काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनियमितताको छानबिन गर्न गठित कार्यदलले छानबिन प्रतिवेदन बुझाएको छ ।
आज कार्यदलकी अध्यक्ष रञ्जना प्रधानले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई प्रतिवेदन बुझाएकी हुन् ।
एनपीएलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि मन्त्रालयले छानबिनका लागि कार्यदल बनाएको थियो ।
कार्यदलले नेपाल क्रिकेट संघ क्यानलाई पठाएको पछिल्लो पत्रमा अनुसन्धान नटुंगिइ अर्को संस्करणको एनपीएल आयोजना नगर्न निर्देशन दिएको थियो ।
एनपीएलको पहिलो संस्करण २०८१ साल मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको थियो । तर पहिलो संस्करण भव्य रुपमा सफल भएपनि एनपीएलको आयोजनासँग जोडिएको विभिन्न विषयमा अनियमितता भएको र आर्थिक हिसावकिताव समेत सार्वजनिक नगरेको भन्दै अख्तियारसम्म उजुरी परेको छ ।