काठमाडौं । शेयर बजारमा फेरि उत्साह फर्किने संकेत गरेको छ । अघिल्लो दिन १५ अंकले नेप्से सूचक बढ्दा ६ अर्बमाथिको कारोबार भएको थियो । लगत्तै बुधबारको बजारमा एकै दिन ५२ अंकमाथिले नेप्से सूचक बढ्दा ९ अर्बमाथिको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५२.३६ अंकले बढेर २६ सय ६५ विन्दुमा उक्लिएको छ भने ९ अर्ब २० करोड ३० लाख रुपियाँ बराबरको एक करोड ७६ लाख ९२ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ ।
आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी इन्भेष्टमेन्ट समूहको उपसूचक ३.८२ प्रतिशतले बढ्दा डेभलपमेन्ट बैंक समूहको उपसूचक २.७४ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक २.७१ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.२५ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक २.१२ प्रतिशतले बढेका छन् । बाँकी समूहको उपसूचक २ प्रतिशत कमले बढेका छन् ।
आज बजारमा कारोबार भएका कम्पनीहरुमध्ये १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ वटाको मात्र घटेको छ । बाँकी ९ वटाको शेयर मूल्य स्थिर रहेको नेप्सेले जानकारी दिएको छ ।