काठमाडौँ । हिमालयन बैंकले आर्थिक वर्ष २०८१, ८२ मा १ अर्ब ५१ करोड नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा सामान्य वृद्धि भएर सो बराबर पुगेको हो । अघिल्लो वर्ष बैंकले यही अवधिमा १ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको यस्तो नाफा २२.१५ प्रतिशत बढेको हो।
बैंकको नाफा बढ्नुमा इम्पेरमेन्ट चार्ज घट्नु मुख्य कारण देखिएको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोड रुपैयाँबाट घटेर १ अर्ब ५३ करोड रुपैयाँमा झरेको छ। एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेर १० अर्ब ४५ करोडमा झरेको छ । गत वर्ष यस्तो आम्दानी ११ अर्ब ६१ करोड रहेको थियो । शुल्क तथा कमिसनतर्फको आम्दानीमा भने सामाइन वृद्धि भई १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। यस अनुसार बैंकको प्रतिशेयर नेटवर्थ १७५.०७ रुपैयाँ बराबर हुन आउँछ । असार मसान्तसम्ममा बैंकले ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको नाफा सकारात्मक भए पनि उठ्नुपर्ने ब्याजबापत नियामकीय समायोजनमा छुट्याउनुपर्ने रकम तथा अन्य रिजर्भका कारणले लाभांश बाँड्न नसक्ने अवस्थामा छ । बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ जुन प्रतिशेयर आम्दानी ३२.७९ रुपैयाँ ऋणात्मक हो ।
असार मसान्तमा बैंकको पुँजीकोष अनुपात ११.६४ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ७.२८ प्रतिशत, कस्ट अफ फण्ड ४.८४ प्रतिशत, बेसरेट ६.६३ प्रतिशत एवं ब्याजको स्प्रेडदर ३.२९ प्रतिशत रहेको छ ।