मेरो सहारा कोही छैन भन्नेका निम्ति सरकार रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन सरकार प्रतिवद्ध रहेको जानकारी दिएका छन् ।
मंगलबार सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले मेरो सहारा कोही छैन भन्नेका निम्ति राज्य र सरकार रहेको दाबी गरेका हुन् ।
‘सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ । अब कसैले अनाथ भएँ भन्नु पर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन । मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यसका निम्ति राज्य छ र सरकार छ । अहिलेको सरकार जनताको सरकार हो । सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिंडेको सरकार हो’ प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको अभियानमा लम्किरहेको जनाए । यो सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार भएको भन्दै देश र जनताप्रति निष्ठा र प्रतिबद्ध रहेको उनले जनाए । उनले सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको दाबी गरे ।
प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ, ‘हामीले विधिवत् रुपमा सामाजिक सुरक्षा अभियानलाई भिन्नै र उन्नतस्तरबाट सुरु गरेका थियौँ । सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास हो । त्यसैले यसभित्र हाम्रा अभिभाराहरु हामीले उपयुक्त ढंगले बुझ्न जरुरी छ । सामाजिक सुरक्षा मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितताको हो । मानव जाति सचेत प्राणी भएको हुनाले आफ्नो सुरक्षाका लागि सदैव चिन्तित रह्यो । तर, उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्ता लगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल रहेन । यसका लामा इतिहास छन् । पछि हाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सनजस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रामा आकार लिन थाल्यो ।’

LEAVE A REPLY