सानिमा जीआईसी इन्स्यारेन्सको नाफा १०.१३ प्रतिशतले बढ्यो

काठमाडौं । सानिमा जीआईसी इन्स्यारेन्स लिमिटेडले गत आर्थिक वर्ष असार मसान्तसम्म ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको ३१ करोड ८१ लाख रुपैयाँको तुलनामा १०.१३ प्रतिशतले बढी हो ।
कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको नाफा, बीमाशुल्क आर्जन तथा प्रतिशेयर आम्दानी सबैमा उल्लेख्य वृद्धि भएको हो ।
कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको २ अर्ब ५१ करोड रुपैयाँको तुलनामा १.३३ प्रतिशतले बढी हो। कम्पनीको बीमाकोष पनि उल्लेखनीय रूपमा बढेको छ । अघिल्लो वर्ष ३ अर्ब ३० करोड रुपैयाँ रहेको बीमाकोष २२.२९ प्रतिशतले वृद्धि भई ४ अर्ब ४ करोड रुपैयाँ नाघेको छ ।
कम्पनीको कुल आम्दानी १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको १ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी हो । कुल खर्च भने ९९ करोड ६७ लाख रुपैयाँबाट घटेर ९७ करोड ६३ लाख रुपैयाँमा झरेको छ । तर, अभिकर्तालाई दिइने कमिसन खर्च भने ३ करोड ७२ लाख रुपैयाँबाट बढेर ४ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १५.९१ रुपैयाँबाट बढेर १६.३० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५२.१२ रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । कम्पनीको महाविपत्ति कोषमा ४ करोड ६४ लाख, जगेडा कोषमा १८ करोड ३२ लाख र अन्य इक्विटीमा १३ करोड १० लाख रुपैयाँ छ ।

LEAVE A REPLY