सुनील पौडेलविरुद्ध पाँचौँ भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध पाँचौँ भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले पौडेलसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।पौडेलमाथि १५ करोड ८८ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप छ।
आर्थिक वर्ष २०७६, ७७ मा ‘हाइ कम्प्युट इन्फ्रास्ट्रक्चर’ आयोजना अन्तर्गत आपूर्ति, जडान तथा स्थापनासम्बन्धी ठेक्कामा मिलेमतो भएको पाइएको अख्तियारको भनाइ छ। अनुसन्धान अनुसार, गुरुयोजना नै नबनाई स्पेसिफिकेसन तयार पारिएको, लागत अनुमानमा व्यापक अनियमितता गरिएको र त्यसैको आधारमा ३० करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको भ्याटसहित बोलपत्र आह्वान गरिएको थियो।
२०७६ माघ १५ गते पौडेलले कान्तिपथस्थित वर्ल्ड डिस्ट्रिब्युसन नेपालसँग ३० करोड ६५ लाख ५५ हजार रुपैयाँको सम्झौता गरेका थिए। तर, अख्तियारले उक्त प्रक्रिया नियमनविपरीत रहेको र ठेक्काको सम्पूर्ण कार्य प्राविधिक मापदण्ड नपुगी गरिएको जनाएको छ।
यस प्रकरणमा पौडेलसँगै सूचना प्रविधि केन्द्रकै तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसन नेपालका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठ संलग्न रहेको अख्तियारको निष्कर्ष छ।
उनीहरूले मिलेर गुणस्तरहीन प्रोसेसरसहितको स्टोरेज आपूर्ति गरेको, झुटा कागजात पेस गरेको र अस्वाभाविक मूल्य निर्धारण गरिएको पाइएको छ।
यसअघि पनि उनीमाथि चार वटा भ्रष्टाचार मुद्दा दायर भइसकेका छन्।

LEAVE A REPLY