Page 9

मधेश प्रदेशमा उत्कृष्ट बीमा व्यवसाय गर्ने नेशनल लाइफ सिईओ क्लब सदस्यहरु सम्मानित

0

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मधेश प्रदेशमा उत्कृष्ट बीमा व्यवसाय गरी सिईओ क्लव सदस्य बिजेता बनेका बीमा अभिकर्ताहरुलाई हिजो एक भव्य कार्यक्रमका बीचमा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका सिईओ सुरेश खत्रीको उपस्थितिमा जनकपुरस्थित मिथिला यात्रीमा भव्य समारोहका बीचमा सिईओ क्लव बिजेताहरुलाई सम्मान गरिएको हो ।
आर्थिक वर्ष २०८१, ८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट सिईओ क्लव सदस्य चयन भएका ७७ जना अभिकर्ताहरु सहित विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं मधेश प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सदस्यता वितरण तथा सम्मान गरेका थिए । नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरे । सोही कार्यक्रममा मधेश प्रदेशबाट आफ्नो कोड र संजालमा प्रथम द्वित्तिय र तृत्तिय हुन सफल उत्कृष्ट अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
सम्मानका क्रममा, प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै सबै तहका अभिकर्ताहरुको लागि अभिकर्ता मैत्री योजना ल्याउने क्रममा बार्षिक रुपमा प्रदेश स्तरिय कार्यक्रम गर्ने गरी सिइओ क्लबको अवधारणा ल्याएको र यस अवधारणा अन्तर्गत सिइओ क्लबमा नेपालभरबाट १६०० जना भन्दा बढि अभकिर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको जानकारी दिए । साथै उनीहरुलाई बधाई ज्ञापन गर्दै अझै बीमा व्यवसायमा अभिप्रेरित गरेका थिए ।
सो समारोहमा उपस्थित अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले व्यवसायिक दक्षता अभिवृद्धि गर्ने सम्वन्धमा विभिन्न उदाहरण मार्फत महत्वपूर्ण तालिम प्रदान गरेका थिए । यसैगरी सो प्रदेशबाट उत्कृष्ट हुने अभिकर्ताहरु मध्ये जनकपुर शाखाका लक्ष्मण पण्डित र लाहान शाखाका श्याम चन्द्र राईले आफ्नो व्यवसायिक अनुभव व्यक्त गरेका थिए ।

महाशिवरात्रिमा यस्तो छ ट्राफिक व्यवस्थापन

0

काठमाण्डौं । महाशिवरात्रि पर्वका लागि पशुपतिमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको पर्वलाई व्यवस्थित, सुरक्षित र श्रद्धालुमैत्री बनाउन बहुआयामिक योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।
महाशिवरात्रि पर्व आइतबार मनाइँदैछ ।
कोषका कार्यकारी निर्देशक एवम् प्रवक्ता सुभाष जोशीका अनुसार महाशिवरात्रिका दिन कम्तीमा आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ भने झन्डै चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा छ ।
दर्शनार्थीको लागि चार वटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाइएको तथा सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको कोषले जनाएको छ ।
अरु तयारीसँगै प्रहरीले पनि भिड व्यवस्थापनको योजना बनाएको छ । पशुपति क्षेत्र आसपास गाडी आवागमनमा विशेष व्यवस्थापन गरिनेछ ।
काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दर्शनार्थीलाई सहज रूपमा आवत–जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापन मिलाएको छ ।
झन्डै आठ लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमानअनुसार पशुपति दर्शन गर्न पुग्नेहरुको गाडीका लागि निश्चित ठाउँमा पार्किङको व्यवस्था गरिएको छ ।
गौशाला क्षेत्र भई चक्रपथमा चल्ने गाडी भिडभाड हेरेर सञ्चालन गर्न नसक्ने अवस्था आए मात्रै गौशाला क्षेत्रमा आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको तयारी छ । चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा गाडी चलाउने व्यवस्था मिलाइएको छ । तर आवागमनमा कुनै समस्या हुने अवस्थामा भने डाईभर्सन गरी वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाउने योजना छ ।
तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक गाडीलाई निषेध गरिएको छ । बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउनेलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।
गौशाला चोकमा भिडभाड धेरै भई गाडी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्नेलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने योजना छ ।

शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा प्रचण्ड

0

काठमाण्डौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ तात्कालिन नेकपा (माओवादी) को ऐतिहासिक बैठक स्थल चुनबाङको भेरीडाँडा पुगेका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार प्रचण्डले मतदाता भेटघाटको क्रममा शनिबार माओवादीको केन्द्रीय समितिको बैठक स्थलको भ्रमण गरेका हुन् ।
२०६२ को असोजमा माओवादीको केन्द्रीय समितिको बैठक चुनबाङमा बसेको थियो। उक्त बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेर संसदवादी राजनीतिक दलसँग सहकार्यको बाटो खोलेको थियो। माओवादीको ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ जनामा झारेको थियो। त्यो बैठकलाई ऐतिहासिक मानिन्छ।
संयोजक प्रचण्डले चुनबाङ बैठक स्थल, आफू र पत्नी सीता बसेको कोठा, छोरा प्रकाश दाहाल र अन्य नेताहरू बसेको घर र कोठाको अवलोकन गरे ।
आफ्ना पत्नी र छोराका बारेमा राखिएका जिज्ञासामा भावुक भएका प्रचण्डले नेपाली क्रान्तिमा उहाँहरूको योगदान रहेको संक्षिप्त प्रतिक्रिया दिए ।
मतदाता भेटघाट र बैठक स्थलको भ्रमणको क्रममा चुनबाङ बैठकले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्तितर्फ लगेको उनले जनाए। उनले रुकुम क्रान्तिको सुरुआत र गणतन्त्रमार्फत शान्ति स्थापना गर्ने जिल्ला रहेको पनि जनाए ।
प्रचण्ड मतदाता भेटघाटका लागि तीनदिनदेखि रूकुम पूर्वमा छन् । रुकुम पूर्व लुम्बिनी प्रदेशको एक मात्र पहाडी जिल्ला हो ।

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आग्रह

0

काठमाडौं । नेकपा (एमाले) ले लोकप्रियतावादको भ्रमबाट सचेत रहन आह्वान गरेको छ । फागुन २१ गते हुने निर्वाचनमा लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेले आग्रह गरेको हो ।
एमालेले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्न सक्ने यथार्थप्रति सचेत रहन एमालेले अपिल गरेको छ ।
राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहने एमालेले प्रष्ट पारेको छ ।
एमाले सबै मतदातासमक्ष लोकप्रियतावादको भ्रमबाट सचेत रहँदै विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखेर विवेकपूर्ण ढंगले मताधिकारको प्रयोग गर्न पनि भनेको छ ।
“विश्वभरका धेरै र दक्षिण एसियाका केही देशहरू लोकप्रियतावादको गम्भीर समस्या सामना गरिरहेको यथार्थता हाम्रा अगाडि स्पष्ट छ,” एमालेले विज्ञप्तिमा भनेको छ, “स्थायित्व, विकास र समृद्धिको दीर्घकालीन मार्ग चयन गर्नु नै राष्ट्र र जनताको हितमा हुनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।”

फेवातालबाट राइफलसहित १८ राउण्ड गोली बरामद

0

पोखरा । पोखराको फेवातालबाट राइफलसहित १८ राउण्ड गोली बरामद भएको छ ।
महानगरपालिका–१८ खपौदीस्थित तालमा स्थानीय ४२ वर्षीय कुमार जलारीले जाल हान्दा लोड गरिएको अवस्थाको एक थान ‘सेल्फ लोडिङ राइफल’ (एसएलआर) फेला परेको हो ।
तालमा माछा मार्ने क्रममा जालमा गह्रौँ वस्तु अड्किएपछि तान्दा हतियार देखिएको भन्दै जलारीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार बरामद हतियारमा ‘मु वा १११ (बट) नम्बर बडी नं. १३८१०’ उल्लेख छ।
हतियारबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने

0

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि फागुन ३ गते ‘प्रतिज्ञापत्र’ ल्याउने भएको छ।
प्रतिनिधि सभाको निर्वाचनका लागि फागुन ३ मा प्रतिज्ञापत्र सार्वजनिक गर्न लागिएको कांग्रेस प्रवक्ता देवराज चालिसले जानकारी दिए। कांग्रेसले निर्वाचन घोषणापत्रलाई प्रतिज्ञापत्र भनेको छ।
कांग्रेस सभापति गगन थापाले केन्द्रीय कार्यालय, सानेपामा प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएका छन्। आगामी चुनावका लागि प्रतिज्ञापत्र तयार भइसकेको चालिसेले जानकारी दिए।

रास्वपाले फागुन ७ गते वाचापत्र सार्वजनिक गर्ने

0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन ७ गते आफ्नो वाचापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका तयारीका क्रममा पार्टीले सो मितिमा वाचापत्र प्रस्तुत गर्ने भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
महामन्त्री बुर्लाकोटीले भने, “फागुन ७ गते हाम्रो वाचापत्र सार्वजनिक हुने छ र त्यसअनुसार पार्टीले तयारी पूरा गरिसकेको छ।”
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र घोषणापत्र वा वाचापत्र सार्वजनिक गर्न सूचना जारी गरेको थियो। अहिलेसम्म केही प्रमुख दलहरूले आफ्नो वाचापत्र सार्वजनिक गरिसकेका छन्।

सरकारले माघसम्ममा उठायो ६ खर्ब ६९ अर्ब राजस्व

0

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२, ८३ को माघ २९ गतेसम्म नेपाल सरकारको कुल राजस्व संकलन ६ खर्ब ६९ अर्ब ३२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यो रकम वार्षिक लक्ष्यको करिब ४५.२२ प्रतिशत हो । माघ महिनासम्मको लक्ष्यको ८२.२६ प्रतिशत हो ।
अर्थ मन्त्रालयअन्तर्गत राजस्व व्यवस्थापन सूचना प्रणाली तथा महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार चालु आवका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरिएको छ । माघ मसान्तसम्म ८ खर्ब १३ अर्ब ६३ करोड १२ लाख रुपैयाँ लक्ष्य राखिएकामा ६ खर्ब ६९ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ संकलन भएको हो ।
कर राजस्वतर्फ ५ खर्ब ९९ अर्ब ३१ करोड ४६ लाख रुपैयाँ संकलन भएको छ । यसमध्ये सबैभन्दा बढी योगदान आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क तथा भन्सार महसुलबाट आएको छ । आयकरबाट १ खर्ब ५८ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करबाट १ खर्ब ९६ अर्ब ४४ करोड १७ लाख रुपैयाँ र अन्तःशुल्कबाट १ खर्ब ५ अर्ब ४३ करोड ६० लाख रुपैयाँ राजस्व उठेको छ ।
भन्सार विभागमार्फत २ खर्ब ७८ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ संकलन भएको छ, जुन वार्षिक लक्ष्यको ४७.३३ प्रतिशत हो । यस्तै आन्तरिक राजस्व विभागतर्फ ३ खर्ब २० अर्ब ८८ करोड ६५ लाख रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ४३.५२ प्रतिशत हो ।
गैरकर राजस्वतर्फ ६५ अर्ब ७१ करोड ३ लाख रुपैयाँ उठेको छ, जुन लक्ष्यको ४२.५५ प्रतिशत हो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र राजस्व संकलनमा करिब २.८३ प्रतिशतले वृद्धि भएको देखिएको छ । सरकारका अनुसार आगामी महिनाहरूमा राजस्व परिचालनलाई थप प्रभावकारी बनाउँदै वार्षिक लक्ष्य हासिल गर्ने दिशामा पहल गरिनेछ ।

नबिल बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

0

काठमाडौं । नबिल बैंक लिमिटेडले १ लाख २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। संस्थापक शेयरधनी जीत बहादुर श्रेष्ठको ५० हजार कित्ता, जिज्ञाशा अर्यालको ५० हजार कित्ता र जश श्रेष्ठको २५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।
जसमध्ये जश श्रेष्ठको नाममा रहेको २५ हजार कित्ता शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३०१.१० रुपैयाँ तोकिएको छ भने बाँकी शेयरको कुनै मूल्य तोकिएको छैन। यस अघि संस्थापक शेयरधनीलाई प्राथमिकता दिइसकिएकाले अब भने सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।
शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले काठमाडौंको नक्साल, नारायणचौरस्थित बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडमा शेयर आवेदन फाराम प्राप्त गरी छुट्टाछुट्टै गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र आगामी ७ दिनभित्र पेश गरिसक्नु पर्ने बैंकले जनाएको छ।

सुपर खुदी हाइड्रोको आईपीओ फागुन ५ बाट निष्काशन खुला

0

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ५ गते सोमबारदेखि १० गते आइतबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । यसअघि फागुन ४ गतेबाट निष्काशन खुला गर्ने भनिए पनि उक्त मिति एक दिन पछि सारिएको हो ।
यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत बराबर हुने ३१ करोड रुपियाँको ३१ लाख कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको थियो । सोअनुसार पहिलो चरणमा १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र १ लाख ५५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ । साथै, ७७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि पनि छुट्याइएको छ ।
अब दोस्रो चरणमा कम्पनीले आफ्ना कर्मचारीहरूका लागि ३१ हजार कित्ता सेयर सुरक्षित गरी बाँकी १२ लाख ८६ हजार ५०० कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागेको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
उक्त कम्पनीको शेयर १ लाख २८ हजार ६ सय ५० जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

लेटेष्ट समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा...

भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

काठमाण्डौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् । लामो...