अभिनेता अनमोल केसीको जेरी अन टप’को छायांकन सकियो

काठमाण्डौं । अभिनेता अनमोल केसीले आफ्नो नयाँ चलचित्र ‘जेरी अन टप’को छायांकन सकाएका छन् । सोमबार मुस्ताङमा अन्तिम दृश्य खिचेर कलाकारसहितको टिम काठमाडौं फर्किसकेको छ । निर्माता सरोज न्यौपानेले दुई गीतबाहेकको छायांकन ६० दिनमा सकिएको जानकारी दिए । उनका अनुसार दुई गीतमध्ये एउटा भारतको पुडुचेरी र अर्को काठमाडौंमा खिचिनेछ ।
मुस्ताङसहित सगरमाथा बेसक्याम्प र काठमाडौंमा छायांकन गरिएको चलचित्रको केही दृश्य काठमाडौंमा झन्डै एक करोडको लागतमा तयार पारिएको सेटमा खिचिएको थियो । निर्माता सरोज न्यौपानेले उत्कृष्ट चलचित्र तयार हुनका लागि आवश्यक कुनै पक्षमा सम्झौता नगरिएको जनाएका छन् ।
छायांकन नसकिँदै हङकङको एलजी एसोसिएट्सले एमजी (मिनिमम ग्यारेन्टी) मा चलचित्रको अस्ट्रेलियाबाहेकको अन्तर्राष्ट्रिय वितरण तथा प्रदर्शन अधिकार खरिद गरिसकेको छ । विदेश प्रदर्शन अधिकारबाट चलचित्रको आधा लगानी उठिसकेको निर्माता न्यौपानेले जनाए । उनका अनुसार कलाकारको पारिश्रमिकदेखि छायांकनसम्म फिल्मको बजेट लगभग ६ करोड पुगेको छ ।
सुयोग गुरुङको निर्देशनमा तयार भएको यो लभस्टोरी चलचित्रमा अनमोलसहित आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, सुरक्षा पन्त, उषा खड्गी लगायतको अभिनय छ । चलचित्रको प्रदर्शन मिति भने तय भइसकेको छैन । वितरण कम्पनीसँगको सल्लाहमा केही दिनमै चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिने निर्माता न्यौपानेले जानकारी दिए ।

LEAVE A REPLY