Page 5

निर्वाचनको खर्चका लागि छुट्टै खाता खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचनसंग सम्बन्धित आम्दानी तथा खर्चका लागि छुट्टै बैंक खाता खोल्न राजनीतिक दल ता उम्मेदवारहरुलाई निर्देशन दिएको छ ।
नेपाल आमनिर्वाचनसँग सम्बन्धित आम्दानी–खर्चको कारोबार पारदर्शी बनाउन राजनीतिक दल, तिनबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिकसहित) तथा स्वतन्त्र उम्मेदवारका लागि छुट्टै खाता खोल्न निर्देशन दिएको हो ।
निर्वाचन आयोग नेपालको अनुरोधमा यो व्यवस्था लागू गरिएको राष्ट्र बैंकले जनाएको छ ।
निर्वाचन खर्चसम्बन्धी उक्त खाता निर्वाचन आयोगले बन्द गर्न निर्देशन नदिएसम्म सञ्चालन गर्न सकिनेछ। खाता खोल्नका लागि निर्वाचन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयको सिफारिस अनिवार्य हुने जनाइएको छ ।
राष्ट्र बैंकका अनुसार निर्वाचन अभियान समूह वा त्यससँग मिल्दोजुल्दो नाममा नेपाली मुद्रा (रुपियाँ–पैसा) मा हुने आम्दानी तथा खर्चको सम्पूर्ण कारोबार यही खातामार्फत गर्नु पर्नेछ ।
यस क्रममा राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ अन्तर्गत प्राकृतिक व्यक्तिको नाममा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाइने व्यवस्था निर्वाचन आयोगले खाता बन्द गर्न निर्देशन नदिएसम्मका लागि शिथिल गरिएको स्पष्ट पारिएको छ।
यो व्यवस्था “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा लागू हुनेछ। निर्वाचन खर्चलाई व्यवस्थित, पारदर्शी र निगरानीयोग्य बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेलले पाएकी छिन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरी तोक्ने निर्णय भएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
यसअघि प्राधिकरणको अध्यक्षको जिम्मेवारी जनकराज शर्माले सम्हाल्दै आएका थिए ।

कृषि विकास बैंक लिमिटेडबाट थानकोट प्रहरी वृत्तलाई सहयोग प्रदान

काठमाडौं । कृषि विकास बैंकले प्रहरी वृत्त थानकोटलाई सहयोग प्रदान गरेको छ ।
गत भदौ २४ गते भएको आन्दोलनका क्रममा प्रहरी वृत्तको भवनमा आगजनी हुँदा क्षति भई नष्ट भएको भवनको जिर्णोद्धार र सेवा प्रवाहलाई सहज, सुचारु र प्रभावकारी बनाउन बैंकले कम्प्युटर तथा कार्यालय सामानहरु सहयोग प्रदान गरेको जनाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कृषि विकास बैंकका उपमहाप्रबन्धक मिनराज पोखरलेले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर यो सहयोग गरिएको र यो सहयोगले प्रहरी प्रशासनवाट जनतालाई प्रवाह हुने शान्ति सुरक्षा लगायतका सेवा प्रवाह कार्यमा सहयोग पुग्ने विश्वास लिएको जनाए ।
यसै गरी प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बैंक तथा विभिन्न सामाजिक संस्था र सहयोगि हातहरुले सुरक्षा निकाय प्रति गरेको सहयोगले समग्र प्रहरीहरुको आत्मबल बढ्ने र प्रत्यक्ष नागरीकहरुलाई दिइने शान्ती सुरक्षा कायम गर्न टेवा पुग्ने बताउँदै विपतको घडीमा प्रहरी वृत्तलाई सहयोग गर्ने सबै संस्था तथा निकायलाई हार्दिक आभार व्यक्त गरिन् ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धकद्धय मिनराज पोखरेल र सुशिल हुमागाई, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल,वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, बागमती प्रदेश कार्यालय काठमाडौका वरिष्ठ शाखा प्रमुख अनिल कुमार पोखरेल, शाखा अधिकृत हरिराज थपलिया तथा बैंकको थानकोट शाखाका प्रबन्धक दील बहादु श्रेष्ठको उपस्थिति रहेको थियो भने थानकोट प्रहरी वृत्तको तर्फबाट बृत्त प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरी,प्रहरी वरिष्ठ नायब निरीक्षकद्वय अमृत भँडेल र ओमकार चन्द एवम् प्रहरी निरीक्षक दिपेन्द्र थापा लगायतका प्रहरी कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

नेशनल लाईफले दियो कोशीका अभिकर्ताहरुलाई तालिम

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ ।
प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका १२० जना अभिकर्ताहरुलाई ईलामको फिक्कल स्थित होटल एकोममा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले बीमा क्षेत्र कै चर्चित उपाधि एमडिआरटिको लक्ष्य पूरा गर्ने उपायका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।
कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरुलाई आप्mनो पेशामा उत्कृष्टता हासिल गर्नका लागि कम्पनीले विभिन्न योजनाहरु मार्फत प्रशिक्षण प्रदान गर्दै आइरहेको परिप्रेक्षमा मासिक योजना मन्थन २०८२ जारी गरिएको जनाए ।
कोशी प्रदेशमा रहेका विभिन्न शाखामा रहि उत्कृष्ट कार्य गरी शाखा स्तरिय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई पोलिसी सर्भिसिङ्ग विभाग प्रमुख सुस्मिता राणाले मायाको चिनो प्रदान गरेका थिए ।
सहाभागी अभिकर्ताहरुले आफ्नै क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिने अवसर जुराई दिएकोमा कम्पनी प्रति हार्दिक आभार व्यक्त गरेका थिए भने सम्मानित हुने अभिकर्ताहरुले सम्मान प्राप्त गर्दा आफुले गरेको मेहेनत कदर भएको जनाएका थिए ।

मनाङमा तीन जना मात्र उम्मेदवार

काठमाण्डौं । हिमाली जिल्ला मनाङमा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ तीन जना मात्र चुनावी मैदानमा छन् ।
एक क्षेत्र मात्र रहेको मनाङमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र मङ्गोल नेशनल अर्गनाइजेसनका उम्मेदवार मात्र निर्वाचनमा भाग लिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको पाँचकुने रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चुनाव चिन्हमा मात्रै मतदान हुनेछ ।
नेपाली कांग्रेससका टेकबहादुर गुरुङ, नेकपाका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ चुनावी मैदानमा छन्।
नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि मैदानमा तीन जना उम्मेदवार मात्र रहेका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए।
‘निर्वाचनका लागि पाँच दलबाट उम्मेदवारी परेकामा दुई दलले उम्मेदवारी फिर्ता लिएपछि मतपत्रमा तीन वटा चिन्ह मात्रै रहने भएको पनि उनले जनाए ।
मनाङमा कूल सात हजार मतदाता छन्। देशकै सबैभन्दा कम मतदाता रहेको यस जिल्लामा एक अस्थायीसहित २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। यहाँको निर्वाचन सम्पन्न गर्न १७१ जना कर्मचारी खटाइएको छ ।

अमेरिकामा भीषण हिमआँधी ः तीन जनाको मृत्यु

वासिङ्टन डिसी । शक्तिशाली हिमआँधीका कारण अमेरिकाको जनजीवन नराम्ररी प्रभावित भएको छ। टेक्ससदेखि न्यू इङ्गल्याण्डसम्म फैलिएको यो आँधीका कारण १० लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको छ भने अहिलेसम्म लुजियाना र टेक्ससमा गरी कम्तीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।
राष्ट्रिय मौसम सेवाले हिउँ, बरफ र ठिहिर्‍याउने वर्षाका कारण आगामी केही दिनसम्म अवस्था जीवनकै लागि घातक हुन सक्ने चेतावनी दिएको छ।
आँधीका कारण यातायात क्षेत्रमा ठूलो असर परेको छ। अहिलेसम्म १० हजारभन्दा बढी उडानहरू रद्द भएका छन् भने सडकहरूमा हिउँ र बरफ जमेका कारण यात्रा असुरक्षित बनेको छ। भर्जिनिया राज्यमा मात्रै २०० भन्दा बढी सवारी दुर्घटनाहरू रिपोर्ट गरिएका छन्। अमेरिकाको आधाभन्दा बढी जनसङ्ख्या अर्थात् करिब १८ करोड मानिस यो प्रतिकूल मौसमबाट प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ।

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट, नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै

काठमाण्डौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो अन्तिम समूह खेलमा नेपालले सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुने यो निर्णायक खेल बिहान ९ बजे सुरू हुनेछ। सुपर सिक्स चरणमा पुग्न नेपाललाई स्कटल्यान्डविरूद्ध फराकिलो अन्तरको जित आवस्यक छ। यद्यपि जितले मात्र नेपाललाई अघि बढाउने निश्चित छैन।
समूह बी अन्तर्गत थाइल्यान्ड र नेदरल्यान्ड्सबीच हुने अर्को खेलको परिणामले पनि नेपालको यात्रामा प्रत्यक्ष प्रभाव पार्नेछ।
यदि नेपालले स्कटल्यान्डलाई पराजित गर्‍यो र नेदरल्यान्ड्सले थाइल्यान्डलाई हरायो भने नेपालको सुपर सिक्स सम्भावना केही बलियो हुनेछ। तर यस अवस्थामा पनि राम्रो नेट रन रेट अपरिहार्य हुनेछ।
यता नेपालले स्कटल्यान्डमाथि विजय हासिल गर्दा थाइल्यान्डले नेदरल्यान्ड्सलाई हराएमा नेपाल र स्कटल्यान्ड दुवैको समान ४ अंक हुनेछ।
त्यस परिस्थितिमा पनि छनोटको टुंगो नेट रन रेटकै आधारमा लाग्नेछ। हाल स्कटल्यान्डको रन रेट नेपालभन्दा बलियो रहेकाले नेपाली टोलीलाई ठूलो अन्तरको जित आवश्यक पर्नेछ।
तर नेपाल स्कटल्यान्डसँग पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ। त्यस्तो अवस्थामा स्कटल्यान्ड र थाइल्यान्ड सुपर सिक्समा पुग्नेछन् भने नेदरल्यान्ड्स यसअघि नै सुपर सिक्समा पुगिसकेको टोली हो।
थाइल्यान्ड र नेदरल्यान्ड्ससँग लगातार दुई खेलमा पराजित भएको नेपालले जिम्बाब्वेलाई पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको थियो।
समूह बीको दोस्रो स्थानमा रहेको स्कटिस टोलीले नेदरल्यान्ड्संग हार बेहोर्दा प्रतियोगिताको सुरुवात गरे पनि त्यसपछि जिम्बाब्वे र थाइल्यान्डलाई पराजित गरेको थियो। आईसीसी महिला टी–२० अन्तर्राष्ट्रिय वरियतामा स्कटल्यान्ड ११औं स्थानमा रहँदा नेपाल २१औं स्थानमा छ ।
प्रतियोगिताअघि सम्पन्न अभ्यास खेलमा नेपाल २७ रनले पराजित भएको थियो।

रेशम चौधरीको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, छलफलमा बोलावट

काठमाण्डौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीले उम्मेदवारी दर्ता खारेजविरुद्ध परेको रिटमा सर्वोच्चले आईतबार अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी त्यसविरुद्ध सर्वोच्च अदालत गएका हुन् ।
अदालतले आईतबारै अन्तरिम आदेश नदिए पनि अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाऊ आदेश जारी गर्ने र अन्तरिम आदेशको छलफलमा बोलाउने आदेश गरेको छ ।
राष्ट्रपतिबाट माफी मिनाहा पाए पनि कसूर र कैदको अभिलेख कायमै हुने भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो । उनले कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए ।

मुद्दा दायरपछि रवि विरूद्व फेला परेका प्रमाण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि फेला परेका प्रमाण झिकाउन आदेश दिएको छ ।
आज न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले फेला परेका प्रमाण झिकाउन आदेश दिएको हो।

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा एमालेकी लीला भण्डारी विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिमबाट महिलातर्फ एमालेकी लीला भण्डारी विजयी भएकी छिन् । उनले ३ हजार ९९४ मत ल्याउँदै विजय हासिल गरेकी हुन् ।
उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६७५ मत प्राप्त गरिन्। सुदूरपश्चिमबाट राष्ट्रिय सभाको २ सदस्य चयनका लागि मतदान भएको थियो।
खुलातर्फको लागि नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेपाली कम्युनिस्ट पार्टीका टीकाराम जैसी उम्मेदवार छन्।

लेटेष्ट समाचार

चितवनमा दुर्गा प्रसाईका कार्यकर्ता र प्रहरीबीच झडप

चितवन । चितवनमा दुर्गा प्रसाईँका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज प्रसाईँ पक्षको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएको हो । भरतपुरको साझा...

समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाइयो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारको नाम हटाएको हो । आयोगले कर्जा सूचना केन्द्रको...

रवि लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सोमबार ‘हेर्न नभ्याइने’ भएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान...