काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दाससहित ५ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।
उनीहरुले मिलेमतोमा बिलमा उल्लेख भएको परिणामभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरीमाथि अनुसन्धान गरेपछि अख्तियारले विशेष अदालत काठमाडौँमा आज आइतबार मुद्दा दायर गरेको हो ।
पेट्रालियम पदार्थको डिप र सिल गर्ने जिम्मेवारीमा रहेका डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटसँगको मिलेमतोमा बदनियत राखी सिसी क्यामेरासमेत बन्द गरेर बढी पेट्रोलियम पदार्थ पठाएको पाइएको भन्दै अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।
कुल १२ हजार लिटर डिजल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र उक्त डिजेल बोकेको ट्याङ्कर पोखरा महानगरपालिका २७ मा नियन्त्रणमा लिइएको थियो । बिलमा उल्लेख भएभन्दा बढी तीन हजार ३८ लिटर डिजलको प्रतिलिटर मूल्य रु. १४७ अनुसार चार लाख ४८ हजार ५२५ हिनामिना भएको आयोगको दाबी छ ।
आयोगले प्रमुख दास, पश्चिमाञ्चल टे«डर्सका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि ढुङ्गाना र रानाभाट, ट्याङ्कर चालक निर्मला थापाविरुद्ध जनही रु चार लाख ४८ हजार ५२५ बराबरको बिगो दाबी गरेको छ ।













