काठमाडौं । सेयर बजारमा गत भदौ यताकै उच्च कारोबार भएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा कुल १६ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसअघि भने २०८१ भदौ ११ मा कुल १८ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो । गत वर्षको साउन ३१ मा सेयर बजारमा कुल २९ अर्ब ३० करोडको कारोबार हुँदै कारोबार रकममा नयाँ रेकर्ड कायम भएको थियो ।
बिहीबार बारोबारसँगै सूचकमा पनि उत्साह छाएको छ । आज सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.८२ अंक अर्थात् २.८५ प्रतिशतले बढेर २८७४.६० बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से ३४.६१ अंकले र मंगलबार ३४.४६ अंकले बढेको थियो ।
बिहीबार नेप्सेमा कारोबारमा आएकामध्ये २३९ कम्पनीको सेयर मूल्य बढ्दा ९ कम्पनीको घटेको छ ।
ट्रेड टावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा चार कम्पनीको सेयर मूल्यमा नौ प्रतिशत माथिको वृद्धि भएको देखिन्छ ।
बिहीबार बैंकिङ समूहको सेयर मूल्य १.८७ प्रतिशत, विकास बैंकको २.०५ प्रतिशत, फाइनान्स समूहको ३.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको २.८० प्रतिशत र जलविद्युत् समूहको सेयर मूल्य ३.१५ प्रतिशतले उकालो लागेको छ ।
यस्तै, लगानी समूहको सेयर मूल्य ३.३३ प्रतिशत, जीवन बिमा समूहको ३.१९ प्रतिशत, उत्पादन समूहको २.९३ प्रतिशत, लघुवित्त समूहको २.६७ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य २.४० प्रतिशतले बढेको छ ।