काठमाडौं । कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे सिंहदरबारमा आयोजित गहन छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनभित्र कार्यान्वयनयोग्य योजना ल्याउन सम्बन्धित निकायलाई तीन बुँदे निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले कृषि तथा उद्योगमन्त्रीसहित सम्बद्ध अधिकारीहरूसँगको बैठकपछि पहिलो, रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त बनाउन नयाँ ढाँचासहितको ठोस योजना पेश गर्न, दोस्रो, कम्पोष्ट र अर्ग्यानिक मलको उत्पादन तथा प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन गरी अनुदान नीतिको प्रस्ताव ल्याउन, र तेस्रो, माटोको उर्वरता जोगाउने प्रकारको रासायनिक मल कारखाना नेपालमै खोल्ने सम्भाव्यता अध्ययनको खाका तयार गर्न निर्देशन दिएका हुन्।
उनले समयमै मल आपूर्ति र उत्पादनको दिगो व्यवस्थापनका लागि स्पष्ट योजना र व्यवहारिक कदम आवश्यक रहेको भन्दै तोकिएको म्यादभित्र प्रतिवेदन पेस गर्न सम्बद्ध निकायलाई आग्रह गरेका छन्।