खेलजीवनबाट सन्न्यास लिने सन्दीप लामिछानेको संकेत

काठमाण्डौं । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवनबाट सन्यास लिने संकेत गरेका छन् । उनले आइतवार सामाजिक सञ्जालब फेसबुकमा आफ्ना समर्थकहरूप्रति कृतज्ञता जाहेर गर्दै यस्तो संकेत गरेका हुन् ।
यद्यपि, उनले स्पष्ट रूपमा सन्न्यास लिने या नलिने भने उल्लेख गरेका छैनन् । तर, उनले आफ्ना समर्थकहरूलाई धन्यवाद दिएसँगै धेरैले सन्दीपले सन्यास लिन लागेको अड्कल काटेका छन् ।
उनले फेसबुकमा सबैकुराका लागि सबैलाई धन्यवाद भनेका छन् । अनि सुन्दर देश नेपालका जनताहरू सधैँ आफ्नो साथमा उभिएको उल्लेख गरेका छन् । साथै आफूले हरेक पाइलामा समर्थन पाएको पनि उनले उल्लेख गरेका छन् । उनले समर्थकको माया र प्रोत्साहनले विशेष अर्थ राख्ने र हृदयमा सदैव स्थान पाउने उल्लेख गरेका छन् । साथै उनले आफू निकै कृतज्ञ रहेको पनि उल्लेख गरेका छन् ।
उनले लेखेका छन, ‘सबै कुराका लागि सबैलाई धन्यवाद । यो देश र यस सुन्दर राष्ट्रका अद्भुत मानिसहरूले मेरो यात्राको प्रत्येक कदममा सधैँ साथ दिए, अटल सहयोग प्रदान गरे’, सन्दीपले फेसबूकमा लेखेका छन्, ‘तपाईंहरूको माया र हौसला मेरा लागि अमूल्य छन् र सधैँ मेरो हृदयमा विशेष स्थान ओगटिरहनेछन् । शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु ।’
एकदिवसीय खेलमा सबैभन्दा कम खेल खेल्दै १०० विकेट लिएर विश्वकीर्तिमान बनाएका सन्दीपको खेल पछिल्लो समय भने खस्किएको छ ।
गत महिना सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि उनले खराब प्रदर्शन गरेका थिए । हालै सकिएको जय ट्रफीमा भने उनले औसत प्रदर्शन गरे ।
अम्पायरिङप्रति औँला उठाएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) र सन्दीपबीच सम्बन्ध चिसिएको आशंका गरिएको छ । यसैकारण उनले सन्यासको संकेत गरेको हुनसक्ने अनुमान छ ।

LEAVE A REPLY