काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचनसंग सम्बन्धित आम्दानी तथा खर्चका लागि छुट्टै बैंक खाता खोल्न राजनीतिक दल ता उम्मेदवारहरुलाई निर्देशन दिएको छ ।
नेपाल आमनिर्वाचनसँग सम्बन्धित आम्दानी–खर्चको कारोबार पारदर्शी बनाउन राजनीतिक दल, तिनबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिकसहित) तथा स्वतन्त्र उम्मेदवारका लागि छुट्टै खाता खोल्न निर्देशन दिएको हो ।
निर्वाचन आयोग नेपालको अनुरोधमा यो व्यवस्था लागू गरिएको राष्ट्र बैंकले जनाएको छ ।
निर्वाचन खर्चसम्बन्धी उक्त खाता निर्वाचन आयोगले बन्द गर्न निर्देशन नदिएसम्म सञ्चालन गर्न सकिनेछ। खाता खोल्नका लागि निर्वाचन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयको सिफारिस अनिवार्य हुने जनाइएको छ ।
राष्ट्र बैंकका अनुसार निर्वाचन अभियान समूह वा त्यससँग मिल्दोजुल्दो नाममा नेपाली मुद्रा (रुपियाँ–पैसा) मा हुने आम्दानी तथा खर्चको सम्पूर्ण कारोबार यही खातामार्फत गर्नु पर्नेछ ।
यस क्रममा राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ अन्तर्गत प्राकृतिक व्यक्तिको नाममा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाइने व्यवस्था निर्वाचन आयोगले खाता बन्द गर्न निर्देशन नदिएसम्मका लागि शिथिल गरिएको स्पष्ट पारिएको छ।
यो व्यवस्था “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा लागू हुनेछ। निर्वाचन खर्चलाई व्यवस्थित, पारदर्शी र निगरानीयोग्य बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।













