काठमाडौं । शेयर बजारमा आज पनि पहिरो गएको छ । उच्च अंकले बजार तल झरेसँगै नेप्से २६ सय अंकबाट तल झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३१.४३ अंकले घटेको हो । १.१९ प्रतिशतले बजार घटेसँगै नेप्से २५९६.८२ अंकमा ओर्लिएको छ ।
बजार घटेसगै आज सबै समूह राताम्मे भएका छन् । ट्रेडिङ समूह सबैभन्दा बढी २.७३ प्रतिशतले घटेको छ ।
आज ३१० कम्पनीका ९८ लाख ३२ हजार ३ सय ८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २ लाख ६७ हजार ४ सय ८३.४८ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि सर्पोट माइक्रोफाइनान्स लघुवित्तमा भने पोजेटिभ सर्किट लाग्यो । उक्त कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाए ।
त्यस्तै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.२१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज जानकी फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १७ करोड ६० लाख ५४ हजार ६ सय ३.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन सार्वजनिक आइतबार बिदा परेका कारण बजार बन्द थियो भने सोमबार ५१.३७ अंकले बजार घट्दा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८ सय ४७.०४ रुपियाँ, मंगलबार २.९५ अंकले बजार उचालिंदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७ सय ४०.५२ रुपियाँ र हिजो बुधबार ५.६० अंकले बजार घट्दा ४ अर्ब २७ करोड ८२ हजार ५ सय ७५.९१ रुपियाँ बराबरको कारोबार भएको थियो ।