काठमाण्डौं । रुसको पूर्वी कामचाट्का प्रायद्वीपको समुद्री क्षेत्रमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पपछि सूनामीको चेतावनी जारी गरिएको छ। संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र रुसको पेट्रोपाभ्लोभ्स्क–कामचाट्स्की सहरबाट १३६ किलोमिटर पूर्वमा रहेको छ ।
भूकम्पका कारण जापान, हवाई, अलास्का, गुआम र माइक्रोनेसियाका केही क्षेत्रमा समेत सुनामीको चेतावनी जारी गरिएको छ ।
जापानको मौसम विज्ञान एजेन्सीले सूनामीको चेतावनी जारी गर्दै करिब १ मिटर अग्ला छाल आउन सक्ने जनाएको छ। प्रशान्त सुनामी चेतावनी केन्द्रले पनि हवाई राज्यका लागि सुनामी वाच घोषणा गरेको छ।
कामचाट्का प्रायद्वीप नजिकै दशकौंपछि आएको शक्तिशाली भूकम्पपछि हालसम्म कुनै घाइते नभएको जानकारी दिइएको छ। तर सकालिन क्षेत्रको एउटा सानो सहर सेभोरो–कुरिल्स्कमा सुनामी चेतावनीपछि खाली गराइएको छ।
कामचाट्का प्रदेशका गभर्नर भ्लादिमिर सोलोडोभले भूकम्प शत्तिशाली रहेको जनाउँदै पछिल्ला दशकौंकै सबभन्दा भयंकर रहेको जनाएका छन् ।