काठमाडौं । सरकारले सविना मास्केलाई नेपाल दूससञ्चार कम्पनी (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडीलाई विशेष अदालतमा भ्रष्टाचारसम्वन्धी मुद्दा दर्ता गरेसँगै स्वतः निलम्बित भएपछि मास्केलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।
बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको भन्दै अख्तियारले पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । उक्त भ्रष्टाचारमा अख्तियारले मास्केसँग पनि बयान लिएको थियो । तर मुद्दा भने दर्ता गरेन् ।
बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्कामा भएको भ्रष्टाचारमा पहाडीसहित कम्पनीका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल, कर्मचारीहरु प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, बिनिता श्रेष्ठ, राजीव केसी, मुक्तिप्रसाद अर्याल, सन्तोष श्रेष्ठ, परमात्मा भट्टराई, शैलेश श्रेष्ठ तथा विदेशी नागरिक लङ यङ, चिनियाँ नागरिक होङ वी र चिनियाँ कम्पनी एसिया इन्फो प्रालि विरूद्ध अख्तियारले शुक्रबार मुद्दा दायर गरेको थियो । उनीहरूविरूद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रुपियाँ विगो माग दाबी गरिएको छ ।