दुर्गा प्रसाईंको तर्फबाट डा सुरेन्द्र भण्डारीसहित ४ जना कानुन व्यवसायीले गरे बहस

काठमाडौँ । तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंको तर्फबाट आइतबार चार जना ४ जना कानुन व्यवसायीले बहस गरेका छन् । वरिष्ठ अधिवक्ताहरू डा।सुरेन्द्र भण्डारी, टङ्क दुलाल, डा।भीमार्जुन आचार्य र अधिवक्ता मनिष पाण्डेले बहस गरेका हुन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा कानुन व्यवसायीहरुले थुनछेक बहस गरेका हुन् । राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूमध्ये प्रसाईंसहित ३९ जना थुनामा छन् । थुनछेक बहस पुरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
भाटभटेनी लुटमा संलग्न ११ जनालाई अदालतले यसअघि नै धरौटीमा छाड्न आदेश गरेको थियो । लुटमा संलग्नहरूको थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा भएको थियो । सरकारी वकिलले उनीहरु विरुद्ध आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो ।
दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजाय हुन माग दावी लिइएको छ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले चैत १५ मा प्रदर्शन आयोजना थिए । प्रदर्शनमा २ जनाले ज्यान गुमाएका थिए ।

LEAVE A REPLY