काठमाण्डौं । साइबर अपराध मुद्दामा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा छाड्ने निर्णय गरेको छ ।
सामाजिक सञ्जालबाट चरित्रहत्या र गाली बेइज्जती गरेको कसूरमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका महरलाई हाजिरी जमानीमा छाडिएको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए । विद्युतीय अपराधको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत काठमाण्डौंबाट उनीविरुद्ध पक्राउ अनुमति लिएको थियो ।
हाजिरी जमानीमा छुटे एमाले केन्द्रीय सदस्य ऐन महर
रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु
काठमाडौं । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ । जलेको अवस्थामा भेटिएका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले जनाए ।
पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए ।
गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो । हत्या आरोपी भनिएका पासवान भने आत्मदाह प्रयास गरेको अवस्थामा माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान करिब साढे ६ बजे फेला परेका थिए । उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
शेयर बजारमा ५३.०१ अंकको उछाल, साढे ७ अर्बको कारोबार
काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । बजार उचालिएसँगै आज कारोबार रकम पनि साढे ७ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५३.०१ अंकले उचालिएको हो । १.९१ प्रतिशतले बजार बढ्दा नेप्से २८१९.१० अंकमा उक्लिएको छ ।
बजारमा उत्साह छाएसँगै आज सबै समूहमा हरियाली छाएको छ । विकास बैंक समूहका लगानीकर्ताले सबैभन्दा बढी ३.४० प्रतिशतले नाफा कमाएका छन् ।
आज ३२१ कम्पनीका १ करोड ४९ लाख ८६ हजार १ सय ४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४ सय ४१.७० रुपियाँ बराबरको कारोबार भएको छ ।
विकास हाइड्रो र समता घरेलु लघुवित्त र ग्रीन भेञ्चर लिमिटेडका लगानीकर्ताहरुले क्रमशः १०, ९.३६ र ८.०८ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै कुमारी बैंकको ऋणपत्र २०८६ का लगानीकर्ताहरुले सबैभन्दा ५.७९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज हिमालयन रि को उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६५ करोड ४२ लाख ७४ हजार २ सय ५५.७० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार १८.०२ अंकले बजार घट्दा ६ अर्ब ५४ करोड ८६लाख ३८ हजार ३ सय ३५.९२ रुपियाँ, सोमबार २१.३० अंकले बजार बढ्दा ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार ६ सय ५२.७८ रुपियाँ र हिजो मंगलबार ४.८३ अंकले बजार बढ्दा ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७ सय ३४.३७ रुपियाँ बराबरको कारोबार भएको थियो ।
मुक्तिनाथ विकास बैंकको धुम्बाराही शाखा कार्यालयको उद्घाटन
काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका–४, धुम्बाराही (चिलिमे टावर) स्थित नयाँ शाखा कार्यालयको समुद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले सोमबार एक विशेष समारोहका बीच उक्त शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।
यसअघि जमलमा रहेको शाखालाई स्थानान्तरण गर्दै बैंकले नयाँ स्थानबाट आधुनिक सुविधा र उत्कृष्ट ग्राहक सेवासहित वित्तीय कारोबार सुरु गरेको छ ।
उद्घाटन समारोहमा बोल्दै कार्यकारी निर्देशक पौडेलले बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवाको विस्तारको प्रशंसा गर्दै जोखिम व्यवस्थापनमा पनि सजग रहन सुझाव दिएका थिए । साथै उनले नयाँ शाखाबाट गुणस्तरीय सेवा प्रदान गर्न शुभकामना व्यक्त गरे ।
कार्यक्रममा सञ्चालक उमेश आचार्यले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी गराए । त्यस्तै, निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले मुलुकको अर्थतन्त्र सबलीकरणका लागि बैंक र नियामक निकायले अख्तियार गर्नुपर्ने रणनीतिबारे धारणा राखे ।
समारोहको सभापतित्व बैंक सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले गरेका थिए । धन्यवाद ज्ञापन गर्दै मल्लले सेवाको गुणस्तरमा निरन्तर सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नयाँ र आधुनिक भवनबाट सञ्चालनमा आएको यो शाखा कार्यालय रिङ्गरोडसँग जोडिएको छ र पर्याप्त पार्किङ सुविधा पनि रहेको छ, जसले ग्राहकलाई सहजता हुने बैंकले विश्वास व्यक्त गरेको छ ।
उद्घाटन समारोहमा बैंकका वर्तमान तथा पूर्व सञ्चालक, संस्थापक तथा सेयरधनी, विभिन्न क्षेत्रका व्यक्तित्व, ग्राहक र स्थानीयवासीहरूको उपस्थिति थियो ।
प्रभु बैंक र मार्फा प्यालेसबीच विशेष छुट सम्बन्धी सम्झौता
काठमाडौं । प्रभु बैंक र घरपझोङ गाउँपालिका वडा नं.–२ मार्फा स्थित मार्फा प्यालेस होटल बीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंकको तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड–क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
स्याउको राजधानीको रुपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।
प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटल विच भएको योे साझेदारीले मुस्ताङको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।
रुबी साहका हत्या आरोपीद्वारा आत्मदाहको प्रयास, जलेको अवस्थामा भेटिए
काठमाडौं । सुटकेसभित्र मृत भेटिएकी रुबी देवी साहको मृत्यु प्रकरणका अभियुक्तले आत्मदाहको प्रयास गरेका छन् ।
अभियुक्त भनिने लक्ष्मण पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थल पुगेको छ ।
प्रहरीका अनुसार पासवानको शरीर ३० प्रतिशत जलेको छ । उनलाई उपचारका लागि गौर अस्पताल लैजान लागिएको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी माधव नारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो । मंगलबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार २३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँ घटेर २३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
साफ यु–१७ च्याम्पियनसिप ः जित्नै पर्ने दबाबसहित नेपाल र बङ्गलादेश भिड्दै
काठमाडौं । नेपालले भुटानमा जारी साफ यु १७ महिला च्याम्पियनसिपमा आज अर्को प्रतिस्पर्धा गर्दैछ।
थिम्पुस्थित चाङलिमिथाङमा दिउँसो २ः४५ बजे सुरु हुने खेलमा जित्नै पर्ने दबाबसहित नेपालले बंगलादेशको सामना गर्नेछ।
यसअघिका ३ मध्ये २ खेलमा हार बेहोरेको नेपालले १ खेलमा जितेको थियो।
नेपाल पहिलो खेलमा भारतसँग ७ः० को फराकिलो अन्तरमा हार्दा दोस्रो खेलमा कमब्याक गर्दै घरेलु टोली भुटानलाई २.१ ले हराउन सफल भएको थियो।
तेस्रो खेलमा बंगलादेशसँग ३.० को हार बेहोरेको थियो। ३ खेलमा नेपालले मात्र ३ अंक बनाएको छ। नेपालले ११ गोल खाँदा मात्र २ गोल गरेको छ।
खेल तालिकाअनुसार यही भदौ १३ गते नेपालले भारतको सामना गर्ने छ भने १५ गते भुटानसँग खेल्ने छ।
प्रतियोगितामा दक्षिण एसियाका ४ राष्ट्र नेपाल, भुटान, बंगलादेश र भारतले सहभागीता जनाएका छन्। डबल राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष टोली च्याम्पियन बन्नेछ।
पार्टीमा अराजकता र गुटबन्दी हुन दिन्न ः अध्यक्ष प्रचण्ड
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको जनाएका छन् ।
कर्णाली प्रदेशको आज भएको पूर्ण बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले जनताको भरोसा पुनः बढेको भन्दै पार्टीमा गुटबन्दी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
माओवादीले स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल पर्वतारोहण सङ्घलगायत संस्थाको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकका रूपमा चित्रण गरेको छ ।
पार्टीभित्र द्वन्द्व सृजना हुन नदिने, गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने सङ्कल्प स्थायी समितिले गरिसकेको जानकारी दिँदै अध्यक्ष दाहालले शिक्षा विधेयकलगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको उनले जनाए ।
तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको जनाएका छन् ।
तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले तीजले महिलाहरूको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नुका साथै चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको जनाएका हुन् ।
उनले लेखेका छन्,‘हाम्रो देश धार्मिक, सांस्कृतिक र परम्परागत विविधताले भरिपूर्ण एक समृद्ध भूमि हो । यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काउँछ । ती मध्ये हरितालिका तीज नेपाली महिलाहरूले विशेष रूपमा मनाउने महत्वपूर्ण पर्व हो । तीजले महिलाहरूको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नुका साथै चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।’
त्यस्तै ,यस पर्वले समाजमा सौहाद्र्रता, एकता, प्रेम, सद्भाव, विश्वास र भाइचाराको भावना सुदृढ गर्दै हाम्रो समाजलाई एक साझा फुलबारीका रूपमा प्रतिविम्वित गर्दै आएको उनको भनाई छ । यी पर्वहरूले हाम्रो सामाजिक जीवनलाई मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानलाई समेत मजबुत बनाएको उनले जनाए ।