काठमाण्डौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गरेको हो ।
कार्की हाल काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कार्कीलाई आईजीपीमा नियुक्त गरिएको जानकारी दिए ।
वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएकाले सरकारलाई नयाँ नेतृत्व चयन गर्नुपर्ने अवस्था आएको थियो ।
कार्कीले २४ भदौमा जेनजी आन्दोलनको क्रममा उपत्यकाको सुरक्षा कमाण्ड सम्हालेका थिए । त्यसअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत तथा साधन विभागका प्रमुख थिए । डीआईजीका रूपमा उनले लुम्बिनी प्रदेशमा जिम्मेवारी सम्हालेका थिए भने एसएसपी हुँदा काठमाडौं जिल्ला प्रहरी परिसरमा भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा संलग्न थिए ।
प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त भएकी छिन् ।
सरकारले उनलाई पदमुक्त गर्दैै सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको हो ।
उनले अस्वभाविक रूपमा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गरेपछि उनको आलोचना भइरहेको छ । उनले मधेसबाट आफू बिरामी भएको र काठमाडौं जाने भन्दै हिँडेर बर्दीबासमा आएर एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
जेनजी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भएको ओलीको दाबी
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भएको दाबी गरेका छन् ।
नेकपा एमालेले सोमबार काठमाडौंमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेतालाई स्वागत गर्दै ओलीले युवाहरूलाई एउटा परिस्थिति खडा गरेर मर्ने, मराउने काम भएको जनाएका हुन् । जेनजी आन्दोलनको नाममा देशलाई अँध्यारो बाटोमा लैजाने प्रयास भएको उनको भनाइ छ ।
‘जेनजी आन्दोलनको नाममा सार्वभौमसत्ता सम्पन्न संसद् विघटन भएछ, नगर्नु पर्ने जति नराम्रा काम भएछन्, लोकतन्त्र विरोधी, जनमतलाई अनादर गर्ने सरकार बने छ’, उनले भने
यस्तो अवस्थामा देशलाई सही बाटोमा ल्याउन नेकपा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउनु पर्छ भनेर धेरै नेता, कार्यकर्ताहरू एमालेमा फर्किएका ओलीले जनाए । यसले एमालेलाई थप ऊर्जा प्रदान गरेको उनको भनाइ छ । ‘बाहिर नेकपा एमाले सानो चित्त भएका, साँघुरो मन, सानो दिल भएको हल्ला चलाइरहेका छन्, यहाँ कोही पनि खाँदाखाँद गरेर बस्नुपर्ने अवस्था छैन, फराकिलोसँग मजाले बस्न पाइने स्पेस छ ।
जुन पार्टी सबैभन्दा ठुलो छ त्यसलाई काम गर्ने ठाउँ दिन कुनै समस्या नभएको उनले जनाए ।
हालै बनेको नेपाली कम्युष्टि पार्टी प्रति लक्षित गर्दै उनले सो पार्टी बुढाखाडा र बरियादा खोज्ने नेताहरूको मात्र पार्टी भएको टिप्पणी गरे । ‘ज्येष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ, अब एकदुईजना थप्न बाँकी छ उहाँहरूको, बागलुङ तिरका, कता कताका कोही कोही, त्यति भए कोरम पुग्छ’, उनले भने ।
एमाले फर्किएका नेताहरूलाई एमालेले कुनै प्रलोभन नदेखाएको ओलीको भनाइ छ । ओलीले एमाले सबैभन्दा बढी युवा भएको पार्टी भएको जनाए । एमालेसँग फेसबुकको युवा होइन फिल्डमा काम गर्ने युवा भएको उनले दाबी गरे । नेकपा एमाले देश र जनता प्रति समर्पित संगठन भएको ओलीको भनाइ छ ।
आफैँ युवा दस्ता बनाउनु पर्नेमा अरूको विश्वास गर्दा भदौ २३ र २४ को घटना भएको ओलीले बताए । भदौ २३ र २४ को घटना सुनियोजित उपद्र भएको उनको भनाइ छ । अब एमालेले टोल टोलमा सुरक्षा दस्ता बनाएर यस्ता घटा हुन नदिने उनले प्रतिबद्धता जनाए ।
यो कुरा गर्दा सरकारलाई चित्त दुख्न सक्ने भए पनि एमालेले यो काम गरेरै छाड्ने उनले दाबी गरे । दण्डहीनताका प्रवृत्तिले दीर्घकालीन प्रतिशोध जन्माउने कुरामा सचेत हुन उनले सरकारलाई चेतावनी दिए ।
लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै ‘निरन्तर सहयात्रा’ गर्दै आएका किर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले ३१औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सो क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुग्न सफल भएकोमा विकास बैंकले आइतबार सम्मान कार्यक्रमको आयोजना गरी प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शेर्पाको उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान गरेका हुन् ।
किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंकमा “निरन्तर सहयात्री” बनी आबद्घ छन् । उनको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफुले ३१औं पटक आरोहण गरेको जानकारी दिए । उनको यस शाहसिक कार्यले लुम्बिनी विकास बैंकसहित सम्पूर्ण देशलाई गौरवान्वित बनाएको छ ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
सिटिजन्स बैंक र एकता बुक्सबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली काठमाडौंस्थित एकता बुक्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले एकता बुक्सको थापाथली, मानभवन, पोखरा र इटहरी आउटलेटमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य
काठमाण्डौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।
योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु १,५००÷– सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् रु २,०००÷– सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।
छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिनेछ ।
यो योजना २०८२ कार्तिक २५ देखि मंसिर ५ गतेसम्मका लागि लागू हुनेछ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
नेपाल बैंक र दराजबीच अनलाइनबाट समान खरिद गर्दा छुट दिने सम्झौता
काठमाडौं । नेपाल बैंक र दराजबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टल मार्फत सामान खरीद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र दराजको तर्फबाट प्रोजेक्ट लिड डिजिटल पेमेन्ट तथा फाईनान्स सर्भिसेस रिशव थापाले हस्ताक्षर गरेका छन् ।
बैंकले निरन्तर नविनतामा जोड दिंदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउनको लागी आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई(कमर्स प्लेटफर्मसंगको साझेदारीलाई निरन्तरता दिएको छ ।
नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराज मार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत रु १,५०० सम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु २,००० सम्मको छुट प्राप्त गर्न सकिनेछ ।
उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले उक्त कार्डमा बैंकको कुनै पनि शाखा मार्फत इ–कमर्स सक्रिय गर्नु पर्नेछ । बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।
निर्वाचनमा कांग्रेसले भाग लिन्छ, सफल बनाउँछ ः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले भाग लिने जनाएका छन् । कांग्रेसले भाग लिने मात्र नभई निर्वाचन सफल बनाउने उनले उल्लेख गरेका छन् ।
“नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ । यसमा कसैले पनि द्विविधा नराखौँ,” उनले सोमबार (कात्तिक २४) बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।
उक्त निर्वाचनबाटै नयाँ संसद् आउने उनले जनाएका छन् । “संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन,” उनले भनेका छन् ।
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पनि आफूहरूले पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको उनले जानकारी गराए । “नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो,” उनले लेखेका छन् ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा हाल भइरहेको अलमल यो विषयमा नभएको उनले स्पष्ट पारेका छन् । निर्वाचनअघि कांग्रेसको महाधिवेशन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
“निर्वाचनअघि अधिवेशन गर्नुपर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो,” उनले भनेका छन् ।
उनले अगाडि लेखेका छन्, “अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन ।”
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा र नेसपा पनि सामेल
काठमाडौं । मधेश प्रदेश सरकारमा तीन जना मन्त्री नियुक्त भएका छन् ।
नेकपा (एमाले) बाट लखन दास, नेपाल समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छा मन्त्री बनेका हुन् । उनीहरूको पद तथा गोपनीयताको शपथ पनि भइसकेको छ ।
नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् ।
एमाले संसदीय दल नेता यादवलाई प्रदेश प्रमुख भण्डारीले आइतबार राति मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
बालेनको समर्थनमा कुलमानले आज नयाँ पार्टी घोषणा गर्दै
काठमाण्डौं । वर्तमान सरकारमा महत्वपूर्ण तीन मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङले सोमबार नयाँ पार्टीको घोषणा गर्दै छन्।
सोमबार दिउँसो निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुनेछ। त्यसका लागि यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको ‘उज्यालो नेपाल पार्टी’को नाम परिवर्तन गर्न आयोगमा निवेदन दिइनेछ।
नयाँ दर्ता गरिने पार्टीको नाम ‘जनसेवा पार्टी’ रहने जनाइएको छ । पार्टी अध्यक्षमा कुलमान नै हुने छन्। उनी अध्यक्ष भएनन् भने पूर्वऊर्जा सचिव डा. अनुपकुमार उपाध्यय हुने सम्भावना छ ।
स्रोतका अनुसार नयाँ बन्ने पार्टीले एक व्यक्ति एक पदको नीतिलाई लागु गर्नेछ। जसअनुसार सरकारमा जानेहरू पार्टीका पदाधिकारीमा बस्ने छैनन्।
पार्टीले कुलमानलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने जनाईएको छ। त्यसैले नयाँ पार्टीको अध्यक्ष सम्भवतः कुलमान हुने छैनन्। उनी पार्टी अध्यक्ष भए प्रधानमन्त्री हुन नपाउने हुनाले त्यसो गर्न लागिएको हो ।
कुलमाननिकट व्यक्तिहरूको आइतबार दिनभरि काठमाण्डौंको बौद्धमा बैठक बसेको थियो। सोमबार बिहान फेरि बैठक बस्नेछ। बैठकमा नयाँ पार्टी गठनका लागि सक्रिय रहेका मुख्यमुख्य व्यक्तिहरू सहभागी थिए। बैठकले पार्टीको रूपरेखा तयार पारेको छ।
पार्टीमा काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को पनि समर्थन रहने दाबी गरिएको छ। तर उनी स्वयं भने पदमा रहने छैनन्। बालेनका प्रतिनिधिहरू भने उक्त पार्टीमा संलग्न हुने छन्।

















