काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ।
नयाँ नेता चयन गर्न कांग्रेस बागमती प्रदेशले मंगलबार नै निर्वाचन समिति गठन गरेको थियो। हरिशरण श्रेष्ठको संयोजकत्वमा गठित समितिले आज बुधबार नै चुनाव गराउन लागेको हो।
संयोजक श्रेष्ठले निर्वाचन कार्यतालिका सार्वजनकि गरेका छन्। निर्वाचन कार्यतालिका अनुसार दिउँसो २ देखि ३ बजेसम्म मतादान हुनेछ। मतदान संसदीय दलको कार्यालय परिसरमै हुनेछ।
त्यसअघि बिहान ८ बजे मतदाता नामावली प्रकाशन, १० देखि ११ बजे उम्मेदवारी दर्ताको समय तोकिएको छ।
संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदानका कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ भने मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ।
मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु गरिने र सोही दिन निर्वाचन परिणाम घोषणा गरिने जनाइएको छ। निर्वाचन समितिको सदस्यहरूमा ऋषिराम घिमिरे र जीवन ढुङ्गेल रहेका छन्।