काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् ।
बालेन्द्र साह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएको एक महिनापछि नयाँ दिल्लीले पहिलोपटक उच्च अधिकारीलाई काठमाडौं पठाउन लागेको हो । मिश्री वैशाख अन्तिम साता काठमाडौं आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय पक्षले विदेश सचिव मिश्रीको भ्रमणका लागि ३०–३१ वैशाखको मिति प्रस्ताव गर्दै पत्राचार गरेको छ ।
भ्रमणलाई औपचारिकता दिन परराष्ट्र सचिव अमृतबहादुर राईका तर्फबाट मिश्रीलाई औपचारिक निमन्त्रणा पठाउनुपर्ने हुन्छ । भारतीय पक्षको प्रस्तावको जवाफमा परराष्ट्र सचिव राईले औपचारिक निम्तो पठाइसकेको जनाईएको छ । यद्यपी, मिश्रीको काठमाडौं भ्रमणका एजेन्डा सार्वजनिक गरिएको छैन ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि साहले पहिलो औपचारिक विदेश भ्रमण भारतबाटै सुरु गर्ने तयारी गरेपछि भ्रमणको तयारीबारे छलफल गर्न विदेश सचिव मिश्री काठमाडौं आउन लागेको परराष्ट्र स्रोतले जनाएको छ ।
भारतीय विदेश सचिव काठमाडौं आउँदै
आजबाट कक्षा १२ को परीक्षा सुरु, डेढ महिनाभित्र नतिजा प्रकाशन गर्ने
काठमाण्डौं । आजबाट देशभर एकै साथ कक्षा १२ को परीक्षा सुरु हुने भएको छ ।
७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसवर्ष नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।
२०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन् ।
यस वर्ष गत वर्षभन्दा परीक्षार्थीको संख्या घटेको छ। गत वर्ष ५ लाख ११ हजार ५२५ जना विद्यार्थीले परीक्षा दिएका थिए।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ ।
कांग्रेस बैठक बस्दै, सभापतिले दल नेताको नाम प्रस्ताव गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । कांग्रेसले बैठक आज बिहान ११ बजे बस्नेगरी बोलाएको हो ।
बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी छ ।
कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।
आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी, लुम्बिनी प्रदेशको केही स्थानहरूमा तथा बागमती प्रदेशको एकदुई स्थानमा मध्यमसम्मको वर्षा, हिमपात भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ ।
राति देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनोहरा सुकुम्वासी बस्तीमा चल्यो डोजर
काठमाण्डौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएको छ । सरकारले भक्तपुरको मनोहरा खोला किनारमा बनाइएको अनधिकृत संरचनामाथि आइतबार बिहान डोजर चलाएको हो ।
काठमाण्डौं महानगरपालिकाको डोजरसहितको टोलीले घरटहरा भत्काउन सुरु गरेको हो ।
शनिबार साँझ नै भत्काउन थालेको बस्ती स्थानीयको अवरोधका कारण रोकिएका थियो । हिजो २२ सुरक्षाकर्मी घाइतेसमेत भएका थिए । आज थप सुरक्षा सतर्कतासहित घरटहराहरु भत्काउन थालिएको हो । उपत्यकाका ३ वटै जिल्लाका प्रहरीलाई यस क्षेत्रमा परिचालन गरिएको छ ।
यस बस्तीमा ७ सय ७७ घरटहरा छन् । यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए ।
सरकारले शनिबार काठमाण्डौं महानगरपालिकाको थापाथली, गैरीगाउँ र शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका संरचना भत्काएको थियो ।
रात्रिभोजमा गोली चलाउने पक्राउ, डेढ घण्टापछि ट्रम्पले भने– यो अमेरिकी संविधानमाथिको आक्रमण
काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा ह्वाइट हाउस संवाददाताहरूको रात्रिभोजको क्रममा गोली चलाउने एक जना पक्राउ परेका छन् ।
शनिबार साँझको कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उनकी श्रीमती मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्स लगायत धेरै वरिष्ठ अधिकारीहरू उपस्थित थिए ।
समाचार एजेन्सी एपीका अनुसार आक्रमणकारीले होटलको बलरूम बाहिर गोली चलाएका थिए । ट्रम्प र पाहुनाहरू भित्र थिए ।
ट्रम्पले आक्रमणकारीलाई पक्राउ गरिएको जनाएका छन् । आक्रमणको करिब डेढ घण्टापछि ट्रम्पले मिडियालाई सम्बोधन गर्दै यो आक्रमण अमेरिकी संविधानमाथि आक्रमण भएको जनाए ।
ट्रम्पले भने, ‘अमेरिकी संविधानमाथि आक्रमण भएको थियो । सीक्रेट सर्विसले मेरो ज्यान बचायो । सुरक्षाकर्मीहरूले साहसपूर्वक काम गरे । गोली लागेको अधिकारी सुरक्षित छन् । उनले बुलेटप्रूफ जैकेट लगाएका थिए । आक्रमणकारीसँग शक्तिशाली गन थियो ।’
विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, ९ हजारले गुमाएका थिए ज्यान
काठमाण्डौं । आज ११औँ भूकम्प स्मृति दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदै छ । विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको स्मृतिमा यो दिवस मनाउन लागिएको हो।
७.६ म्याग्निच्युडको उक्त भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको थियो। भूकम्पका कारण ८ हजार ९७९ जनाले ज्यान गुमाएका थिए भने २२ हजार ३०९ जना घाइते भएका थिए। हजारौं घर, विद्यालय, स्वास्थ्य संस्था तथा ऐतिहासिक संरचनाहरू ध्वस्त भएका थिए।
विनाशकारी भूकम्पपछि पुनर्निर्माण, पुनःस्थापना तथा सुरक्षित पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
यस वर्ष पनि भूकम्पीय जोखिम न्यूनीकरण, सुरक्षित संरचना निर्माण तथा विपद् पूर्वतयारीबारे जनचेतना फैलाउने उद्देश्यका साथ विभिन्न सरकारी तथा गैरसरकारी निकायले सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन्।
भूकम्पलाई रोक्न नसकिए पनि पूर्वतयारी, सुरक्षित निर्माण र सचेतनाका माध्यमबाट सम्भावित क्षति न्यूनीकरण गर्न सकिने सन्देशसहित आज भूकम्प स्मृति दिवस मनाइँदै छ।
आईसीसी विश्वकप लिग–२ आजबाट सुरु ः नेपाल र यूएई भिड्ने
काठमाण्डौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आजदेखि सुरु हुँदैछ। आज हुने पहिलो खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै छ । खेल बिहान ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि मैदामा सुरु हुनेछ।
यूएई, ओमान र नेपालबीचको एउटा श्रृङ्खलामा ४ खेल र स्कटल्याण्ड, अमेरिका र नेपालबीचको अर्को श्रृङ्खलामा थप ४ खेल हुनेछ । जसमा नेपालले कम्तिमा ५ खेल जितेमात्र प्रतियोगितामा शीर्ष ६ भित्र प्रवेश गर्ने छ ।
नेपाल र यूएईबीच १७ एकदिवसीय खेल हुँदा नेपालले ९ खेल जितेको छ भने यूएईले ८ खेल जितेको छ ।
यसै साता दुई खेलको टी–२० आई सिरिज खेलेका दुबै टोलीले १–१ अंक बाढेका थिए ।
नेपालले आज यूएईपछि वैशाख १६ गते बुधबार ओमानसँग, वैशाख १८ गते शुक्रबार यूएईसँग र वैशाख २२ गते मङ्गलबार ओमानसँग खेल्नेछ।
यस्तै ओमान र यूएई सम्मिलित श्रृङ्खला सकिएको अर्को सातामै फेरि नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित अर्को श्रृङ्खला सुरु हुनेछ। उक्त श्रृङ्खला वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म चल्नेछ।
नेपालले वैशाख २९ गते मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ। यसैगरी जेठ २ गते शनिबार अमेरिकासँग खेल्नेछ भने जेष्ठ ४ गते सोमबार पुनः स्कटल्याण्डसँग र जेठ ८ गते शुक्रबार पुनः अमेरिकासँग नेपालले प्रतिस्पर्धा गर्नेछ।
विस्थापित सुकुम्वासीलाई शनिबार र आइतबार सरकारले खानाको व्यवस्था गर्ने
काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले सुकुम्वासी वस्तीहरू हटाउने क्रममा ‘साइट’मै सुकुम्बासीको व्यवस्थापन र राहत उपलब्ध गरिने जनाएको छ ।
शनिबार बिहानैदेखि कार्यक्षेत्रमा खटिएको टोलीले बस्ती हटाउने कार्यसँगै तत्कालको खानाको व्यवस्थापन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्थानान्तरण हुनेहरूका लागि शनिबार र आइतबार सरकारले नै प्याकेटमा खानाको प्रबन्ध गर्ने जनाइएको छ ।
“पुनःस्थापनाका लागि छानिएका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गर्न सरसफाइ कार्य सम्पन्न भइसकेको छ,” विज्ञप्तिमा उल्लेख छ ।
सुकुम्बासीलाई राख्नलाई हाल चयन गरिएका संरचनाहरू यसअघि निर्माण गरिएका हुन्, जसलाई अहिले वास्तविक सुकुम्वासी व्यवस्थापनका लागि पूर्ण प्रयोगमा ल्याउन लागिएको हो ।
गोली हानेर लागुऔषध व्यापारी पक्राउ
काठमाडौं । काठमाडौंको साँखुमा गोली चलेको छ। प्रहरीले लागुऔषधका व्यापारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
आफूलाई प्रहरीले पछ्याएको थाहा पाएपछि उनले प्रहरीमाथि नै गोली चलाएपछि प्रहरीले जवाफी फायर गरेको हो । उनलाई उपचारका लागि अस्पताल लगिएको छ।
उनको साथबाट पेस्तोल र लागुऔषध पनि बराम भएको जानकारी दिइएको छ ।

















