काठमाण्डौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनका राष्ट्रपति सी चिनफङले होर्मुज स्ट्रेट खुला राख्न मद्दत गर्ने प्रस्ताव गरेको दाबी गरेका छन्।
चीन भ्रमणका क्रममा ट्रम्पले बिहीबार राजधानी बेइजिङमा सीसँग भेटवार्ता गरेका थिए।
त्यसपछि फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘सी चिनफिङ अमेरिका र इरानबिच सम्झौता चाहन्छन्। उहाँले भन्नुभयो, यदि म कुनै पनि तरिकाले मद्दत गर्न सक्छु भने गर्न तयार छु।’
चीनले ठुलो मात्रामा इरानी तेल किन्ने भएकाले होर्मुज स्ट्रेट खुला राख्न सी पनि इच्छुक रहेको दाबी उनले गरेका छन्।
ट्रम्पले भनेका छन्, ‘यति धेरै तेल किन्ने देशको इरानसँग सम्बन्ध स्पष्ट छ। चीन होर्मुज स्ट्रेट खुला रहोस् भन्ने चाहन्छ।’
यसैबिच इरानले होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने जहाजहरूका लागि नयाँ नियम लागु गरेको छ।
यो मार्गबाट यात्रा गर्ने जहाजहरूले अब इरानको निगरानी र स्वीकृतिमा चल्नुपर्नेछ।
इरानले ब्रिक्स देशहरूलाई अमेरिका र इजरायलको निन्दा गर्न पनि अपिल गरेको छ।
तीन दिन चीनको राजकीय भ्रमण गर्न प्रतिनिधिमण्डलसहित बुधबार बेइजिङ पुगेका ट्रम्प शुक्रबार स्वदेश फर्किंदै छन्।













