काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नवौ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्ष केडियाले प्रस्तुत गरेको आव ०८१–८२ वार्षिक प्रतिवेदन सहित आव ०८१–८२ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ ।
साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रूपियाँको १०.१७८० प्रतिशतका दरले हुने रकम ५१ करोड ४ लाख १८ हजार ९७० रूपियाँ बराबरको नगद लाभाशं (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन, प्रणालीको विकास, ग्राहकमुखी सेवा, अभिकर्तामैत्री उत्प्रेरणात्मक कार्यक्रम, शाखा संजालको विस्तार, सूचना प्रविधीको प्रयोग, मजबुत आन्तरिक नियन्त्रण प्रणाली, खर्चमा मितव्ययीता, कर्मचारीहरुको उच्च मनोबल, बीमितहरुको विश्वास तथा अभिकर्ताहरुको उत्प्रेरणादायी सहयोग, सञ्चालक समितिको अभिभावकीय भुमिकाका साथै मार्गनिर्देशनका कारण बीमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको जानकारी गराए ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको साधारण सभाबाट १०.१७ प्रतिशत लाभांश पारित
एनएमबि बैंकको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित
काठमाडौं । एनएमबि बैंकको ३०औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८१–८२ को नाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना खुला गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो ।
इच्छुक नेपाली नागरिकले माघ ५ गतेदेखि माघ ९ गतेसम्म दरखास्त दिन सक्नेछन् । दरखास्त जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर तथा देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ । आवेदन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दिन सकिन्छ भने सार्वजनिक बिदाका दिनसमेत स्वीकार गरिनेछ ।
भर्नाका लागि दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । आवेदक नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, शारीरिक तथा मानसिक रूपमा स्वस्थ, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, तथा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने योग्यता तोकिएको छ ।
शारीरिक मापदण्डअनुसार पुरुषको हकमा न्यूनतम उचाइ ५ फिट ३ इन्च, छाती ३१, ३३ इन्च र तौल ५० केजी हुनुपर्नेछ भने महिलाको हकमा न्यूनतम उचाइ ४ फिट १० इन्च र तौल ४२ केजी हुनुपर्नेछ । महिलाको हकमा गर्भवती नभएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन प्रहरी छनोटमा पूर्व नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अवकाशप्राप्त सुरक्षाकर्मी, पूर्व वन रक्षक, यसअघि म्यादी प्रहरीको रूपमा सन्तोषजनक सेवा दिएका व्यक्ति, तथा विदेशी मित्र राष्ट्रका सुरक्षा निकायबाट सेवानिवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइनेछ ।
सम्पर्क मिति माघ ४ गते तोकिएको छ भने छनोट प्रक्रिया माघ ५ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ । अन्तिम नतिजा माघ १२ गते सार्वजनिक गरिनेछ । चयन भएका निर्वाचन प्रहरीलाई माघ १५ गतेदेखि २४ गतेसम्म तालिम दिइने नेपाल प्रहरीले जनाएको छ ।
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि अधिकतम ४० दिन वा नेपाल सरकारले तोकेबमोजिम रहनेछ । निर्वाचनको आवश्यकता अनुसार कार्यअवधि हेरफेर हुन सक्ने पनि प्रहरीले स्पष्ट पारेको छ ।
राष्ट्रियसभा निर्वाचन ः मैदानमा ४४ उम्मेदवार, आज उजुरी दिन सकिने
काठमाण्डौं । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावमा उम्मेदवारी दिएकाहरुको विरोधमा बिहीबार उजुरी दिन सकिनेछ ।
उम्मेदवारहरूको दाबी विरोधमा उजुरी दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ ।
बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको छ ।
राष्ट्रियसभाको १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् ।
कोशी प्रदेशमा नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।
राष्ट्रियसभामा नेपाली कांग्रेस, एमाले र लोसपा बीच गठबन्धन बनेको छ । जसअनुसार कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिटमा उम्मेदवारी दर्ता गराएका छन् ।
भागबण्डा नमिलेपछि नेकपाले छुट्टै उम्मेदवारी दर्ता गराएको छ । प्रदेशसभाका सदस्य तथा पालिकाका मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभाका मतदाता हुन्छन् । प्रदेश सांसदको मतभार ५३ र पालिका प्रतिनिधिको मतभार १९ कायम छ ।
रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
आज बिहान हात्तिगौंडास्थित लामिछाने निवास पुगेर लिङ्देनले भेटवार्ता गरेका हुन् । भेटका क्रममा उनले लामिछानेलाई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको निमन्त्रणा दिएका छन् ।
यही पुस २७ गते राप्रपाले राष्ट्रिय एकता दिवसका रूपमा पृथ्वी जयन्ती मनाउँदै छ । त्यस अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छ ।
यसका २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका बारेमा पनि छलफल भएको जनाईएको छ ।
महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले लिए सपथ
काठमाडौं । महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालक समितिले उपाध्यायलाई पुनः अध्यक्ष चयन गरेको थियो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ को प्रावधान बमोजिम बुधबार उपाध्यायले डेपुटी गभर्नर बम बहादुर मिश्रबाट सपथ लिएका हुन् । यसअघि पुस २१ गते सम्पन्न बैंकको २४ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरूलाई १०।३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
सरकारलाई स्वास्थ्य बीमा बोर्डको तीन विकल्पः प्रिमियम शुल्क बढाउने कि पुग्ने अनुदान देने वा दिइरहेको सेवा घटाउनुपर्ने
काठमाडौं । सेवा प्रदायक स्वास्थ्य संस्थाले सेवा नै ठप्प पार्ने चेतावनी दिएपछि बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले सरकारसामु तीन विकल्प अघि सारेका छन् । उनले अगाडि सारेका विकल्पहरुमा पहिलो– सरकारले अनुदान प्रर्याप्त दिनुपर्ने, दोस्रो– प्रिमियम (शुल्क) बढी उठाउन अनुमति दिने र तेस्रो– दिइरहेको सेवा घटाउनुपर्ने रहेका छन् ।
यी विकल्पमा छलफल गरेर अघि बढेमात्र स्वास्थ्य बिमालाई अगाडी बढाउन सकिने भन्दै काफ्लेले बिमा कार्यक्रममा आम्दानी भन्दा खर्च बढी भएकोले धान्न मुस्किल परेको जनाए ।
काफ्लेले भुक्तानी समस्या सामान्य व्यवस्थापकीय कमजोरी नभई संरचनागत भएको उल्लेख गरे। ‘यो समस्या बोर्डले मात्रै समाधान गर्न सक्दैन। यसको विकल्प सरकारकै हातमा छ,या त प्रिमियम बढाउनुपर्छ, या सेवा घटाउनुपर्छ, होइन भने राज्यले आवश्यक बजेट दिएर भरथेग गर्नुपर्छ,’ उनले भने ।
त्यसका अलावा उनले कानुनमा भएअनुसार निजामती कर्मचारी लगायतका राष्ट्र सेवकलाई स्वास्थ्य बिमामा अनिवार्य गर्न आग्रह गरेका छन् । कार्यक्रम प्रभावकारी कार्यान्वयनमा मानव संशाधनको अभाव, सङ्गठन संरचना नहुनु, स्वास्थ्य बिमा ऐनअनुसार अनिवार्य बीमा लागू गर्न नसक्ने रहेको जनाए ।
अस्पतालले समयमा नै भुक्तानी नपाउँदा अस्पतालाई सेवा दिन गाह्रो भएको स्पष्ट पारे । उनका अनुसार बोर्डका अनुसार २०८२ कात्तिक मसान्तसम्मको रुजु सम्पन्न भएको छ ।
स्वास्थ्य बीमा बोर्डले प्रस्तुत गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८२ मा सेवा प्रदायक अस्पताललाई कुल दाबीको करिब ४६ प्रतिशत मात्रै भुक्तानी गर्न सकिएको छ। बाँकी दाबी रकम अभावका कारण रोकिएको बोर्डले जनाएको छ।
२०८१ चैत मसान्त सम्मको सम्पूर्ण स्वास्थ्य संस्थाको भुक्तानी सम्पन्न र २०८२ असोज समान्तसम्मको सबै स्वास्थ्य संस्थालाई ४६ प्रतिशत भुक्तानी भएको छ । बाँकी दाबी रकम अभावका कारण रोकिएको काफ्लेको दाबी छ ।
बोर्डका सूचना अधिकारी विकेश मल्लले २०८२ मङ्सिरसम्म कुल जनसंख्याको करिब ३५ प्रतिशत अर्थात् एक करोड दुई लाख २० हजार आठ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध रहेको जनाए ।
त्यसमध्ये ६८ लाख ४५ हजार ९३५ जना सक्रिय बिमित छन् । परिवारको आवद्धता ४५ प्रतिशत पुगेको छ भने सेवा उपभोग दर ७२ प्रतिशत रहेको छ। नवीकरण दर ७९।७ प्रतिशत रहेको बोर्डको तथ्याङ्कको उल्लेख छ ।
हाल देशभर २७० वटा स्वास्थ्य संस्था सेवा प्रदायकका रूपमा आबद्ध छन्। लक्षित वर्गमा अति गरिब चार लाख ७७ हजार १५४ जना, ज्येष्ठ नागरिक १२ लाख २२ हजार ४७९ जना, एचआईभी सङ्क्रमित ४३ हजार २३६ जना, अति अशक्त अपाङ्ग एक लाख ९१ हजार ३९१ जना तथा कुष्ठरोग सङ्क्रमित चार हजार ६९६ जना बीमा कार्यक्रममा आवद्ध छन्।
त्यसैगरी, एमडीआररएक्सडीआर टीबी चार हजार ८१ जना र महिला स्वास्थ्य स्वयंसेविका बिमित एक लाख ८० हजार ५७२ जना बिमित छन्।
नीतिगत र प्रणालीगत सुधारको प्रयास
बोर्डले समस्या समाधानका लागि पछिल्ला वर्षहरूमा विभिन्न नीतिगत तथा प्रणालीगत सुधार अघि बढाएको जनाएको छ।
स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ संशोधन गरी रियल टाइ क्लेम प्रणाली लागू गरिएको, सेवा सक्रिय हुने अवधि ३ महिनाबाट घटाएर १ महिना बनाइएको, १५ प्रकारका कडा रोगमा खर्च सीमा बढाएर प्रति रोग १ लाख रुपैयाँ पुर्याइएको बोर्डले जनाएको छ।
त्यस्तै डिजिटल कार्ड, नागरिक एप तथा एचआईबी प्रोफाइल एपमार्फत सेवा, आईएमआईएस प्रणालीलाई लिगेसीबाट मोड्युलर भर्सनमा रूपान्तरण, राष्ट्रिय परिचयपत्र (एनआईडी) का आधारमा बीमा प्रक्रिया सुरु गर्ने तयारी, रिफरल प्रणाली सुधार र प्रथम सेवा बिन्दु स्थापना जस्ता काम अघि बढाइएको सूचना अधिकारी मल्लले जानकारी दिए।
कार्यक्रम कार्यान्वयनका मुख्य चुनौती
स्वास्थ्य बीमा बोर्डका अनुसार कार्यक्रम प्रभावकारी कार्यान्वयनमा मानव संसाधनको अभाव, संगठन संरचना नहुनु, स्वास्थ्य बीमा ऐनअनुसार अनिवार्य बीमा लागू गर्न नसक्नु, प्रगतिशील तथा लचिलो लागू नहुनुलगायत औंल्याएको छ। कार्यक्रममा निर्देशक काफ्लेले भने, ‘जनशक्तिकै कुरा गर्ने हो भने अहिले ९३८ जना चाहिन्छ। हामीसँग सवा ३ सय जना हुनुहुन्छ।’
मोरल हजार्ड र एडभर्स सेलेक्सन, कमजोर सूचना प्रविधि, सरकारी प्राथमिकतामा नपर्नु तथा सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम छरिएर रहनु मुख्य चुनौती रहेको जनाईएको छ।
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई दीगो, विश्वसनीय र प्रभावकारी बनाउन राज्यले स्पष्ट नीति, पर्याप्त बजेट र दीर्घकालीन प्रतिबद्धता देखाउनपर्ने जनाएको छ। डा काफ्लेले पत्रकारलाई नै सुरुमा प्रतिप्रश्न गरे, ‘स्वास्थ्य बीमा चलाउन प्रिमियम बढाउने कि सेवा घटाउने वा राज्यले भरथेग गर्ने हो यसमा विश्लेषण गरेर लेखिदिनुपर्यो।’
देश अप्ठ्यारो परिस्थितिमा भए पनि निराश हुन नहुने ओलीको धारणा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठ्यारो परिस्थितिमा भए पनि निराश हुन नहुने धारणा व्ष्यक्त गरेका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसको अवसरमा आयोजित विचार गोष्ठी समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल लामो इतिहास बोकेको देश भएकाले अनेक उतारचढाव झेलेर अघि बढ्दै आएको उल्लेख गरे ।
उनले भने, ‘हामी त्यति सजिलो परिस्थितिमा छैनौँ, अप्ठ्यारो अवस्थामा छौँ । तर लामो इतिहास भएको देशका बासिन्दा हामी अप्ठ्यारो पर्दा पनि निराश हुँदैनौँ । हाम्रो इतिहास भनेको अनेक जाडो–गर्मी, उकाली–ओराली पार गर्दै आएको इतिहास हो ।’
नेपाल भौगोलिक, जैविक तथा सामाजिक दृष्टिले विविधतायुक्त देश भएको उल्लेख गर्दै ओलीले भौगोलिक उकाली–ओरालीसँगै सामाजिक र विकासका विभिन्न चुनौतीहरू पनि नेपाली समाजले झेलेर आएको जनाए । अध्यक्ष ओलीले पछिल्लो समय देश पछाडि गएको भन्ने भाष्य गलत रहेको दाबी गरे ।
‘पहिले आधुनिक विज्ञान र प्रविधिले उपलब्ध गराएका सुविधा थिएनन्, सवारी साधन पनि थिएनन् । अहिले समय परिवर्तन भएको छ । अग्रजहरूले केही गरेनन् भन्ने होइन, हामीले पनि केही गरेका छैनौँ भन्ने होइन, व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएको छैन भन्ने गलत भाष्य हो,’ उनले भने ।
व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भन्ने धारणा गलत रहेको उल्लेख गर्दै उनले देशमा औद्योगिकीकरण बढ्दै गएको र नयाँ नीति, विधि, तरिका तथा स्रोतहरू अपनाइएको जनाए ।
‘मान्छेलाई सुविधा र सहुलियत मात्रै पर्याप्त हुँदैन, उसले अझ सहज जीवन खोज्छ,’ ओलीले भने, ‘देश यस्तै अवस्थामा रहिरहँदैन, किनभने हामीले थुप्रै नयाँ कामहरू अघि बढाएका छौँ ।’
कांग्रेसको विशेष महाधिवेशन आह्वान
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आह्वान भएको छ ।
विशेष महाधिवेशन पक्षधरले आज पत्रकार सम्मेलन गरी पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरेका हुन्।
पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।
शेयर बजारमा १३.३५ अंकको गिरावट , खुम्चियो कारोबार
काठमाडौं । दुई दिन लगातार बढेको शेयर बजार आज दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि पाँच अर्बमा सीमित भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.३५ अंकले घटेको हो । ०.५० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३५.९४ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि फाइनान्स र ट्रेडिङ समूह बढेका छन् भने बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३२३ कम्पनीका १ करोड ६ लाख ३३ हजार ७ सय १७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ५० लाख ९१ हजार ९ सय ९१.६० रुपियाँ बराबरको कारोबार भएको छ ।
नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.०८ प्रतिशतले नाफा कमाएका छन् भने एसवाई प्यानका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.४५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज एसवाई प्यानलकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको २६ करोड ९४ लाख ९७ हजार २ सय ८२.७० रुपियाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार १०.२९ अंकले बजार घट्दा ५ अर्ब १ करोड ७५ लाख ८७ हजार २ सय ९४.३४ रुपियाँ, सोमबार २८.७३ अंकले बजार बढ्दा ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९.२७ रुपियाँ र हिजो मंगलबार ९.९३ अंकले बजार बढ्दा ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार २ सय ९६.१८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

















