नेपाल लाइफद्वारा बाल अस्पताल निर्माण गर्न रु. १ करोडको सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाडौँमा अस्पताल भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रु १ करोड रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
किओचको कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफ इन्स्योरेन्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका छन् ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टिकृत बाल अस्पताल किओच–काठमाडौँको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । अस्पतालको मूल भवनको निर्माण कार्य जारी रहँदा बिरामी बालबालिकालाई सेवा प्रदान गर्ने कार्य सुरु गर्न र बाल स्वास्थ्य तथा नसर्ने रोगहरूका सम्बन्धमा अनुसन्धान अघि बढाउनका लागि क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई कार्य आरम्भ भइसकेको छ ।
कार्यक्रममा बोल्दै यस कम्पनीका संचालक कमलेशकुमार अग्रवालले डा. भगवान कोइरालाको अग्रसरतामा शुभारम्भ भएको यस परियोजनाले नेपालमा रहेका बालबालिकाको स्वास्थ्यको अवस्था सुधार गर्न अतुलनीय भूमिका निर्वाह गर्ने जनाए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक, आर्थिक, शैक्षिक र संस्कृतिक रूपान्तरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुरा जनाए ।
त्यस्तै काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष, मुटुरोग विशेषज्ञ तथा प्राध्यापक डा. भगवान कोइरालाले नेपाल लाइफले प्रदान गरेको सहयोगले परियोजनाले गति प्राप्त गर्ने जनाए ।
साथै नेपाल लाइफले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरे र आगामी दिनमा पनि यस प्रकारको सहयोग प्राप्त हुनेमा आशावादी रहेको जनाए ।

LEAVE A REPLY