विपिनको खोजी गर्न आमा र बहिनी आज इजरायल जाँदै

काठमाण्डौं । इजरायलबाट प्लालेस्टाइनी विद्रोही समूह हमासले बन्धक बनाएका विपिन जोशीको खोजीमा आमा पदमा जोशी र बहिनी पुष्पा जोशी सोमबार इजरायल जाँदैछन् ।
फ्लाइ दुबईमार्फत उनीहरू बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्दैछन् । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायल सरकारकै सहयोगमा विपिनकी आमा पद्मा र बहिनी पुष्पा त्यहाँ जान लागेका हुन् ।
नेपालका लागि इजरायली दूतावासले नै उनीहरूका लागि टिकटको व्यवस्था गरिदिएको हो ।
‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका विपिनलाई हमास समूहले २०८० सालको असोज २० गते बन्धक बनाएको जनाईएको छ । हमासको कब्जामा रहेको भनिएका जोशीको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन ।
युद्ध सुरुको भएको केही समयपछि इजरायल सुरक्षा फौज आईडीएफले बन्धक अवस्थाका विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो । त्यसपछि विपिनबारे कुनै जानकारी आएको छैन ।
‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी २०८० भदौ अन्तिम साता इजरायल गएका थिए । हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए।
हमासले फालेको ग्रिनेड अर्कोतर्फ फालेर नेपाली विद्यार्थी जोगाउने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो । विपिनको उद्धारका लागि परिवारका सदस्यले कयौं पटक राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिलाई भेटिसकेका छन् । सरकारले कूटनीतिक पहल जारी राखेको जनाए पनि हालसम्म उपलब्धि देखिएको छैन ।
थप अन्तर्राष्ट्रिय दबाब दिन इजरायलले आमा र बहिनीलाई उतै लैजान लागेको हो ।

LEAVE A REPLY