काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख सीईओ ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ ।
सर्वोच्च अदालतले आज बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो । पाण्डेलाई गैरकानुनी थुनामा राखिएको भन्दै श्रीमति निरु दाहालले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
न्यायाधीशहरूको सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा उनलाई हाजिरी जमानीमा छाडी अनुसन्धान गर्नू भनी आदेश दिएको हो ।
सर्वोच्चले उनलाई मुलुक छाडेर विदेश जानुपर्ने अवस्थामा अदालतको आदेशमा मात्रै जान पाउने व्यवस्था गर्न भनेको छ ।
सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री गर्दा आपराधिक विश्वास घातलगायतका कसूर गरेको आरोपमा पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको थियो ।
एनआईएमबी बैंकका सीईओ पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ। लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ ।
वैशाख ३१ गते नबिल बैंक लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको समझदारीसँगै यो सुविधा सुरु भएको हो। समझदारी पत्रमा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए ।
एउटै प्लेटफर्मबाट सम्पूर्ण वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले एनबैंकमार्फत उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार एकीकृत लगानी सेवा सुरु भएसँगै नबिल बैंकका ग्राहकहरू अब ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआइपी) मा दर्ता हुन र किस्ता भुक्तानी गर्ने काम मोबाइबाटै गर्न सकिने छ।
एनबैंकका प्रयोगकर्ताहरूले एनबैंकको होमपेजमा गई ‘इन्भेस्टमेन्ट, एसआइपी, टीएमएस’ आइकनमा क्लिक गरी एसआइपीमा दर्ता हुन र भुक्तानी गर्न सक्नेछन् । यस सुविधा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ ।
“ग्राहकलाई लगानी गर्नका लागि सरल, पहुँचयोग्य र पूर्ण रूपमा डिजिटल सेवा प्रदान गर्नु नै बैंकको उद्देश्य हो,” बैंकका नायब प्रमुख बजगाईंले जनाए । “एनबैंकमा यो सुविधा थपिएसँगै ग्राहकलाई लगानीतर्फ आकर्षित गर्ने विश्वास लिएका छौं ।”
उक्त सेवामार्फत विदेशमा रहेका नेपालीले पनि नेपालको वित्तीय बजारमा सहज रूपमा सहभागी हुन र आर्थिक रूपमा जोडिन पाउने बैंकको भनाइ छ । विस्तारीत सुविधासँगै एनबैंकले आफ्ना डिजिटल सेवाहरुलाई निरन्तर सुधार गर्दै सेवाग्राहीहरुलाई एकिकृत प्लेटफर्ममार्फत वित्तिय सेवा थप विस्तार गर्दै लैजाने बैंकले जनाएको छ ।
बैंकले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।
सानिमा जिआईसीद्वारा दाबी रकम लिन बाँकी बीमितलाई ३५ दिनभित्र सम्पर्क गर्न आग्रह
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले बीमा दाबी निवेदन पेश गरे पनि आवश्यक कागजात नपुगेको कारण हालसम्म दाबी भुक्तानी प्रक्रिया पूरा हुन नसकेका बीमितहरुलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ।
कम्पनीले आज जेठ १ गते सूचना जारी गर्दै दाबी फछ्र्योटका लागि आवश्यक कागजातहरू हालसम्म प्राप्त नभएकाले धेरै फाइलहरू प्रक्रियामै रोकिएको जनाएको छ।
अबको ३५ दिनभित्र सम्बन्धित बीमितहरूले आवश्यक कागजातसहित आफूलाई पायक पर्ने प्रदेश कार्यालय, शाखा, उपशाखा वा केन्द्रीय कार्यालयको दाबी विभागमा सम्पर्क गरी दाबी रकम फछ्र्योट गराउनु कम्पनीले आग्रह गरेको छ। कम्पनीले तोकिएको अवधिभित्र पनि सम्पर्कमा नआउने बीमितहरुको दाबी फाइल बन्द गरिने चेतावनी समेत दिएको छ।
भारतमा महँगियो पेट्रोल र डिजेल मूल्य
काठमाडौं । भारतमा शुक्रबार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३, ३ भारतीय रुपैयाँ (भारु) ले बढेको छ ।
योसँगै अब राजधानी दिल्लीमा एक लिटर पेट्रोलको नयाँ मूल्य ९७.७७ भारु पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि दिल्लीमा एक लिटर पेट्रोलको मूल्य ९४.७७ भारु थियो । डिजेलको प्रतिलिटर मूल्य ८७.६७ बढेर ९०.६७ भारु पुगेको छ ।
त्यस्तै, कोलकातामा पेट्रोलको मूल्य प्रतिलिटर ३.२९ रुपैयाँले बढेर १०८.७४ भारु पुगेको छ । मुम्बईमा पेट्रोलको मूल्य ३.१४ रुपैयाँले बढेर १०६.६८ भारु पुगेको छ ।
दक्षिण भारतको ठूलो शहर चेन्नईमा पेट्रोलको मूल्य प्रतिलिटर २.८३ भारुले वृद्धि भएर प्रतिलिटर १०३.६७ भारु पुगेको छ ।
पेट्रोलियम पदार्थमा वृद्धिको मुख्य कारण अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्यमा आएको उतारचढाव हो । अमेरिका–इरान युद्ध अघि ७० डलर रहेको कच्चा तेलको मूल्य अहिले प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ ।
ट्रम्पको दाबीः सीले होर्मुज समुद्री मार्ग खोल्न मद्दत गर्छु भनेका छन्
काठमाण्डौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनका राष्ट्रपति सी चिनफङले होर्मुज स्ट्रेट खुला राख्न मद्दत गर्ने प्रस्ताव गरेको दाबी गरेका छन्।
चीन भ्रमणका क्रममा ट्रम्पले बिहीबार राजधानी बेइजिङमा सीसँग भेटवार्ता गरेका थिए।
त्यसपछि फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘सी चिनफिङ अमेरिका र इरानबिच सम्झौता चाहन्छन्। उहाँले भन्नुभयो, यदि म कुनै पनि तरिकाले मद्दत गर्न सक्छु भने गर्न तयार छु।’
चीनले ठुलो मात्रामा इरानी तेल किन्ने भएकाले होर्मुज स्ट्रेट खुला राख्न सी पनि इच्छुक रहेको दाबी उनले गरेका छन्।
ट्रम्पले भनेका छन्, ‘यति धेरै तेल किन्ने देशको इरानसँग सम्बन्ध स्पष्ट छ। चीन होर्मुज स्ट्रेट खुला रहोस् भन्ने चाहन्छ।’
यसैबिच इरानले होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने जहाजहरूका लागि नयाँ नियम लागु गरेको छ।
यो मार्गबाट यात्रा गर्ने जहाजहरूले अब इरानको निगरानी र स्वीकृतिमा चल्नुपर्नेछ।
इरानले ब्रिक्स देशहरूलाई अमेरिका र इजरायलको निन्दा गर्न पनि अपिल गरेको छ।
तीन दिन चीनको राजकीय भ्रमण गर्न प्रतिनिधिमण्डलसहित बुधबार बेइजिङ पुगेका ट्रम्प शुक्रबार स्वदेश फर्किंदै छन्।
आईपीएल ः पञ्जाबमाथि मुम्बईको रोमाञ्चक जित, पञ्जाबको प्लेअफको सम्भावना कायमै
काठमाडौं । जारी आईपीएलमा मुम्बई इन्डियन्सले अन्तिम ओभरको रोमाञ्चक जितमा पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।
बिहीबार राति धर्मशालाको हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियममा पञ्जाबले दिएको २०१ रनको लक्ष्य मुम्बईले १९.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
मुम्बईको जितमा तिलक वर्माले ३३ बलमा अविजित ७५ रन बनाए । रायन रिकेलटनले पनि २३ बलमा ४८ रनको योगदान दिए भने शेफेरोन रुडरफोर्डले २१ बलमा २० रन र विल ज्याक्सले १० बलमा अविजित २५ रन बनाए ।
पञ्जाबका लागि अजमतुल्लाह उमरजाईले २ विकेट लिए भने मार्को जानसेन र युजवेन्द्र चहलले १, १ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०० रन बनाएको थियो । पञ्जाबका लागि प्रभसिमरन सिंहले ३२ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ५७ रनको शानदार इनिङ खेले । उनी बाहेक अजमतुल्लाह उमरजाईले ३८ र प्रियांश आर्यले २२ रन बनाए ।
मुम्बईका लागि शार्दुल ठाकुरले सर्वाधिक चार विकेट लिए । दीपक चाहरले पनि दुई विकेट लिए भने कोर्बिन बोश र राज बाबाले एकएक विकेट लिए । यो यस सिजनमा १२ खेलमा मुम्बईको चौथो जित हो भने पञ्जाबले लगातार पाँचौं हार बेहोर्नुपर्यो ।
मुम्बई प्लेअफ दौडबाट बाहिरिसकेको छ । यो हारले पञ्जाबलाई कठिन बनाएको छ । यद्यपि, छ खेल जितेर १३ अंक जोडेको पञ्जाब अंक तालिकामा चौथो स्थानमा छ र प्लेअफ दौडमा यथावत छ ।
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् हेरफेर
काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद्लाई नयाँ स्वरूप दिँदै मन्त्रालयहरूको पुनःसंरचनासहित कार्यविभाजन हेरफेर गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन् ।
सरकारले प्रशासनिक सुधार र मितव्ययिताका लागि मन्त्रालयको संख्या घटाउने निर्णय गरेसँगै नयाँ कार्यविभाजन सार्वजनिक गरिएको छ । पुनर्गठित मन्त्रिपरिषद्मा प्रधानमन्त्री शाहले रक्षा र गृहका साथै भर्खरै स्थापित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’को जिम्मेवारी आफैँसँग राखेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार विज्ञप्ति जारी गर्दै नयाँ मन्त्रिपरिषद् गठनबारे जानकारी दिए ।
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा प्रहरीले गोली हानेर एक युवालाई नियन्त्रणमा लिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर सुजन शाहीलाई नियन्त्रणमा लिएको हो ।
शाही केही दिनअघि कीर्तिपुरमा विपिन घिमिरे हत्याका प्रमुख योजनाकार भएको प्रहरीले जनाएको छ । गुल्मीका घिमिरेलाई कीर्तिपुरमा हत्या गरिएको थियो ।
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ ।
बैठकमा नीति तथा कार्यक्रममाथि भएको छलफलपछि निर्णयार्थ प्रस्तुत गरिएको प्रस्ताव बहुमतका आधारमा स्वीकृत भएको हो ।
एनआइएमबि बैंकका सीइओ पाण्डेको पक्राउप्रति गम्भीर आपत्ति
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा बैंकिङ क्षेत्रका चारवटा प्रमुख छाता संगठनहरूले गम्भीर आपत्ति जनाएका छन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आइतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेको पक्राउप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाण्डेलाई वैशाख ३० गते नियन्त्रणमा लिएको थियो ।
विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरू प्रचलित ऐन र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चल्ने संस्था भएको उल्लेख गरिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ को दफा ५७ ले कर्जा असुली नभएको खण्डमा बैंकलाई विशेष अधिकार दिएको र सो कार्य गर्नु सीइओको मुख्य दायित्व भएको संगठनहरूको तर्क छ ।
‘आम सर्वसाधारणको निक्षेप संकलन गरी जनविश्वासमा चल्ने बैंक जस्ता संस्थाको कर्जा असुली गरेको कारणबाट प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गर्दा बैंकको साखमा गिरावट आउन सक्ने र वित्तीय स्थायित्वमा नै आँच आउन सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।
बैंकिङ क्षेत्रका संगठनहरूले ‘पहिले सुन अनि थुन’ को सिद्धान्तलाई आत्मसात गर्न आग्रह गर्दै पाण्डेलाई यथाशिघ्र थुनाबाहिर राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग अपिल गरेका छन् । बैंकको गरिमा र उच्च पदस्थ कर्मचारीको मर्यादालाई ध्यानमा राख्दै अनुसन्धानका लागि थुनामै राख्नु नपर्ने उनीहरूको माग छ ।















