काठमाडौं । दुई दिन लगातार बढेको शेयर बजार आज दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि पाँच अर्बमा सीमित भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.३५ अंकले घटेको हो । ०.५० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३५.९४ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि फाइनान्स र ट्रेडिङ समूह बढेका छन् भने बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३२३ कम्पनीका १ करोड ६ लाख ३३ हजार ७ सय १७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ५० लाख ९१ हजार ९ सय ९१.६० रुपियाँ बराबरको कारोबार भएको छ ।
नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.०८ प्रतिशतले नाफा कमाएका छन् भने एसवाई प्यानका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.४५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज एसवाई प्यानलकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको २६ करोड ९४ लाख ९७ हजार २ सय ८२.७० रुपियाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार १०.२९ अंकले बजार घट्दा ५ अर्ब १ करोड ७५ लाख ८७ हजार २ सय ९४.३४ रुपियाँ, सोमबार २८.७३ अंकले बजार बढ्दा ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९.२७ रुपियाँ र हिजो मंगलबार ९.९३ अंकले बजार बढ्दा ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार २ सय ९६.१८ रुपियाँ बराबरको कारोबार भएको थियो ।













