काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतबाट आज काठमाडौं ल्याइने भएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित थप बयानका लागि उनलाई पोखराबाट काठमाडौं ल्याउन लागिएको हो ।
काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो ।
यस्तै, गोर्खा मिडियाका पूर्वसञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि सोही सहकारी बचत अपचलन मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । जोशीको बयान काठमाडौंको जिल्ला सरकारी वकिल कार्यालयमा लिइएको छ ।
कास्की जिल्ला अदालतले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कास्कीमा उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई पुनः कास्की फिर्ता लगिने छ ।
यसअघि बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि लामिछानेलाई रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिइएको थियो । साथै, लामिछाने विरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ र प्रहरी उनलाई त्यहाँ बयानका लागि लैजाने तयारीमा रहेको छ ।