Page 14

प्रधानमन्त्री शाहले आज एकसाथ २० देशका राजदूतलाई भेट्दै

काठमाडौं । चल्दै आएको अभ्यासलाई तोड्दै प्रधानमन्त्री बालेन्द्र शाहले आज (चैत २५) एकसाथ २० देशका राजदूतसँग भेटवार्ता गर्दै छन् ।
ती राजदूतहरूले प्रधानमन्त्री शाहसँग सामूहिक शिष्टाचार भेटवार्ता गर्न लागेका हुन् । भेटवार्ता बुधबार दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ ।
यसअघि प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट्ने अभ्यास रहेको थियो । ूप्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ,ू प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ दिपा दाहालले सामाजिक सञ्जालमा लेखेकी छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, अमेरिकी, भारतीय, चिनियाँ बेलायती, जापानी, युरोपेली युनियन लगायतका राजदूतहरूले आज सामूहिक रूपमा प्रधानमन्त्री भेट्ने छन् ।
भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् ।
यो एउटा कूटनीतिक ब्रिफिङ जस्तै हुनेछ, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । सामूहिक भेटवार्तामा प्रधानमन्त्री शाहले देशको पछिल्लो अवस्थाबारे जानकारी गराउनेछन् ।

इरानसँग दुई हप्ता युद्धविराम गर्न अमेरिका सहमत, स्थायी शान्तिका लागि इस्लामाबादमा वार्ता तय

काठमाण्डौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गर्न सहमत भएका छ ।
स्ट्रेट अफ हर्मुज तुरुन्त खोल्ने शर्तमा यस्तो सहमति भएएको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जनाएका छन् ।
ट्रम्पले लेखेका छन्, ‘इरानले वार्ताका लागि व्यावहारिक आधार प्रस्तुत गरेको छ ।’ उनले इरानको १० बुँदे शान्ति योजनाले फेब्रुअरी २८ देखि सुरु भएको युद्ध अन्त्य गर्न मद्दत गर्ने आशा व्यक्त गरेका छन् । ‘दुई हप्ताको अवधिमा सम्झौतालाई अन्तिम रूप दिइनेछ र यसबीच इरानमाथिको बमबारी स्थगित गरिनेछ,’उनले लेखेका छन् ।
ट्रम्पका अनुसार यो युद्धविराम दुईपक्षीय हुनेछ, जसमा अमेरिका र इरान दुवैले आक्रमण रोक्नेछन् । यससँगै इजरायलले पनि अस्थायी रूपमा आफ्नो सैन्य कारबाही रोक्न सहमति जनाएको ह्वाइट हाउसले जनाएको छ ।
यसका साथै राष्ट्रपति ट्रम्प इरानका पुल, पावर प्लान्ट र नागरिक लक्ष्यहरूमा आक्रमण गर्ने आफ्नो कडा धम्कीबाट पछि हटेका छन् ।
यो सहमति पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफको पहलपछि भएको हो । पाकिस्तानी प्रधानमन्त्री सरिफले अमेरिका र इरानबीच कूटनीतिक वार्ताका लागि दुई हप्ताको समय दिन युद्धविराम प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जालमा युद्धविरामको स्वागत गर्दै दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले विवाद समाधानका लागि निर्णायक सम्झौता गर्न वार्ता तय गरिएको जनाए। दुवै पक्षले उल्लेखनीय बुद्धिमत्ता प्रदर्शन गरेको भन्दै उनले ‘इस्लामाबाद वार्ता’ सफल हुने आशा राखेका छन ।
यसबीच, इरानले भने आफूले अमेरिका माथि ठूलो विजय हासिल गरेको दाबी गर्दै १० बुँदे प्रस्ताव स्वीकार गरेको जनाएको छ ।
ट्रम्पले पनि यो प्रस्ताव वार्ताका लागि उपयुक्त आधार भएको जनाएका छन् ।
युद्धविराम घोषणासँगै अमेरिकी शेयर बजार उकालो लागेको छ भने कच्चा तेलको मूल्य घटेको छ । विश्लेषकहरूका अनुसार यो कदमले मध्यपूर्वमा दीर्घकालीन शान्ति स्थापनाको सम्भावना बढाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने चेतावनीसहित दिएको कडा समयसीमा सकिदै गर्दा यो सहमति बनेको हो । यसअघि ट्रम्पले इरानलाई चेतावनी दिँदै हर्मुज जलमार्ग नखोलेमा कडा आक्रमण गर्ने अल्टिमेटम दिएका थिए ।
ट्रम्पले इरानले सम्झौता नगरे ‘आज राति सम्पूर्ण सभ्यता मर्नेछ’ भन्दै चेतावनी दिएका थिए । युद्धविरामको यो दुई हप्ताको अवधिमा वार्ता सफल भएमा यसले स्थायी शान्तिको बाटो खोल्ने विश्वास गरिएको छ ।
युद्धका क्रममा हालसम्म इरानमा दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले एक करोड ४० लाख इरानीहरू जीवन बलिदान दिन तयार रहेको जनाएका थिए ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्ने कार्यसूची छ ।

इरानलाई ट्रम्पको धम्की– आज राति एउटा पूरै सभ्यता मर्नेछ, म त्यो चाहन्न तर सायद हुनेछ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति इरानको सम्पूर्ण सभ्यताको अन्त्य गर्ने धम्की दिएका छन् । उनले इरानमा ४७ वर्षको दमन, भ्रष्टाचार र मृत्युको अन्ततः अन्त्य हुने घोषणा गरेका हुन् ।
ट्रम्पको चेतावनीसँगै आज राति इरानमाथि ठूलो आक्रमण हुने संकेत देखिएको छ । एकदिन अघि मात्र ट्रम्पले इरानलाई रातारात ध्वस्त पार्न सकिने र त्यो सम्भवतः मंगलबार राति पनि हुनसक्ने जनाएका थिए ।
ट्रम्पको यो धम्की इरानले तीव्र आक्रमणको सामना गरिरहेको बेला आएको हो । अमेरिकाले आजै (मंगलबार) इरानको खार्ग टापुमा पनि धेरै आक्रमण गरेको छ ।
आफ्नो सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले भनेका छन्– आज राति एउटा पूरै सभ्यता मर्नेछ, फेरि कहिल्यै फिर्ता ल्याइने छैन । म त्यो चाहन्न, तर सायद यो हुनेछ ।

रास्वपाको पारदर्शिताको वाचाप्रति उठ्न थाल्यो प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावअघि सार्वजनिक पद सम्हाल्नुअघि सम्पत्ति विवरण सार्वजनिक गर्ने वाचा गरे पनि त्यसको कार्यान्वयनमा ढिलाइ देखिएको भन्दै प्रश्न उठ्न थालेको छ।
हालसम्म मन्त्रिपरिषद्का सदस्यमध्ये अर्थमन्त्री स्वर्णिम वाग्लेले मात्रै सम्पत्ति विवरण बुझाएका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्याल का अनुसार कानुनले ६० दिनभित्र विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ।
तर उक्त विवरण सार्वजनिक गर्नु अनिवार्य भने नरहेको उनले जनाएका छन्। यसैबीच, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका प्रमुख मदनकृष्ण शर्माले वाचा पूरा नभएकोमा चिन्ता व्यक्त गरे। उनका अनुसार पारदर्शिताको प्रतिबद्धता जनतासँग गरिएको करार सरह भएकाले पालन गर्नुपर्ने हुन्छ। रास्वपाका प्रवक्ता मनीष झाले भने यस विषयमा पार्टी र सरकारलाई ध्यानाकर्षण गराइने जनाएका छन्।
कानुनअनुसार विवरण बुझाउनुपर्ने भए पनि सार्वजनिक गर्ने विषय मन्त्रिपरिषद्को निर्णयमा निर्भर हुन्छ। विगतका सरकारले पनि धेरैजसो अवस्थामा सम्पत्ति विवरण सार्वजनिक नगरेको उदाहरण छ। यसले ‘वाचा र व्यवहार’ बीचको अन्तरबारे पुनः बहस सुरु गराएको छ।
विशेषज्ञहरूका अनुसार पारदर्शिता बढाउन सार्वजनिक पदाधिकारीले स्वेच्छाले विवरण सार्वजनिक गर्नु आवश्यक मानिन्छ। जनतामा विश्वास कायम राख्न यस्तो कदम प्रभावकारी हुने उनीहरूको भनाइ छ।
कतिपयले भने सम्पत्ति विवरण सार्वजनिक गर्नु मात्र भ्रष्टाचार नियन्त्रणको पर्याप्त उपाय नभएको तर्क गर्छन्। लुकेका सम्पत्ति विवरण भने सार्वजनिक घोषणाबाट बाहिरै रहने सम्भावना रहने उनीहरूको भनाइ छ। पूर्वअर्थमन्त्री रामेश्वर खनालले वाचा गरेपछि त्यसलाई कार्यान्वयन गर्नु नै राजनीतिक नैतिकता भएको जनाएका छन्।
उनका अनुसार बोलेको कुरा पूरा नगर्दा जनविश्वास कमजोर हुन सक्छ। अर्कोतर्फ सरकारले चाहेमा मन्त्रिपरिषद् निर्णयमार्फत कुनै पनि बेला विवरण सार्वजनिक गर्न सक्ने व्यवस्था रहेको छ।

प्रधानमन्त्री बालेनले विदेशी राजदूतलाई एक्लाएक्लै भेटेनन्, भोलि सामूहिक भेट

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री नियुक्ति भएको १० दिन बितिसक्दासम्म समेत उनले विदेशी राजदूतसँग भेट गरेका छैनन् । अब उनले भोलि बुधबार बिहान परराष्ट्रमन्त्री शिशिर खनाल समेतलाई राखेर विदेशी राजदूतसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार भोलि बिहान करीब ११ बजेतिर हुने विदेशी राजदूतको सामूहिक भेटवार्तामा पहिलोपटक प्रधानमन्त्री सहभागी हुनेछन् । भारत, चीन, अमेरिका, बेलायत लगायत देशका राजदूतलाई सामूहिक भेटका लागि बोलाइएको छ ।
विगतका प्रधानमन्त्री नियुक्त भएलगत्तै कूटनीतिक मर्यादाविपरीत राजदूतहरूको भीड लाग्ने र बालुवाटारसम्मै सहज पहुँच हुने गरेको अवस्थामा बालेनले राजदूतहरूलाई सहज भेट दिएका छैनन् । बालेनसँगको विदेशी राजदूतको पहिलो भेट सामूहिक रूपमा हुनेछ, जसले गर्दा सबै विदेशी राजदूतले आफ्नो देशको मात्रै स्वार्थ हेरेर कुनै कुरा राख्ने वातावरण बन्ने छैन ।
प्रधानमन्त्री बालेन कूटनीतिक मर्यादा पालनामा प्रतिबद्ध रहेका जनाउँदै उनीनिकट स्रोतले नयाँ प्रधानमन्त्रीले कूटनीतिक सम्बन्धको नयाँ मानक स्थापित गर्न चाहेको जनाएको छ । ‘सामान्य कुराका लागि प्रधानमन्त्रीलाई नै भेट्नुपर्ने हुन्न, परराष्ट्रमन्त्री स्तरमै कतिपय कुरा गर्न सकिन्छ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीलाई नै भेट्नुपर्ने अत्यावश्यक र गम्भीर विषयबाहेक प्रधानमन्त्रीले विदेशी राजदूतलाई नभेट्ने प्रणाली विकास हुनसक्छ ।’

‘ज्ञान मसला’को ब्रान्ड एम्बेसडरमा स्वस्तिमा खड्का

काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गतको ‘ज्ञान मसला’ले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यस सहकार्यमार्फत कम्पनीले आफ्नो पहिचानलाई थप ऊर्जावान बनाउने र नयाँ पुस्ताका उपभोक्ताहरूसँग बलियो सम्बन्ध स्थाापत गर्ने लक्ष्य राखेको छ ।
सन् १९८९ मा स्थापना भई केएल दुगड ग्रुपले तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा गुणस्तर र विश्वास कायम राखेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ज्ञान ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मानक स्थापित गरेको छ, र वर्षौँदेखि घरघरमा विश्वासिलो नामका रूपमा चिनिन्छ ।
“स्वस्तिमा खड्कालाई ‘ज्ञान’ परिवारमा स्वागत गन पाउँदा हामी अत्यन्त खुशी छौँ । उहाँको दर्शकसँगको बलियो सम्बन्धले उहाँलाई हाम्रो ब्राण्डका लागि उत्कृष्ट प्रतिनिध बनाएको छ । हामी आफ्ना मूल मान्यताहरूमा अडिग रहँदै अगाडि बढिरहँदा उहाँसँगको सहकार्य झन् अथ पूर्ण हुने विश्वास लिएका छौँ ।” ग्रुपकी कार्यकारी निर्देशक भाविका दुगडले भनिन्।
ज्ञान मसलासँग जोडिन पाउँदा खड्काले खुसी व्यक्त गरेकी छन् । लामो समयदेखि विभिन्न खाद्यान्नको रुपमा आफ्नो घरमा पनि रहेको यस ब्रान्डको शुद्धता र गुणस्तरलाई अझ धेरै उपभोक्तासँग पुर्‍याउन आफूले भूमिका खेल्ने उनले जनाईन ।
कम्पनीले उपभोक्ताको बदलिँदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न नयाँ प्रकारका मसला उत्पादनहरू बजारमा सार्वजनिक गरिरहेको छ, जसले बजारको मागअनुसार गुणस्तर र सान्दर्भिकता कायम राख्ने लक्ष्य लिएको छ । हाल ज्ञान मसला १४ विभिन्न प्रकारमा उपलब्ध छ ।
केएल दुगड ग्रुपले आफ्नो वृहत् वितरण सञ्जालमार्फत देशभर गुणस्तरीय उत्पादनहरू पुर्‍याउँदै आएको कम्पनीले जनाएको छ ।

नेप्से र टाइम फर्माबीच आईपीओ निष्काशन गर्न शिलबन्दी बोलपत्र सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र टाइम फर्मास्युटिकल्स लिमिटेड बिच शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन सम्झौता सम्पन्न भएको छ ।
नवलपरासी जिल्ला गैडाकोट न.पा वडा नं. ०४, स्थित श्री टाइम फर्मास्युटिकल्स लिमिटेडले प्रति शेयर अंकित मूल्य रु. १००( दरको ४,३४,६०० कित्ता साधारण शेयर बुक बिल्डिङ्ग बिधि मार्फत योग्य संस्थागत लगानीकर्ताहरुको लागि शिलबन्दि बोलपत्र दर्ता गर्ने, बोलपत्र खोल्ने र सो को निर्णय गर्ने कार्य गर्नको लागि नेप्सेले सहजिकरण गर्ने लगायतका अन्य शर्तहरु पालना गर्ने गरी नेपाल स्टक एक्सचेञ्ज लिमिटेडसँग शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता कार्यक्रममा नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाई र टाइम फर्मास्युटिकल्स लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदर्शन लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । साथै कम्पनीको तर्फबाट कम्पनी सचिव अधिवक्ता सुदिप घिमिरे र शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टको तर्फबाट मनोहर कँडेलको उपस्थिति थियो ।
टाइम फर्मास्युटिकल्स लिमिटेडले रु. १०,८६,५०,०००(अक्षरेपी दश करोड छयासी लाख पचास हजार मात्र) रकम बराबरको १०,८६,५०० कित्ता साधारण शेयर बुक बिल्डिङ्ग बिधि मार्फत शेयर निष्काशन गर्ने तयारी गरेको छ । उक्त शेयर मध्ये ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ताहरुका लागि र बाँकी ६० प्रतिशत शेयर सर्वसाधारणको लागि सार्वजनिक निष्काशनद्घारा बिक्री गरिने कम्पनीले जनाएको छ । उक्त शेयर जारी पश्चात् कम्पनीको चुक्ता पूँजी रु. ५३,००,००,०००।(अक्षरेपी त्रिपन्न करोड मात्र) हुनेछ ।
टाइम फर्मास्युटिकल्स विगत ३० बर्ष देखि नवलपरासी जिल्लाको गैंडाकोट न.पा वडा नं ०४ मा केन्द्रिय कार्यालय तथा गैंडाकोट न.पा वडा नं १० मा उत्पादन प्लान्ट (उद्योग) साथै ललितपुर सातदोवाटोमा मार्केटिङ्ग कार्यालय स्थापना गरी करिब ३०० जना कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिई करिब २०० भन्दा बढि गुणस्तरीय औंषधीहरु उत्पादन गरीरहेको डब्लूएचओ–जीएमपी प्रमाणित कम्पनी हो ।

नवनियुक्त डेपुटी गभर्नर पण्डितद्वारा शपथ ग्रहणसँगै पदबहाली

काठमाण्डौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले मंगलबार शपथ ग्रहण गरेलगत्तै पदबहाली गरेका छन् ।
मंगलबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै पण्डितले पदबहाली गरेका हुन् ।
पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गतेको थियो । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले पण्डितलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।
डेपुटी गभर्नर पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकबाट बैंक सेवा यात्रा सुरु गरेका थिए । त्यसपछि उनी २०६८ सालमा उपनिर्देशक, २०७४ सालमा निर्देशक, र २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नत भएका थिए ।
कार्यकारी निर्देशक रहँदा उनले भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वका साथै बैंकको प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए ।

अब नेपाल टेलिकमको डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाण्डौं । नेपाल टेलिकमले मोबाइल डाटा सकिँदा स्वतः पैसा काटिने प्रणालीको अन्त्य गरेको छ । कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्वतः पैसा काटिने प्रणालीको अन्त्य गरेको हो ।
यसको सट्टा ग्राहकले थप पारदर्शी र आफैँ छान्न सक्ने विकल्पसहितको सेवा पाउनेछन् । अब ग्राहकले लिएको डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिइनेछ । जसले बाँकी डाटा कति छ भन्ने जानकारी समयमै दिन्छ ।
यससँगै ‘पे–एज–यू–गो’ (पिएवाईजी) अर्थात् डाटा प्याकेजबिनै इन्टरनेट चलाउने र रकम काट्ने विकल्प उपलब्ध गराइएको छ । जसले ग्राहकलाई प्याकेजबिना पनि आवश्यकताअनुसार इन्टरनेट प्रयोग गर्नसक्ने सुविधा दिन्छ । साथै, ग्राहकले नयाँ प्याकेज लिने वा सिधै पिएवाइजी मोडमा जाने भन्ने निर्णय आफैँ गर्न सक्नेछन् ।
नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो प्रणाली हाल परीक्षण चरणमा रहेको र केही दिनभित्रै पूर्ण रूपमा लागू हुनेछ ।
उनका अनुसार ‘युएसएसडि’मार्फत खरिद गरिने डाटा प्याकमा यो सुविधा तीनदेखि पाँच दिनभित्र लागू हुनेछ भने नेपाल टेलिकमको मोबाइल एप प्रयोग गर्ने ग्राहकका लागि सातदेखि १० दिनभित्र कार्यान्वयनमा आउनेछ ।
यसले डिजिटल माध्यममार्फत सेवा प्रयोग गर्ने ग्राहकहरूलाई अझ सहज अनुभव दिने विश्वास लिइएको छ ।
यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा‍. विक्रम तिमिल्सिनाको निर्देशनमा ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार र प्रशासनिक प्रक्रियामा सुधार ल्याउने उद्देश्यले व्यापक रूपान्तरण प्रक्रिया अघि बढाइएको छ ।
सञ्चार मन्त्रालयले ‘नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली’ लागू गर्ने उद्देश्यसहित १० बुँदे सुधारात्मक कार्ययोजना ल्याएको छ । यस योजनामा नेपाल टेलिकमको सेवा सुधारलाई पनि प्राथमिकतामा राखिएको छ । यसअन्तर्गत ग्राहक सेवालाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ । विगतमा सेवा अवरोध, ढिलो प्रतिक्रिया, अनावश्यक प्रक्रियागत झन्झट र ग्राहकको गुनासो समाधानमा ढिलाइजस्ता समस्या बारम्बार उठ्दै आएका थिए ।
यिनै समस्यालाई सम्बोधन गर्न अहिले मन्त्रालय र कम्पनी दुवैले समन्वयात्मक ढंगले काम गरिरहेका छन् ।

लेटेष्ट समाचार

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ । जेठ २८ गतेसम्मका लागि समय थप गरिएको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन...

रवि आज स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री खनाल भारत जाँदै

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् भने परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत...

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “विकास...