काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ५ गते सोमबारदेखि १० गते आइतबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । यसअघि फागुन ४ गतेबाट निष्काशन खुला गर्ने भनिए पनि उक्त मिति एक दिन पछि सारिएको हो ।
यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत बराबर हुने ३१ करोड रुपियाँको ३१ लाख कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको थियो । सोअनुसार पहिलो चरणमा १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र १ लाख ५५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ । साथै, ७७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि पनि छुट्याइएको छ ।
अब दोस्रो चरणमा कम्पनीले आफ्ना कर्मचारीहरूका लागि ३१ हजार कित्ता सेयर सुरक्षित गरी बाँकी १२ लाख ८६ हजार ५०० कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागेको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
उक्त कम्पनीको शेयर १ लाख २८ हजार ६ सय ५० जनाले १०–१० कित्ताका दरले पाउने छन् ।













