काठमाडौं । व्यवसाय विस्तारसँगै आम्दानीमा भएको वृद्धि र सम्भावित कर्जा नोक्सानी व्यवस्था घट्दा माछापुच्छ्रे बैंकको नाफा उल्ल्लेख्य बढेको छ । बैंकले गत आर्थिक वर्ष २०८१, ८२ मा २ अर्ब १ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको हो जुन अघिल्लो आर्थिक वर्ष २०८०, ८१ को १ अर्ब ४ करोड ५२ लाख भन्दा ९२.४५ प्रतिशतले बढेको हो ।
बैंकको गत आर्थिक वर्षमा निक्षेप १६.०९ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब १८ करोड र कर्जा ११.७४ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब ६४ करोड पुगेको छ । बैंकको व्यवसाय बढेसँगै खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर ५ अर्ब ७५ करोड ६७ लाख पुगेको छ । त्यस्तै खुद फि तथा कमिसन आम्दानी १८.१६ प्रतिशतले बढेर १ अर्ब २८ करोड ५२३ लाख पुगेको छ ।
यता कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम अघिल्लो वर्षको भन्दा कम अर्थात् ३५ करोड ३८ लाख मात्रै हुँदा बैंकको सञ्चालन आम्दानीसँगै नाफा उल्लेख्य बढेको हो । अघिल्लो आवमा बैंकले कर्जा नोक्सानीको लागि १ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ छुट्याएको थियो । आम्दानी बढेको र कर्जा नोक्सानी व्यवस्थालाई छुट्याएको रकम घटेसँगै बैंकको सञ्चालन नाफासँगै नाफा पनि बढेको हो । बैंकको सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा ९९.९१ प्रतिशतले बढेर ३ अर्ब ३३ करोड २ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकको गैर सञ्चालन खर्च ४७ करोड ८३ लाख छ । यसले गर्दा सञ्चालन नाफाको तुलनामा बैंकको खुद नाफा बढेको छैन ।
११ अर्ब ६२ करोड १४ लाख चुक्ता पुँजी रहेको बैंकको सञ्चित नाफा १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ छ । यस्तै जगेडा कोषमा ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । चुक्ता पूँजी नबढेको बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९९ पैसाबाट बढेर १७ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै निष्कृय कर्जा सामान्य घटेर ३.८६ प्रतिशतबाट ३.८३ प्रतिशतमा झरेको छ । खुद निष्कृय कर्जा १.१९ प्रतिशत छ ।
बैंकको बक्यौता ब्याज २ अर्ब २ करोड र कर्जा नोक्सानीको लागि गरेको कुल प्रोभिजन ४ अर्ब ४६ करोड पुगेको छ । नाफा बढेर सञ्चित नाफा पनि बढ्दा बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.४१ प्रतिशत पुगेको छ । बैंकको लगानीमा प्रतिफल ११.१३ प्रतिशत पुगेको छ । आधार दर ६.३० प्रतिशतमा झरेको छ भने मुल्य आम्दानी अनुपात १४.९९ प्रतिशत र प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८ पैसा पुगेको छ । बैंकको लाभांश क्षमता ९.२३ प्रतिशत छ ।
गत आर्थिक वर्षमा १ अर्ब ४४ करोड वितरणयोग्य नाफा आर्जन गरेपनि गत आवको सञ्चित घाटाले वितरणयोग्य नाफा १ अर्ब ७ करोड मात्रै छ । बैंकले गैर बैंकिङ सम्पत्ती बिक्री गर्दा रेगुलेटरी रिर्जभबाट ४६ करोड १४ लाख ब्याक गरेको छ । त्यस्तै उठ्न नसकेको बक्यौता ब्याज उठाएर २ अर्ब ९१ करोड नियाकमीय जगेडा कोषबाट सञ्चित नाफामा ट्रान्सफर भएको छ ।