काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सरकारी कार्यालयहरूमा शेयर कारोबार प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको जानकारी दिएका छन ।
प्रधानमन्त्री ओलीले फेसबुकमा स्टाटस लेख्दै सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले अमान्य रहेको र यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव पारेको उल्लेख गरेका छन ।
प्रधानमन्त्री ओलीले यसले सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको उल्लेख गर्नुहुँदै यही जनगुनासोलाई सम्बोधन गर्न यो कदम चालिएको जानकारी दिए ।
‘गुनासो र सम्बोधन, सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ । यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ ।’ प्रधानमन्त्री ओलीले भनेका छन, ‘यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु ।’
प्रधानमन्त्री ओलीले सरकारी कार्यालयहरूमा अब सरकारी काम मात्र गर्न अनुरोध गरेका छन ।
प्रधानमन्त्री ओलीको यो कदमले सरकारी कर्मचारीहरूलाई आफ्नो कार्यालय समयमा शेयर कारोबारमा संलग्न हुनबाट रोक्ने र सरकारी सेवाको गुणस्तर थप सुधार गर्ने अपेक्षा गरिएको छ ।