काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गरेको दाबी गरेका छन्।
बिहीबार सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्। उनले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न सफल भएको जनाए। उनले भने, ‘यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौं।’
यस्तै आफू सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको जनाउँदै गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको उनले जिकिर गरेका छन्।
उनले लेखेका छन्, ‘हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो। गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको छ।’
यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गरेको प्रधानमन्त्रीको दाबी
गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता आफूहरूलाई नै रहेको प्रचण्डको दाबी
काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता तथा सरोकार आफूहरूलाई नै रहेको दाबी गरेका छन् ।
बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन प्रचण्डले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि हाल प्रश्न उठ्न थालेपछि त्यसको संरक्षण र सुदृढीकरणप्रति चासो व्यक्त गरेका हुन् ।
उनले आन्दोलनको स्मरण गर्दै भने, ‘बच्चा जन्माउने आमालाई जति माया हुन्छ, त्यति अरूलाई हुँदैन । गणतन्त्रप्रति प्रश्न उठेपछि हामीले काठमाडौंमा विशाल प्रदर्शन त्यसैगरी मात्रै गरेका थिएनौं, त्यो हाम्रो संकल्प र सरोकारको अभिव्यक्ति थियो ।’
अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भएको उल्लेख गर्दै ती अधिकारहरू अब उल्ट्याउन नसकिने विश्वास व्यक्त गरे ।
उनले पछिल्ला दिनमा गहिरो अध्ययन, चिन्तन, वैचारिक सिद्धान्त र त्यागमा आधारित आन्दोलन तथा नेताहरूलाई हलुका रूपमा व्याख्या गर्दै आलोचना गर्ने प्रवृत्ति बढिरहेकोप्रति दुख प्रकट गरे ।
‘आजभोलि सुसंस्कार, दर्शन र युगान्तकारी परिवर्तन ल्याउने नेताहरूलाई गाली गर्ने फेसन चलेको देखिन्छ,’ उनले भने ।
कुनै वैचारिक धरातल वा ऐतिहासिक योगदान नरहेका व्यक्तिहरूबाट जनतालाई भ्रममा पार्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले त्यसले मुलुकलाई गलत दिशातर्फ डोर्याउन सक्ने खतरा औंल्याए ।
उनले भने, ‘देशमा निराशावादको व्यापार, असन्तुष्टिको बजार र देश छोड्ने पलायन प्रवृत्तिहरू हावी हुँदै गइरहेका छन् । यस्ता प्रवृत्तिविरुद्ध प्रतिवाद गर्न तथा जनतालाई सही इतिहास बुझाउन पुस्तकहरू सशक्त माध्यम हुन सक्छन् ।’
कार्यक्रमको समापनमा अध्यक्ष प्रचण्डले गहन र विश्लेषणात्मक कृतिहरूले मुलुकको राजनीतिक, सामाजिक र वैचारिक मार्गदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।
केन्द्रीय कमिटीले मिसन ०८४ को नेतृत्व केपी ओलीले नै गर्नु पर्दछ भनेको छ ः शंकर पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मिसन ०८४ को नेतृत्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गर्नुपर्ने जनाएका छन् ।
पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले केन्द्रीय कमिटीको बैठकले ०८४ को जिम्मा अध्यक्ष ओलीलाई नै दिएको जनाएका हुन् ।
‘योग्यता पुगेका महाधिवेशन प्रतिनिधि अध्यक्षको उम्मेदवार हुन पाउँछन् । हामीले कसैलाई छेकेका छैनौ’, महासचिव पोखरेलले भने, ‘तर केन्द्रीय कमिटीको एक मतले मिसन ०८४ को नेतृत्व केपी ओलीले नै गर्नु पर्दछ भनेको छ ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउँदा लोकतन्त्र कमजोर हुने भएकाले लोकतन्त्रलाई बलियो बनाउन भण्डारीलाई रोकिएको स्पष्ट पारे ।
‘विद्या भण्डारी एमालेको राजनीतिमा आउँदा पार्टीलाई फाइदा नै हुन्छ । उहाँको व्यक्तित्वले एमाले बलियो नै हुन्थ्यो’, पोखरेलले भने, ‘तर यस्तो प्रवृतिले लोकतान्त्रिक मूल्य मान्यतालाई खण्डित गर्दछ ।’
कांग्रेस र कम्युनिष्टको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको प्रधानमन्त्रीको दाबी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका प्रत्येक अप्ठ्यारो मोडमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले नेतृत्व गरेको अलग अलग राजनीतिक धारको एकता र सहकार्यको प्रयोगबाट सफलता हासिल हुँदै आएको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो सहकार्यको प्रयोगबाट मुलुकमा राजनीतिक स्थायित्वसहित परिवर्तन सम्भव भई उपलब्धि संस्थागत हुने धारणा व्यक्त गरे ।
बिपी कोइराला र पुष्पलाल श्रेष्ठको सोचअनुसार उनीहरूले अँगालेको बाटोमा अघि बढी विभिन्न कालखण्डमा देखिएका असहज राजनीतिक घटनाक्रमलाई सहज दिशामा अघि बढाउन कांग्रेस र कम्युनिष्ट धारबीचको सहकार्य सफल भएको प्रसङ्ग उल्लेख गर्दै उनले मुलुकको राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका पक्षमा सरकारले सफलता हासिल गरेको जनाए ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बुधबार र पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको मङ्गलबारको स्मृति दिवसको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिलाई जहानियाँ राणाशासनको अन्त्य गरी प्रजातान्त्रिक आन्दोलनका पक्षमा नेतृत्व गरेका उनीहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरे ।
सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले बिपी र पुष्पलालालाई स्मरण गर्दै ‘मतभेद र मनभेदको होइन, एकता र मेलमिलाप’को कुरा गर्न अनुरोध गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, “मुलुकको समृद्धि र जनताको सुखका लागि जीवनपर्यन्त सङ्घर्ष गर्ने पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले आफ्नो प्रिय मुलुकमा प्राण त्याग्ने अवसर समेत दिएन । उहाँले देख्नुभएको तानशाही विरुद्धको संयुक्त जनआन्दोलनको व्यावहारिक प्रयोग नेपाली कांग्रेस र तत्कालीन संयुक्त वाममोर्चामार्फत २०४६ सालमा भयो । बहुदलीय व्यवस्थाको स्थापना भयो । २०१७ सालको ‘कू’ पछि पुष्पलालले माग गर्नुभए झैँ हाम्रो संयुक्त आन्दोलनले विघटित संसद्को पुनःस्थापना ०६३ सालमा भयो, जसले हाम्रो राजनीतिक प्रणालीमा गुणात्मक परिवर्तन गरिदियो । अढाई शताब्दी लामो शाहवंशीय राजतन्त्रलाई निलम्बन गरी जननिर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रप्रमुख र सरकार प्रमुखको अधिकार प्रयोग गर्ने परिस्थिति निर्माण गर्यो ।”
उनले भने, “हण्डर ठक्कर खाएपछि मात्र कार्यगत एकता गर्ने हाम्रो आनिबानीअनुरुप बिथोलिएको राजनीतिलाई २०७२ सालमा लयमा फर्काइयो । आज कांग्रेस–एमालेको योजनामा, अन्य दलहरुको समेत सहभागितामा निर्मित मेरो नेतृत्वको यो सरकार त्यही एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छ ।”
नेशनल लाइफ धनगढी शाखाद्वारा ३० लाख रूपैयाँ दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको धनगढी शाखाले बीमित डम्बर बहादूर क्षेत्रीको परिवारलाई ३० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीले बीमित क्षेत्रीको श्रीमती सुष्मा क्षेत्रीलाई २७ लाख ६१ हजार ५७७ रुपैयाँको चेक घरमै गएर हस्तान्तरण गरेको छ । कुल दाबी रकम २९ लाख ९३ हजार ३३३ बाट कम्पनी बाट बीमतले लिएको ऋण रकम २ लाख ३१ हजार ७५६ घटाएर कम्पनी ले २७ लाख ६१ हजार ५७७ रकमको चेक हस्तान्तरण गरेको हो।
कम्पनीबाट २०७८ माघ २९ गते २५ लाख बीमांक रकमको बीमा गरेका पुर्नवास नगरपालिका–६ कन्चनपुर निवासी स्वर्गिय डम्बर बहादुर क्षेत्रीको गत चैत २५ गते असामयिक निधन भएको थियो ।
कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख नबिन किशोर भट्टसहित धनगढी शाखाका कर्मचारी, अभिकर्ता तथा २ दर्जन भन्दा बढी स्थानीयको उपस्थितिमा कम्पनीले एक कार्यक्रम गरी दाबी भुक्तानी गरेको हो।
प्रदेश प्रमुख भट्टले जीवन बीमा आफ्नो भविष्यको लागि बचत गर्ने प्रक्रिया संगै आफ्नो अनुपस्थितिमा परिवारमा आर्थिक संकट हुन नदिने सर्वोत्तम बचत रहेको जनाए।
बीमा अझै पनि जनताको प्राथमिकतामा नरहेको सन्दर्भमा कम्पनीद्वारा सहज ढङ्गले यसरी घरमै आएर दाबी रकम उपलब्ध गराउँदा आफ्नो अझै विश्वास बढेको कार्यक्रममा सहभागी स्थानीयहरुले जनाएका छन।
कमाउने घरमुलिको निधनले परिवारमा पर्न गएको आर्थिक भारमा कम्पनीबाट प्राप्त दाबी रकमले ठुलो राहत पुगेको भन्दै बीमित क्षेत्रीको श्रीमतीले जीवन बीमा अनिवार्य गराउनु पर्ने जनाएकी छिन् ।
२१ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको हो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्काशन गर्ने
काठमाडौं । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
यसैक्रममा आज सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा सारथि केवल इन्डष्ट्रीज लिमिटेडका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आगामी आर्थिक वर्ष २०८२–८३ मा आफ्नो जारी पूँजीको २० प्रतिशत सर्वसाधारणलाई निश्कासन गर्ने योजना सार्वजनिक गरेको छ ।
आईपीओबाट संकलित रकमको प्रयोग कम्पनीले नेपालमै पहिलोपटक अण्डरग्राउन्ट केबल उत्पादनमा गर्ने जनाएको छ ।
नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने
काठमाडौँ । नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले हस्ताक्षर गरेका छन् ।
यो सम्झौतासँगै बैंकले हाल सञ्चालन गर्दै आएको योगदानमा आधारित तथा गैरयोगदानमा आधारित उपदान तथा अन्य अवकाश खाता कोषमा हस्तान्तरण भएको छ । हाल बैंकमा कार्यरत करिब दुई हजार कर्मचारीको उपदान एवं अवकाशसँग सम्बन्धित अन्य रकमको व्यवस्थापन तथा सञ्चालन अब कोषले गर्नेछ ।
चालु आर्थिक वर्ष २०८२–८३ देखि नेपाल सरकारले साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोष नागरिक लगानी कोष लगायतका अन्य कोषमा आबद्ध हुनुपर्ने व्यवस्था गरे बमोजिम आर्थिक ऐन, २०८२ मा भएको संशोधन अनुरूप बैंकले आफूले सञ्चालन गर्दै आएको अवकाश कोष नागरिक लगानी कोषमा हस्तारण गरेको हो ।
गत असार ३१ गते आन्तरिक राजस्व विभागले एक सूचना जारी गरी आर्थिक ऐन, २०८२ को दफा २३ मा आयकर ऐन, २०५८ बमोजिम साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू सम्वत २०८३ साल असार मसान्तभित्र नागरिक लगानी कोषलगायत कोषमा आबद्ध हुनुपर्ने व्यवस्थाको जानकारीसमेत गराएको छ ।
आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमााण्डौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसम पूर्वानुमान गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै, मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित रहेको छ।
जसका कारण हाल मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। बागमती, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भने हल्का देखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू भागका केही स्थानहरूमा तथा बाँकी भू भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन(चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रधानमन्त्रीले आज संसदमा विशेष सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन् । सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने भएका हुन् ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘प्रधानमन्त्रीज्यूको आज प्रश्नोत्तरमा सहभागी हुने नियमित कार्यसूची रहेको छ । त्योभन्दा अघि उहाँले विशेष सम्बोधन गर्नुहुनेछ । सम्बोधनमा सरकारको काम, वर्तमान राजनीतिक परिस्थिति र तथा प्रतिपक्षी दलका नेता गर्नुभएको सम्बोधनको जवाफलगायत विषय समावेश हुनेछन् ।’
प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
विशेष सम्बोधनपछि ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।