राष्ट्र बैंकले अर्को सातादेखि वाणिज्य बैंकहरुको ‘फुल अडिट’ गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्को सातादेखि वाणिज्य बैंकहरुको फुल अडिट (पूर्ण लेखापरीक्षण) गर्ने भएको छ । त्यसका लागि राष्ट्र बैंकले बंगलादेशको लेखा परीक्षण फर्म हाउलादर युनुस एन्ड कम्पनीलाई जिम्मा दिएको छ ।
लेखा परीक्षणका लागि उक्त फर्मसँग राष्ट्र बैंकले सम्झौताको तयारी समेत गरेको राष्ट्र बैंक स्रोतको भनाई छ । यस्तो लेखापरीक्षण १० वटा वाणिज्य बैंकको मात्रै हुने र अन्यको नहुने जनाइएको छ । सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट विस्तारित कर्जा लिने क्रममा राखेका शर्तअनुसार ती बैंकको पूर्ण लेखापरीक्षण गर्न लागिएको हो ।
हाउलादरलाई लेखापरीक्षण गरेवापत राष्ट्र बैंकले चार करोड रुपियाँ शुल्क दिने छ । यस्तो लेखापरीक्षण गर्ने काम गत बर्षदेखि सुरु गरिएको हो । आईएमएफको शर्तअनुसार स्वतन्त्र लेखा परीक्षणको लागि भन्दै विदेशी अडिट फर्म खोज्ने गरेको राष्ट्र बैंकले यस बर्ष बंगलादेशीलाई रोजेको हो । उक्त फर्मलाई छनोट गरेको विषय पनि विवादमा पर्नुका साथै अदालतमा समेत मुद्दा परेको थियो ।
हाउलादरको नेतृत्वमा राष्ट्र बैंक र सम्वन्धित् बैंकका प्रतिनिधिसमेत मिलेर बैंकको केन्द्रदेखि शाखासम्मको कारोबारको जाँच गर्दै उनीहरुले पारदर्शी र अन्तर्राष्ट्रिय अभ्यासअनुसार काम गरेनगरेको जाँच गर्ने, सम्पत्ति तथा कर्जाको गुणस्तर हेर्ने छन् ।

LEAVE A REPLY