबाट पक्राउ परेकी रोकालाई थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले धरौटीमा छाड्न आदेश गरेको थियो ।
विकास र समृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्छ ः अध्यक्ष ढकाल
काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन) बीच बलियो सहकार्यको आवश्यकता रहेको जनाएका छन् ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाण्डौंले चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापार, अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रियात्मक कार्यशालामा बोल्दै उनले नेपालले आफ्नो आर्थिक कूटनीतिलाई बढाउँदै विकास र सम्मृद्धिमा फड्को मार्न विश्वका महत्त्वपूर्ण ६६ देशका अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने उल्लेख गरे ।
उनले भने, ‘सरकार र अनररी कन्सुलर कर्पस् नेपालबीच विश्वास र साझेदारीको सहकार्य आवश्यक रहेको छ । राज्यले अनररी कन्सुलर कर्पस्लाई अवैतनिक र औपचारिक दूतको रूपमा मात्र होइन, आर्थिक कूटनीतिज्ञको रूपमा व्यवहार र उपयोग गर्नुपर्छ ।’
ढकालका अनुसार वाणिज्यदूतहरू व्यापार, पर्यटन, लगानी र आर्थिक सहकार्यमा पहिल्यै सक्रिय रहेका छन् र उनीहरूले सरकारको खर्च बिना आफ्नै स्रोत, समय र सञ्जाल प्रयोग गरेर नेपाललाई विदेशमा प्रवर्द्धन गरिरहेका छन् ।
उनले वाणिज्यदूतहरुलाई नेपाल र विश्व अर्थतन्त्रबीचको पुलको रूपमा उपयोग गर्न सकिने उल्लेख पनि गरे ।
उनले भूकम्प, बाढी र अन्य संकटको बेला वाणिज्यदूतहरूले प्रतिनिधित्व गर्ने देशहरूले नेपाललाई सहयोग उल्लेख गर्दै यसले वाणिज्यदूहरूमार्फत उनीहरूले प्रतिनिधित्व गर्ने देशहरूसँग भविष्यमा गरिने सहकार्य अझ मजबुत बनाउन सक्ने जनाए ।
परराष्ट्र मन्त्रालयले हालै गठन गरेको आर्थिक कूटनीति विभागको स्वागत गर्दै ढकालले यसले सरकार, अनररी कन्सुलर कर्पस् नेपाल, निजी क्षेत्र र कूटनीतिक निकायबीच अझ राम्रो समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
उनले भने, ‘आर्थिक कूटनीति केवल व्यापारमा सीमित छैन । यो रोजगार, प्रविधि, ब्राण्डिङ, पर्यटन लगायत धेरै क्षेत्रसँग जोडिएको छ ।’
निजी क्षेत्रले नेपालको कूल गार्हस्थ उत्पादनको ८१ प्रतिशतभन्दा बढी योगदान गर्ने र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने तथ्य प्रस्तुत गर्दै ढकालले निजी क्षेत्रलाई आर्थिक सहयोग चाहिएको नभई सम्मान, पहिचान र निर्णय प्रक्रियामा स्थान चाहिएको स्पष्ट गरेका छन् ।
भारत, चीन र यूएई लगायतका मुलुकमा प्रधानमन्त्रीको भ्रमणको बेला आयोजना गरिएका व्यापार सम्मेलनहरूले लगानी र आर्थिक सहकार्यमा नयाँ ढोका खोल्ने काम गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले आर्थिक कूटनीति विभागसँगको सहकार्यले आगामी दिनमा अझ धेरै, व्यवस्थित र प्रभावकारी रूपमा यस किसिमका कार्यक्रमहरू आयोजना गर्न सकिने विश्वास व्यक्त गरे ।
सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले तीन जना संस्थापक शेयरधनीको नाममा रहेको कुल ३३ सय ९३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकको यो शेयर हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको शेयर संख्याको व्यहोरा खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ ।
साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा उक्त शेयर गैरसंस्थापक व्यक्तिमा बिक्री गरिने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।
ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्र्फोट एण्ड रिसोट प्रालिबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।
समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटीद्वारा संचालित होटल तथा रिसोर्टहरुमा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट पाउनेछन् ।
आइएमई समुहको लगानीमा देशका विभिन्न स्थानहरुमा पर्यटक तथा पाहुनाहरुलाई स्तरीय सेवा सुविधा प्रदान गर्न होटल तथा रिसोर्टहरु संचालन गरीरहेको छ ।
काठमाडौंको होटल ले हिमालय लाजिम्पाट र साके एण्ड फेङ्ग रेस्टुरेन्ट लाजिम्पाट, बागलुङको इला कम्र्फोट, गैंडाकोटमा इला होटल एण्ड रिसोर्ट मौलाकाली र पोखराको लेकसाइट रिट्रीट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको आरामदायी बसाई र अविस्मरणीय अनुभवको लागि प्रख्यात छ ।
आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको जनाएको छ ।
लाभांश र हकप्रद प्रस्तावसहित युनाइटेड अजोडद्वारा साधारणसभा आह्वान
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले लाभांश पारित गर्न ३१औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीका सभा असार ३० गते अम्रपाली ब्यांक्वेट, भाटभटेनीमा बिहान साढे १० बजेदेखि बस्नेछ।
सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र करसहित ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार कम्पनीले यसअघि नै १५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । तर बोनस शेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले त्यसलाई १० प्रतिशत (१०० कित्ता बराबर १० कित्ता नयाँ) हकप्रद निष्कासन गर्ने गरी संशोधन गर्नेछ ।
साधारणसभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले असार १९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १८ गतेसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि सहभागी बन्न पाउनेछन् ।
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
वीरगञ्ज । आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन् । शनिबार राति श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।
“प्रहरीको प्रारम्भिक अनुसन्धानले लामो समयदेखि श्रीमान् श्रीमतीबीच बोलचाल नभएको थाहा भएको छ,’’ उनले भने, ‘‘श्रीमान लामो समयदेखि बाहिर काम गरेर घर फर्किँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने भन्दै रिसको आवेगमा कर्तव्य ज्यान गरेको हुनसक्ने देखिएको छ ।’’