काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वैशाख ७ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ‘७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८’ ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । अब लगानीकर्ताले वैशाख २१ गतेसम्म इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् ।
यसअघि बैंकले छिटोमा वैशाख १० गते निष्कासन बन्द हुने भने पनि पर्याप्त आवेदन नपरेपछि म्याद थपिएको हो । बैंकका अनुसार पर्याप्त आवेदन परेमा निष्कासन २१ गते अगावै बन्द हुनेछ ।
बैंकले २ अर्ब ५० करोड रुपियाँबराबरको प्रतिऋणपत्र १००० अंकित दरमा २५ लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट चैत १२ गते स्वीकृति पाएको थियो ।
कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट र ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ९ लाख ५० हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको छ ।
सात वर्षे अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।