काठमाडौं । नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ ।
आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने १७ औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिका रूपमा उद्घाटन गर्न औपचारिक अनुरोध गरेको हो ।
प्रधानमन्त्री ओलीले नाडाको अनुरोध स्वीकार गरेको नाडाले विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रधानमन्त्री ओलीको उपस्थितिले अटोमोबाइल व्यवसायीहरूमा थप हौसला र प्रेरणा दिने नाडाको भनाइ छ ।
अध्यक्ष चौधरीले नाडा स्थापनाको ५०औं वार्षिकोउत्सव मनाउने क्रममा रहेको र यस अवसरमा १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिए । उनका अनुसार अटो शो मा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारीसाधनका ब्रान्ड, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर शो, र पहिलोपटक नेपालमा प्रदर्शन हुन लागेका अत्याधुनिक रोबोटसहित भविष्यमुखी प्रविधिहरू मुख्य आकर्षण रहनेछ ।
भेटघाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेलको उपस्थिति रहेको थियो ।