आईओई र डब्ल्यूटीओसँग बहुपक्षिय व्यापार प्रणाली र साना अर्थतन्त्रको बजार पहुँचबारे छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले परिवर्तित आर्थिक परिदृष्यमा नेपाल जस्ता साना मुलुकमा लगानी विस्तार एवं बजार पहँुचका विषयमा अन्तरराष्ट्रिय संस्थाहरुसंग छलफल गरेका छन् । स्विजरल्याण्डको जेनेभामा सम्पन्न ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा रोजगारदाताहरुको अन्तरराष्टिय संगठन इन्टरनेशनल अर्गनाइजेशन अफ इम्पोलयर्स (आईओइ) का महासचिव रोबर्टो स्वारेज सान्तोस तथा डब्ल्यूटीओका उपमहानिर्देशक झाङ शियाङछेसँग भएको छुट्टाछुट्टै भेटवार्ताका क्रममा अध्यक्ष ढकालले यस्तो जनाएका हुन् ।
उक्त भेटका क्रममा उनले नेपाल भित्र भएका लगानीका सभावना र दुवै संस्थाहरुसंगको सहकार्य तथा नेपालको अपेक्षाका बारेमा आफ्ना धारणा राखे ।
आइओइका महासचिव रोबर्टो स्वारेज सान्तोससँगको भेटवार्ताका क्रममा उनले विकासका चुनौतीहरू पार गर्न तत्काल लगानीको खाँचो रहेको उल्लेख गरे ।
अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्पर्कलाई मजबुत बनाउन र यस क्षेत्रमा प्रयोग भइरहेका उत्कृष्ट अभ्यासहरू नेपालमा भित्र्याउन सहयोग आदान प्रदान गर्न सक्ने विचार व्यक्त गरे ।
उनले पर्यटन, जलविद्युत् र सूचना तथा सञ्चार प्रविधि जस्ता क्षेत्रहरूमा नेपालमा उल्लेखनीय लगानीका अवसरहरू उपलब्ध रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा फैलाउन सहयोग गर्न महासचिव रोबर्टो स्वारेज सान्तोससँगको आग्रह समेत गरे ।
‘नेपालमा लगानीका पर्याप्त सम्भावना छन् । भारत र चीनजस्ता दुई विशाल अर्थतन्त्रहरूबीच अवस्थित नेपाल ३ अर्ब जनसंख्याको बजारमा उत्पादन र निर्यातका लागि उपयुक्त स्थान भएकाले अन्तराष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दछु’ उनले भने ।
अध्यक्ष ढकालले आईओई र महासंघसँगको सहकार्यमार्फत नीति संवाद, सामाजिक संवाद तथा संस्थागत क्षमताको सुदृढीकरणमा दिएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे । उनले आईओईसँगको सहकार्यले नेपाली रोजगारदाताहरुलाई विश्वव्यापी मञ्चहरूमा आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै तालिम र अनुसन्धान पहुँच बढाएको उल्लेख गरे ।
सो अवसरमा बोल्दै आईओईका महासचिव रोबर्टो स्वारेज सान्तोसले महासंघ आईओईको पुरानो र क्रियाशलि सदस्य रहेको उल्लेख गर्दै महासंघले अन्तराष्ट्रिय स्तरका निर्वाह गरेको भूमिका र सहकार्यको प्रसंशा समेत गरे । उनले आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि आईओई सधैं तयार रहेको जनाए।
यसैगरी सम्मेलनको क्रममा महासंघका अध्यक्ष ढकालले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का उपमहानिर्देशक झाङ शियाङछेसँग भेट गर्दै नेपालले अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा भोगिरहेका केही संरचनात्मक चुनौतीहरूबारे अवगत गराए ।
सन् २०२६ सम्म नेपालले अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति गर्ने प्रक्रियाको सन्दर्भमा डब्ल्यूटीओले अन्तरिम अवधिमा शुल्क तथा कोटा मुक्त पहुँच कायम राख्ने निर्णयलाई अध्यक्ष ढकालले स्वागत गरे। तर, उनले नेपाललाई अन्तर्राष्ट्रिय मापदण्डहरू पुरा गर्न सक्ने बनाउने प्रविधि, ज्ञान र स्रोतमा आधारित प्राविधिक सहायता र सन्धिहरू कार्यान्वयनका लागि लचकता उपलब्ध गराउन डब्ल्यूटीओसँग विशेष अनुरोध समेत गरे ।

LEAVE A REPLY