काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा सुन चोरीको आरोपमा एक जनालाई प्रहरीले गोली हानेर गएराति पक्राउ गरेको छ ।
स्थानीय रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुन तथा गहना चोरी गरेको आरोपमा नेपालगञ्ज स्थायी घर भई हाल कलंकीमा बस्दै आएका प्रेम थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मंगलबार दिउँसो थारुले लामाको घरबाट करिब ३० तोला सुनचाँदीका गहनासहित कुल १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सामान चोरी गरेका थिए ।
घटनापछि प्रहरीले सक्रिय अनुसन्धान थालेको र चोरी भएको २४ घण्टाभित्रै अभियुक्तलाई पक्राउ गर्न सफल भएको जनाइएको छ ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार थारुलाई नागार्जुन–६ क्षेत्रबाट नियन्त्रणमा लिने क्रममा खुट्टामा गोली प्रहार गरिएको हो ।
गोली लागेर घाइते भएका थारुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सुन चोरीको आरोपितलाई प्रहरीले गोली हानेर समात्यो
टी–२० विश्वकपअघिको अन्तिम अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाल आज क्यानडासँग अन्तिम अभ्यास खेल खेल्दैछ ।
यूएईलाई सात विकेटले पराजित गर्दै उत्साह बढाएको नेपाली टोली क्यानडाविरुद्ध जित निकाल्दै विश्वकपमा आत्मविश्वाससहित प्रवेश गर्ने लक्ष्यमा छ ।
चेन्नईस्थित एमए चिदम्बरम मैदानमा हुने नेपाल–क्यानडा अभ्यास खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुनेछ । यसअघि मङ्गलबार भएको पहिलो अभ्यास खेलमा यूएईलाई सहजै हराउँदै नेपालले आफ्नो सकरात्मक संकेत दिएको थियो ।
विश्वकपअघि भारत र श्रीलङ्कामा खेलेका अभ्यास खेलबाट अनुभव बटुलेको नेपालले अब क्यानडाविरुद्धको खेललाई अन्तिम परीक्षणका रूपमा लिएको छ ।
नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । समूह ‘सी’ मा परेको नेपालका लागि यो विश्वकप ऐतिहासिक अवसर समेत हो, जहाँ दुई पटकको विश्व विजेता वेस्ट इन्डिज र एक पटकको विजेता इङ्ल्यान्डजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । समूहमा स्कटल्यान्ड र इटाली पनि रहेका छन् ।
नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्ने तालिका छ । नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । समूह चरणका सबै खेल मुम्बईमा हुनेछन्, जहाँ नेपाली टोलीका सबै खेलका टिकट अग्रिम रूपमा बिक्री भइसकेका छन् ।
सन् २०१४ र २०२४ पछि तेस्रो पटक विश्वकप खेल्न लागेको नेपालले यस संस्करणमा नयाँ इतिहास रच्ने लक्ष्य राखेको छ । कप्तान रोहित पौडेलको नेतृत्वमा युवा र अनुभवी खेलाडीको संयोजनसहित मैदान उत्रिएको नेपाली टोलीले शतप्रतिशत नतिजाका लागि खेल्ने प्रतिबद्धता जनाएको छ ।
विश्वकपका अन्य समूहहरूमा पनि भारत–पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका जस्ता दिग्गज टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । समूह चरणबाट शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन् ।
रवि आज चितवन जाँदै, फागुन १ देखि रवि–बालेनले देशव्यापी अभियान थाल्ने
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन जाँदै छन् ।
सभापति लामिछानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बिहीबार चितवन प्रस्थान जाने जनाएका छन् । उनी चितवन–२ बाट उम्मेदवारी दिएका हुन् ।
उनले सोमबार नै चितवन जान खोजेको भए पनि चिकित्सकले रोकेका उल्लेख गरेका छन् । उनको खुट्टाको घाउ पूर्ण निको भइसकेको छैन ।
उनी चितवन गए पनि लामिछाने केही समय घरदैलो अभियान नगर्ने र आफ्नै निवासमा भेटघाट र चुनावी रणनीति बनाउने छन् ।
सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले आगामी फागुन १ गतेबाट संयुक्त रूपमा देशव्यापी चुनावी अभियान थाल्ने छन् । रवि–बालेनले सातै प्रदेशका मुख्य सहर र चुनावी क्षेत्रहरूमा सम्बोधन गर्नेगरी कार्यतालिका तयार भएको छ ।
बालेन हाल निर्वाचन प्रचारप्रसारको क्रममा पूर्वी नेपालमा छन् । उनी झापा–५बाट उम्मेदवार बनेका छन् ।
रास्वपा नेतृ प्रतिभा रावलले फागुनमा सभापति लामिछाने र वरिष्ठ नेता शाह देश दौडामा हिँड्ने तय भइसकेको जनाईन ।
‘उहाँहरूले सातवटै प्रदेशमा पुग्नेगरी कार्यतालिका बन्दैछ,’ उनले भनिन् ।
यसअघि माघ ४ गते लामिछाने र बालेन एकसाथ जनकपुर गएर रास्वपाको पहिलो चुनावी सभामा भाग लिएका थिए ।
राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
काठमाडौँ । एक्सट्रिम इनर्जी ड्रिंक्स र नेपाल क्रिकेट संघ (क्यान) बीचको साझेदारीअन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगोअंकित नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ।
क्यान र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच जर्सी प्रायोजनसम्बन्धी दुई वर्षे सम्झौता माघ २ गते शुक्रवार सम्पन्न भएको थियो। सोही सम्झौताअनुसार तयार गरिएको नयाँ जर्सी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले बुधवार संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।
उक्त कार्यक्रममा नेपाल क्रिकेट संघका पदाधिकारी, राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी, एक्सट्रिम इनर्जी ड्रिंक्सका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेट, विशेषगरी महिला क्रिकेटको दीर्घकालीन विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। जर्सी प्रायोजनले खेलाडीहरूलाई प्रोत्साहन, आत्मविश्वास र व्यावसायिक वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
यस सहकार्यले टोलीको तयारी, मनोबल र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव मेहताले निजी क्षेत्रबाट प्राप्त सहयोगले नेपाली क्रिकेटको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने जनाएका छन्।
सार्वजनिक गरिएको नयाँ जर्सीले नेपाली महिला क्रिकेट टोलीको पहिचानलाई थप सशक्त बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति अझ बलियो बनाउने विश्वास पनि व्यक्त गरिएको छ।
यस अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक्सले भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी पुरुष टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपालको खेल हेर्न मैदान पुग्ने समर्थकहरूका लागि वाङखडे स्टेडियममा दुई हजार थान नेपाली क्रिकेट टोलीको जर्सी निःशुल्क वितरण गर्ने जानकारी दिएको छ।
राष्ट्रपति पौडेल जापानको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।
बुधबार जापान टोकियोस्थित नारिता विमानस्थलबाट राष्ट्रपति पौडेल नेपाल आएका हुन् ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आईतबार राति जापान गएका थिए । उनको टोली सोमबार जापान पुगेको थियो ।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले अयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भएर सम्बोधन गरेका थिए ।
टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट पनि गरेका थिए । भ्रमणकै क्रममा जापानका प्रधानमन्त्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
भ्रामक प्रचार रोक्न निर्वाचन आयोग र टिकटकबीच सम्झौता
काठमाडौं । निर्वाचन आयोग र टिकटकबीच सम्झौता भएको छ ।
आगामी प्रतिनिधिसभा निर्वाचन सम्बन्धी भ्रामक प्रचार रोक्न दुई पक्षबीच समझदारी भएको हो ।
निर्वाचन आयोगमा आयोजित कार्यक्रममा आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले समझदारीमा हस्ताक्षर गरे ।
सूर्यकुण्डको आईपीओमा २५ लाख बढीको आवेदन
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि आज २१ गतेसम्म निष्काशन गरेको आईपीओमा २५ लाख २१ हजार २ सय १० जनाको आवेदन पवरेको छ ।
बिक्री प्रबन्धकमा कुमारी क्यापिटलका अनुसार कम्पनीले ५ लाख ७२ हजार ४ सय ३१ कित्ताको लागि आवेदन माग गरेकोमा २ करोड ८७ लाख ८८ हजार ९ सय ४० कित्ता शेयरको लागि आवेदन परेको हो ।
दोस्रो चरणअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका कुल पाँच लाख ७२ हजार ४३१ कित्ता सेयर निष्काशन गरेको थियो ।
उक्त शेयर ५७ हजार २ सय ४२ जनाले १०–१० कित्ता र बाँकी १ जनाले ११ कित्ताका दरले पाउने छन् ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २१ करोड ५३ लाख रुपियाँ रहेको छ।
भविष्यलाई भाग्यमा होइन बिमाले सुरक्षित गर्नुपर्दछ
काठमाण्डौं । भविष्यलाई भाग्यमा होइन, बिमाले सुरक्षित गर्नुपर्छ भन्ने मान्यतालाई जीवनको मूल दर्शन बनाएकी दिल
माया तामाङ आज नेपाली समाजमा वित्तीय साक्षरताको एक शान्त तर प्रभावशाली अभियानको नाम
बनेकी छन्। धेरैका लागि बिमा अझै पनि जटिल प्रक्रिया, ठूलो प्रिमियम र सम्पन्न वर्गका लागि मात्र सीमित
विषयजस्तो देखिन्छ। तर यही भ्रम चिर्दै समाजका हरेक तह, वर्ग र समुदायसम्म बिमाको वास्तविक अर्थ र
महत्व पुर्याउने अभियानमा उनी निरन्तर लागिरहेकी छन्।
उनका लागि बिमा केवल वित्तीय उत्पादन होइन, चेतनाको विषय हो। एउटा दुर्घटना, रोग वा अकाल मृत्युले
कसरी सिंगो परिवारलाई आर्थिक रूपमा दशकौँ पछाडि धकेल्न सक्छ भन्ने अनुभव र बुझाइले उनलाई यो
क्षेत्रमा समर्पित बनाएको छ। उनी स्पष्ट शब्दमा भन्छिन् बिमा विलासिता होइन, करकाप होइन, यो जीवनको
आधार हो। आर्थिक सुरक्षाको आधारशिला बिना आत्मनिर्भर समाज सम्भव छैन भन्ने विश्वास उनको
अभियानको केन्द्रमा छ।
सिन्धुली जिल्लाको मरीन झाडीमा जन्मिएकी दिल माया आर्थिक र शैक्षिक सीमाबीच हुर्किइन्। त्यतिबेला
पढाइ आजको जस्तो सहज थिएन। विद्यालयसम्म पुग्नुपर्ने दूरी, सीमित साधन र पारिवारिक अवस्थाले
उनलाई बारम्बार चुनौती दियो। तर जीवनले कोरेको सीमालाई चेतनाको शक्तिले जित्न सकिन्छ भन्ने
विश्वासले उनलाई अघि बढायो। कठिनाइका बाबजुद उनले पढाइलाई निरन्तरता दिइन् र अहिले स्नातक
तहको अध्ययन पूरा गर्ने चरणमा छिन्।
कोभिड–१९ को महामारीले संसारलाई अनिश्चिततामा धकेलेको बेला उनले बिमा क्षेत्रमा प्रवेश गरिन्। त्यो
समय केवल पेशागत परिवर्तनको क्षण मात्र थिएन, जीवनप्रतिको दृष्टिकोण बदलिने मोड पनि थियो।
सुरुवातमा उनलाई बिमा के हो, यसको फाइदा के हो भन्ने विषयमा खासै जानकारी थिएन। लकडाउनका
दिनहरूमा जूम मिटिङमार्फत बिमाबारे सुन्दै जाँदा उनले पहिलो पटक बिमालाई आफ्नो जीवनसँग जोडेर बुझ्न
थालिन्।
त्यही क्रममा उनले आफूले कमाएको सानो आम्दानीबाट बिमा गर्दा आमाबुबालाई हकदार बनाउन सकिने
कुरा थाहा पाइन्। “भोलि मलाई केही भइहाल्यो भने मेरो बिमाको रकम बुवा–आमाले पाउनुहुन्छ,” भन्ने सोचले
उनलाई गहिरो रूपमा छोयो। त्यस क्षणदेखि बिमा उनको लागि केवल कागजी सम्झौता रहेन, पारिवारिक
जिम्मेवारी र प्रेमको प्रतीक बन्यो। यही भावनात्मक बुझाइले उनलाई बिमाप्रति सकारात्मक बनायो र यो
क्षेत्रलाई समाज परिवर्तनको माध्यमका रूपमा हेर्न सिकायो।
बुझ्दै जाँदा उनले बिमालाई एउटा जीवन पद्धतिका रूपमा स्वीकार गरिन्। बचत गर्ने बानी बसाल्ने,
जोखिमको सुरक्षा गर्ने, आवश्यक पर्दा कर्जाको सुविधा दिने र दीर्घकालीन योजना बनाउन सहयोग गर्ने
यस्तो संयन्त्र उनले अरू कतै देखेकी थिइनन्। उनका अनुसार बिमाले मानिसलाई अनुशासनमा बाँधेर
जीवनलाई सहज बनाउँछ। यही बुझाइले उनलाई अरूलाई पनि यो ज्ञान बाँड्नुपर्छ भन्ने निष्कर्षमा पुर्यायो र
उनी बिमा अभिकर्ता बन्न पुगिन्।
उनका लागि अरूलाई बुझाउनु भनेको व्याख्या गर्नु मात्र होइन, आफैं उदाहरण बन्नु हो। “अरूलाई खोलाको
गहिराइ बुझाउन चाहने हो भने पहिले आफैं खोलामा पसेर अनुभव गर्नुपर्छ,” भन्ने सोचका साथ उनले आफ्नै
जीवन बिमा गरिन्। आफू बिमित भएर मात्रै विश्वास जित्न सकिन्छ भन्ने मान्यताले उनलाई अझ जिम्मेवार
बनायो।
आज दिल माया तामाङको अभियान सहरका सीमामा सीमित छैन। उनी गाउँका किसान, मजदुर, घरेलु
महिला, साना व्यवसायी, एकल महिला, बाटोमा मकै बेच्ने महिला र वैदेशिक रोजगारीमा जाने युवासम्म पुगेर
बिमाको महत्व बुझाइरहेकी छन्। धेरैले “बचत छैन” भन्दै बिमाबाट टाढा भाग्ने गरेको देख्दा उनी सोच
परिवर्तन आवश्यक रहेको बताउँछिन्। सानो रकमबाट पनि बिमा सुरु गर्न सकिन्छ भन्ने सन्देश उनी निरन्तर
दिन्छिन्।
उनको बुझाउने शैली सरल र जीवनसँग जोडिएको छ। मोटरसाइकल किन्दा बिमा अनिवार्य हुन्छ भने, हाम्रो
अमूल्य जीवनलाई बिना बिमा उपेक्षित गर्नु बुद्धिमानी हो त ? यही प्रश्नले उनले धेरै मानिसको सोच बदल्न
सफल भएकी छन्। बिमा बेच्नु उनको लक्ष्य होइन, चेतना बाँड्नु उनको ध्येय हो।
उनको काम केवल बिमाको फाइदासम्म सीमित छैन। उनी आय–व्यय व्यवस्थापन, बचतको बानी, जोखिम
व्यवस्थापन र दीर्घकालीन योजना जस्ता विषयमा खुलेर कुरा गर्छिन्। आर्थिक रूपमा आत्मनिर्भर नभएसम्म
मानिस साँच्चिकै स्वतन्त्र हुन सक्दैन भन्ने विश्वासका साथ उनले बिमालाई आत्मनिर्भरताको पहिलो
खुड्किलोका रूपमा प्रस्तुत गर्दै आएकी छन्।
अरूलाई सिकाउनुअघि आफू उदाहरण बन्नुपर्छ भन्ने मान्यताअनुसार उनले आफैं करिब एक करोड रुपैयाँ
बराबरको जीवन बिमा गरेकी छन्। यसले उनको प्रतिबद्धता र विश्वासलाई अझ मजबुत बनाएको छ। बिमा
बाहेक, उनले महिलालाई लक्षित गर्दै तामाङ पहिरन उत्पादनको सानो उद्योग पनि सञ्चालन गरेकी छन्।
मौलिक संस्कृतिको जगेर्नासँगै बच्चा भएका महिलालाई रोजगारी दिने उद्देश्यले सुरु गरिएको यस उद्योगमा
अहिले १०–१२ जना महिला कार्यरत छन्, जसले उनको सामाजिक सोच र मानवीय संवेदनशीलतालाई स्पष्ट
देखाउँछ।
उनका अनुसार बिमा व्यवसाय इमान्दारिता र विश्वासमा आधारित हुनुपर्छ। ग्राहकको आय, परिवारको
अवस्था र आवश्यकताबिना बिमा गराउनु गलत हो भन्ने कुरामा उनी दृढ छिन्। एक पटक विश्वास टुटेपछि
यो पेशा नै समाप्त हुने भएकाले आफू यस विषयमा अत्यन्त सजग रहेको उनी जनाउँछिन।
केही वर्षअघि विवाह बन्धनमा बाँधिएकी दिल मायाकी अहिले १६ महिनाकी छोरी छिन्। आमा बनेपछि
बिमाको महत्व उनले अझ गहिरो रूपमा महसुस गरेकी छन्। बच्चाको भविष्यलाई “जे होला होला” भन्दै
भाग्यमा छोड्ने प्रवृत्तिप्रति उनी असहमत छिन्। उनको धारणा स्पष्ट छ,जुन जोखिमको समाधान सजिलै
सम्भव छ, त्यसमा भाग्यवादी हुनु हुँदैन। “जोखिमलाई भाग्यमा नछोडौँ, बिमाले सुरक्षित गरौँ,” भन्ने सन्देश
उनको जीवन दर्शन बनेको छ।
छोरीलाई काखमा लिएर भविष्यतर्फ हेर्दा, आफूले बिमा गरेर मात्र होइन, बिमा अभियन्ताको रूपमा धेरै
परिवारलाई जोखिमबाट सुरक्षित बनाउन पहल गरेकोमा उनलाई धेरै गर्व लाग्छ। उनका लागि बिमा
व्यवसाय होइन बरु आत्मनिर्भर, सुरक्षित र सचेत समाज निर्माणतर्फको निरन्तर यात्रा हो।
नेपालको ‘क्रिएटर इकोनोमी’लाई सशक्त बनाउन पाइलट प्रोजेक्ट सुरु गर्दै भिल
काठमाडौं । भिडिओ मार्केटिङ र क्रिएटर कोल्याबरेसनका लागि विश्वकै अग्रणी प्लेटफर्म भिलले नेपालमा आफ्नो पाइलट प्रोजेक्ट सुरु गर्ने भएको छ । काठमाडौंमा आयोजित क्रिएटर मेलाको एक प्यानल छलफलका क्रममा भिलका संस्थापक तथा सीईओ दीलिप ढकालले यस्तो घोषणा गरेका हुन् ।
भिलको यो प्रवेशले नेपाली डिजिटल क्रिएटरहरूलाई विश्वव्यापी मापदण्डसँग जोड्ने र नेपालको डिजिटल अर्थतन्त्रमा एउटा नयाँ कोसेढुङ्गो सावित हुने अपेक्षा गरिएको छ । अमेरिकी बजारमा स्थापित भइसकेको यो प्लेटफर्मले अब नेपाली व्यवसायीहरूलाई पनि ‘अथेन्टिक’ भिडिओ सामग्रीमार्फत आफ्नो बजार विस्तार गर्न सहयोग पुर्याउनेछ ।
भिलका सीईओ ढकालले आधुनिक क्रिएटर इकोनोमी केवल कन्टेन्ट निर्माणमा मात्र सीमित नभएर यो जीविकोपार्जन, विश्वास र मापनयोग्य प्रणालीसँग जोडिएको उनले जनाए । उनले भने, ‘नेपालमा अथाह सिर्जनशील प्रतिभाहरू छन् । हाम्रो पाइलट प्रोजेक्टले क्रिएटरहरूलाई उनीहरूको सीपबाट अर्थोपार्जन गर्न र ब्रान्डहरूलाई प्रमाणित क्रिएटरहरूसँग काम गर्न मद्दत गर्नेछ ।’
अमेरिकी दूतावासको पहलमा आयोजित यो मेलाले नेपाली क्रिएटरहरूलाई नयाँ विचार अन्वेषण गर्न र सीप विकास गर्न एउटा साझा मञ्च प्रदान गरेको छ । यो परियोजनाको मुख्य उद्देश्य नेपालको बढ्दो क्रिएटर इकोनोमीलाई सहयोग पुर्याउनु र ब्रान्ड तथा क्रिएटरहरूबिचको सम्बन्धलाई थप प्रभावकारी बनाउनु हो । यसले नेपाली क्रिएटरहरूलाई व्यावसायिक अवसरहरूसँग जोड्ने र उनीहरूको वृद्धिका लागि आवश्यक प्रणाली विकास गर्ने लक्ष्य राखेको छ । छलफलका क्रममा क्रिएटर इकोनोमीको विश्वव्यापी र नेपाली बजारको बारेमा केही रोचक तथ्याङ्कहरू प्रस्तुत गरिएका थिए ।
हाल विश्वभर क्रिएटर इकोनोमीको मूल्य २५० अर्ब डलर भन्दा बढी छ । नेपालमा यो क्षेत्र करिब ३ देखि ४ करोड अमेरिकी डलर बराबरको रहेको अनुमान गरिएको छ । तथ्याङ्क अनुसार नेपाली क्रिएटरहरूले वार्षिक रूपमा २ करोड ५० लाख डलरभन्दा बढी कमाइरहेका छन्, जसले नेपालमा यस क्षेत्रको उच्च सम्भावनालाई दर्साउँछ ।
सान फ्रान्सिस्कोकी यूजीसी क्रिएटर भ्यारोनिका कामाचोले छलफलमा भाग लिँदै क्रिएटरहरूले सामना गरिरहेका समस्याहरूको बारेमा चर्चा गरे । उनका अनुसार धेरैजसो क्रिएटरहरूले स्पष्ट कार्यक्षेत्रको अभाव, भुक्तानीमा ढिलाइ र मानक प्रक्रियाको कमी जस्ता समस्या भोगिरहेका छन् ।
कार्यक्रममा क्रिएटरहरूलाई दिगो आम्दानीका स्रोतहरू निर्माण गर्नका लागि आवश्यक सीपहरू विकास गर्न सुझाव दिइएको थियो । जसमा दर्शकलाई आकर्षित गर्ने कला स्टोरी टेलिङ, व्यावसायिक सहकार्यका लागि प्रभावकारी सञ्चार, ब्रान्डहरूसँग काम गर्दा अपनाउनुपर्ने व्यावसायिक मापदण्ड आदि रहेका छन् ।
नेपाल लाइफद्वारा इसेवासंगको सहकार्यमा ‘सुपर टर्म’ बीमा योजना सार्वजनिक
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवासंगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ शीर्षकमा म्यादी जीवन बिमा योजना सार्वजनिक गरेको छ ।
अप्रत्याशित घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना बजारमा ल्याएको हो । यस योजनाको मुख्य उद्देश्य बीमित व्यक्तिको अनुपस्थितिमा परिवारलाई दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्नु हो ।
जीवनको अनिश्चितता र बढ्दो आर्थिक दायित्वलाई मध्यनजर गर्दै तयार गरिएको यस योजनाले न्यून प्रिमियम दरमै उच्च बीमा सुरक्षा उपलब्ध गराउनेछ । विशेषगरी सीमित आम्दानी भएका तथा पहिलो पटक जीवन बीमा लिन चाहने वर्गका लागि यो योजना अत्यन्तै उपयोगी हुने अपेक्षा गरिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सुपर टर्म लाइफ इन्स्योरेन्स योजनाले संकटको समयमा परिवारलाई प्रर्याप्त आर्थिक सहारा प्रदान गर्ने जनाए । सहज, सुलभ तथा किफायती प्रिमियममा उपलब्ध यस योजनामार्फत सबै वर्गका नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउने लक्ष्यका साथ यो योजना सार्वजनिक गरिएको जनाए । जीवनमा आइपर्न सक्ने अनपेक्षित जोखिमबाट परिवारको भविष्य सुरक्षित गर्न यो योजना प्रभावकारी हुने जानकारी दिए ।
कम्पनीले बीमा साक्षरता अभिवृद्धि गर्दै आम नागरिकलाई वित्तीय सुरक्षाको दायरामा ल्याउने उद्देश्यका साथ नविन र ग्राहक–मैत्री बीमा योजनाहरू निरन्तर रूपमा पस्किदै आएको छ । ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ पनि सोही प्रतिबद्धताको एक महत्वपूर्ण कदमका रूपमा लिइएको छ । यस योजनाले परिवारको आर्थिक स्थायित्व सुनिश्चित गर्नुका साथै दीर्घकालीन वित्तीय योजना बनाउन नागरिकलाई प्रेरित गर्नेछ ।
यो १ वर्षे टर्म लाइफ इन्स्योरेन्स योजनाको प्रिमियम वार्षिक रु. ७२५ बाट सुरु हुनेछ र बिमितले रु. ५,००,००० देखि रु. २०,००,००० सम्मको जीवन बिमा सुरक्षा प्राप्त गर्न सक्नेछन् र १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकहरूले यो बीमा योजना लिन सक्नेछन् ।
‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ अन्तर्गत बिमितको आकस्मिक मृत्यु तथा दुर्घटनामा मृत्यु दुवै अवस्थामा बिमा सुरक्षा प्रदान गरिनेछ । यस योजनाले अकस्मात् हुने जोखिमको अवस्थामा परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्दै दैनिक जीवनयापन, ऋणको भार, तथा भविष्यका आवश्यकताहरूमा आर्थिक सहारा प्रदान गर्ने विश्वास लिइएको छ ।
ग्राहकहरूले यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सकिनेछन् र पोलेसी तुरुन्तै इमेलमार्फत प्राप्त हुनेछ ।

















