काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ल्याएको ‘सीमित भुक्तानी सावधिक जीवन बीमा’ योजना बीमितको रोजाइमा पर्दै गइरहेको छ।
यो योजना विशेषगरी जीवन बीमासँगै बचत गर्न चाहने र आकस्मिक खर्चका लागि तयारी गर्न चाहने व्यक्तिहरूका लागि उपयुक्त भएकाले पनि यसको माग बजारमा बढ्दै गइरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत बीमितले १०, १५, २० र २५ वर्षका लागि बीमा लिन सक्छन् तर बीमाशुल्क भने ८, १२, १६ र २० वर्ष मात्रै तिर्ने व्यवस्था गरिएको छ।
यसरी कम अवधिमा बीमाशुल्क तिरेर लामो समयसम्म बीमा सुरक्षा पाइने र बीमाशुल्क तिर्न वार्षिक, अर्धवार्षिक वा त्रैमासिक विकल्प भएकाले बीमितको आय अनुसार उपयुक्त रहेको छ।
यो योजनाको एउटा ठूलो विशेषता बीमा अवधि सकिएपछि बीमितले आफ्नो बीमांक रकमसँगै बोनस पनि प्राप्त गर्ने हो। बीमा अवधिभित्रै बीमितको मृत्यु भएमा परिवारले बोनस सहित बीमांक रकम पूरा रुपमा पाउनेछन्।
बीमा अवधि बित्दै जाँदा जोखिम सुरक्षा पनि क्रमशः बढ्दै जाने र यसले भविष्यमा अझ बढी कभरेज सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।
यस योजनामा वैकल्पिक सुरक्षा सुविधाहरू पनि थप गर्न सकिनेछ। दुर्घटनाबाट मृत्यु भएमा दोब्बर रकम पाइने, पूर्ण स्थायी अशक्तताको अवस्थामा मासिक रुपमा किस्ताबन्दीमा बीमांक रकम भुक्तानी गरिने र घातक रोग लागेमा ५० लाख रुपैयाँसम्मको एकमुष्ठ रकम पाउने सुविधा छ।
यी सुविधाले गर्दा यो योजनाले केवल जीवन बीमा मात्र नभई स्वास्थ्य तथा आपत्कालीन अवस्थाका लागि समेत सुरक्षा दिने कम्पनीले दाबी गरेको छ।
यो बीमा योजनामा सहभागी हुनका लागि बीमितको उमेर कम्तीमा १८ वर्ष र बढीमा ६५ वर्ष हुनु पर्नेछ। न्यूनतम बीमांक २५ हजार रुपैयाँ राखिएको छ भने अधिकतम बीमांक बीमितको आम्दानी अनुसार निर्धारण गरिने कम्पनीले जनाएको छ।