Page 11

चक्कु प्रहार गरी फरार एकजना काठमाडौंबाट पक्राउ

सुर्खेत । ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जुम्लाको हिमा गाउँपालिका–३ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर–९ मा बस्ने २१ वर्षीया नवराज रावतलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
रावतले गत साउन ९ गते राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, बसपार्कको माथिल्लो गेट नजिकै २२ वर्षीय ललित परियारमाथि धारिलो चक्कु प्रहार गरेका थिए । रावत उक्त घटनापछि फरार रहेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा फरार रावतलाई मंगलबार पक्राउ गरिएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउपछि उनलाई बुधबार सुर्खेत ल्याई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

धनराजलाई चोख्याउँदै सीआईबीले बुझायो मितेरी सहकारी ठगीको अनुसन्धान प्रतिवेदन

काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेस उपसभापति धनराज गुरुङलाई चोख्याउँदै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
सीआईबीले अनुसन्धानका क्रममा ठगीको कुनै प्रमाण नभेटिएको भन्दै गुरूङलाई उन्मुक्ति दिएर उनकी पूर्वपत्नी ज्योति गुरुङसहित ११ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको हो । उनीहरूमाथि करिब १४ करोड रुपैयाँ ठगीको आरोप छ।
प्रहरीका अनुसार मुख्य अभियुक्त ज्योतिबहादुर भण्डारीको समूहले सहकारीको रकम ठगी गरी हुन्डी र क्रिप्टोमार्फत ६ अर्बभन्दा बढीको अवैध कारोबार गरेको पाइएको छ।
अब सरकारी वकिलको निर्णयअनुसार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर हुनेछ।

 

यो गठबन्धन २०८४ सम्म जाने प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले अस्थिरताको जतिसुकै चाहना राखे पनि त्यो सफल नहुने जनाए ।
‘बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण केका लागि रुदेशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन,’ ओलीले भने, ‘म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।’
मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौँ र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔँ भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा सरकार बनेको जनाउँदै ओलीले विपक्षमा रहेका दलहरूलाई यो स्थिरता अप्रिय लागिरहेको जनाए ।
उनले आफूहरूलाई यो प्रणाली ज्यान सरह प्रिय रहेको जनाउँदै यसको जीवनको लागि हामी कस्तै कष्ट सहन पनि तत्पर रहेको जनाए । ।
‘कति लोकतन्त्र मन नपर्ने पनि यहीँ हुन सक्छौँ । कति लोकतन्त्रको संवर्द्धनका लागि हैन, त्यसको उपभोग गर्ने– त्यसको हुर्मत लिने अभीष्ट भएका पनि हुनसक्छौँ,’ ओलीले जनाए ।

 

प्रभु बैंकको नाफा ९६५ प्रतिशतले बढ्यो

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०८१, ८२ मा ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवको सोही अवधिमा बैंकको नाफा ९६५.४० प्रतिशतले बढेर नाफा ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ पुगेको हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ५१ करोड ८ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।
बैंकका अनुसार अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवको सोही अवधिमा खुद ब्याज आम्दानी ३९.४६ प्रतिशतले घटेर ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँ रहेको छ । सञ्चालन नाफा भने ९९.४४ प्रतिशतले बढेर ६ अर्ब २८ करोड २७ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोड ५१ लाख ८ हजार रहेको छ । बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता ४.४४ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २३.१२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ४.९४ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ ।
२३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ५५ करोड १२ लाख ३६ हजार रुपैयाँ रहेको छ । ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ३० अर्ब ३७ करोड २ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१, ८२ को चौथो त्रैमाससम्म ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश दिने क्षमता १४.११ प्रतिशत छ । बैंकको खराब कर्जा ४.८७ प्रतिशत छ । यो अघिल्लो आवको सोही अवधिमा ४.१७ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १६.२८ रुपैयाँ रहको छ भने प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २४ अर्ब २१ करोड ३ लाख रुपैयाँ रहेको छ ।
असार मसान्तसम्म ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
बिक्रीमा राखिएको शेयर संख्या र सोको मूल्य भने खुलाइएको छैन ।
इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
साथै, तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ ।
मूल्य, संख्यालगायतको जानकारी लिन केन्द्रीय कार्यालयमै सम्पर्क गर्न भनिएको छ ।

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे र उपकार लघुवित्त आवद्ध

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएका छन् । नेरुडे लघुवित्तमा कार्यरत करिब १ हजार १ सय जना कर्मचारी रहेका छन् भने उपकार लघुवित्तमा एकसय भन्दा बढी कर्मचारी रहेका छन् ।
कोषको यस योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ । यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् । सोही व्यवस्था अनुसार दुवै लघु वित्त वित्तीय संस्था कोषको उपदान योजनामा आवद्ध भएका हुन् । यसअघि पनि कोषसँग नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भइसकेको छ ।
कोषले २०५५ देखि सुरु गरेको उपदान तथा पेन्सन योजनामा विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान तथा पेन्सनबापतको रकम संकलन गरी लगानी गर्ने र कर्मचारी निवृत भएपछि भुक्तानी गर्ने गरिएको छ । यस योजनामा योगदानमा आधारित र गैर योगदनामा आधारित रकम जम्मा गरी सहभागी हुन सकिने व्यवस्था छ ।
हाल यस योजनामा एक हजार १५० संगठित संस्था र त्यस्ता संस्थामा कार्यरत करिब ३३ हजार कर्मचारी सहभागी रहेका छन् । यस योजनामा व्यक्तिगत सहभागिता जनाउने कर्मचारीहरूले आवास कर्जा सुविधा, घर मर्मत, पुनर्संरचना, पुनर्तालिकीकरण र घर सजावटका लागि कर्जा सुविधा पाउने छन् । त्यसैगरी सहभागीहरूले आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक प्रकृतिका भइपरी आउने कार्यका लागि सरल कर्जा सुविधा पाउने व्यवस्था समेत रहेको छ ।

आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर साधरणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, मधेस, बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।
आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा पूर्णतया बदली रही बाँकी भूभागमा साधरणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको तथा लुम्बिनी प्रदेशको तराईको भूभागको थोरै स्थानहरू, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मनसुन सक्रिय भएका कारण सातै प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

रवीन्द्रलाई प्रोत्साहनस्वरुप ५ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप सरकारले पाँच लाख रुपैयाँ दिने जनाएका छन् ।
आज बिहान सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई पाँच लाख र उनका प्रशिक्षलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी गराएका हुन् ।
‘भारतलाई हराएर म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएका रवीन्द्र ढाँटलाई अस्ति बसेको मन्त्रिपरिषद्को बैठकले प्रोत्साहन स्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यस्तै उहाँका प्रशिक्षकलाई २ लाख रुपैयाँ दिने पनि निर्णय भएको छ ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई फेरि पनि बधाई ’
रवीन्द्रलाई काठमाडौं महानगरपालिकाले मंगलबार दुई लाख रकमसहित सम्मान गरेको थियो ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार (आज) अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ।
यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
आजै विभिन्न चार संसदीय समितिको बैठक बस्दै छ । निर्धारित कार्यसूचीअनुसार आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ।
अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारमा यही साउन २३ गते घटेको घटना र सो को प्रभाव र समस्या समाधानका उपायहरूबारे गृहमन्त्रीसँग छलफल गर्ने कार्यक्रम छ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ।
त्यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा महालेखापरीक्षकको ६२औँ प्रतिवेदनमा समेटिएका मूलभूत पक्षका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

लेटेष्ट समाचार

चितवनमा दुर्गा प्रसाईका कार्यकर्ता र प्रहरीबीच झडप

चितवन । चितवनमा दुर्गा प्रसाईँका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज प्रसाईँ पक्षको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएको हो । भरतपुरको साझा...

समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाइयो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारको नाम हटाएको हो । आयोगले कर्जा सूचना केन्द्रको...

रवि लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सोमबार ‘हेर्न नभ्याइने’ भएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान...