सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी प्रशिक्षण सम्पन्न

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८१’ को दफा १७ (क) अनुसार उच्च तहका पदाधिकारीहरूलाई लक्षित गरी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौँको याक एण्ड यती होटेलमा आयोजित सो कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्यहरू, आधारभूत सेयरधनीहरू तथा विभागीय प्रमुखहरू सहभागी थिए। बीमा प्राधिकरणका निर्देशक शाम्ब राज लामिछाने र उप निर्देशक सविता थापाले प्रशिक्षण प्रदान गरेका थिए।
प्रशिक्षणमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुन सक्ने जोखिम, त्यसका समाधानहरू तथा लागू ऐन, नियमावली र निर्देशनको प्रभावकारी कार्यान्वयनबारे विस्तृत रूपमा जानकारी दिएको हो । साथै नीतिगत व्यवस्था, कार्यविधि, आन्तरिक नियन्त्रण प्रणाली, मानव संसाधन र प्रविधि व्यवस्थापनका पक्षमा पनि गहन छलफल गरिएको थियो।
कार्यक्रमको समापनमा बोल्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरूबाट विकसित सम्पत्ति शुद्धिकरणसम्बन्धी अवधारणाहरूको पालना गर्दै, ऐन तथा नियमावलीमा उल्लेख गरिएका दायित्वहरू पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको संवेदनशीलतालाई उल्लेख गर्दै, कम्पनीका सबै तहका कर्मचारीहरूले यस निर्देशिकाको पूर्ण पालना गर्ने प्रतिवद्धता जनाए।
नेपाल सरकारले मनी लाउन्डरिङ (सम्पत्ति शुद्धिकरण) निवारण ऐन, २०६४ लाई प्रभावकारी बनाउन हरेक वर्ष माघ १४ गतेलाई ‘सम्पत्ति शुद्धिकरण निवारण दिवस’ का रूपमा मनाउने निर्णय गरेको सन्दर्भमा सो कार्यक्रम आयोजना गरिएको हो।

LEAVE A REPLY